झापा।
आफ्नै श्रीमतीको कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका झापाको मेचीनगरका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।
भोजपुरको साविक युँ गाविस–५ स्थाई ठेगाना भई हाल मेचीनगर ११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
उनले श्रीमती शर्मिला तामाङ राईको २०७८ साल मंसीर ३ गते हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो । प्रतिवादी राईको नाममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गत जेठ ३२ गते रेड कर्नर नोटिस जारी भएको थियो । एनसीबी दोहा कतारको सहयोगमा पक्राउ गरी आज उनलाई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
सो सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले बताए ।