तिहारमा मुस्ताङका चार हजार भेडाच्याङ्ग्रा बिक्री

0
36

म्याग्दी,

तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक शुरु भएदेखि चार हजार ४० भेडाच्याङ्ग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार यसपालिको दशैँका लागि आठ हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ।

दशैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा बिक्री भएको हो । ‘उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङ्ग्राको ब्यापार बढी भएको छ’, केन्द्र प्रमुख अर्यालले भने, ‘कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन्।’

जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुन्छ। गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानबाट खरिद गरेका छन्।

गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि ५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ। गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सानी ब्यहोरेको गुनासो गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here