बाली विज्ञान पढ्दै गरेका समीरको लोभलाग्दो फूल व्यवसाय

0
25

सुर्खेत,

सुर्खेतको भेरीगङ्गा ११ समीर खत्रीलाई अहिले फूल बेच्न भ्याइनभ्याइ छ। तिहारभर पाँच लाख रुपैयाँको फूल बेच्ने लक्ष्य राखेका छन् उनले।

भाइटीकाको एक दिनअघिसम्म समीरले करिब तीन लाख ५० हजारको कारोबार गरिसकेको उनले बताए। ‘अहिले फूलको भाउपनि राम्रै छ, तिहारमा मात्रै पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु’, उनले भने।

२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्छन्। आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका- ११ मा आठ रोपनी जमिनमा विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहेका छन्।

‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ’, समीरले भने।

उनले यो व्यवसाय शुरु गरेको दुई वर्ष मात्र भयो । गत वर्ष सात लाख रूपैयाँ आम्दानी गरेर हौसिएका समीर यसवर्ष १० लाख रुपैयाँ आम्दानी हुने आशा गरेका छन्। ‘गत वर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु’, उनले भने।

समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन्। कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायी मारमा परेको उहाँको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।

भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउन नदिन फूलमा कडाइ गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here