तनहुँ,
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो । आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ ।
दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ । चरण–१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छभने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युतगृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दशैँमा आयोजनाको काम निरन्तर गरिएको थियो । सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ । चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् ।
चरण–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्यतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिनुभयो ।
पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ ।
एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।