जलेश्वर,
मिथिलाञ्चलमा सामा चकेवा शुरु भएको छ। दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको यो पर्व कार्तिक शुल्क पञ्चमीदेखि १० दिन मनाइन्छ। ११औँ दिन पूर्णिमाको राति समापन हुन्छ।
१० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामाचकेवा खेल्ने छन्।
आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामाचकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन्।
सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ। रंगीन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाईको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको संस्कृतिविद् ध्रुव राय बताउँछन्।
समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय, सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ लगायत गीत गाएर सामा चकेवा खेल्छन्।
११औँ दिनमा बिहानै पुनः सामा चकेवा बनाई, रंगरोगन गरी र दिनभरि सुकाएर बेलुका दही चिउरा खुवाउँछन्। सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउने विधि छ।
त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरुले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्व समापन हुने जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले जानकारी दिए।
सामा चकेवा खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र समृद्धि हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ। सोहीअनुरूप मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर, मधुबनीलगायतमा यो पर्व लोकप्रिय छ।