कनकाई वार्ड नं. ६ मा को-को हुँदैछन् उम्मेदवार ?

0
92

सुरुङ्गा ।

झापाको कनकाई वडा नं. ६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ ।

संविधान, ऐन तथा प्रचलित सङ्घीय कानुन बमोजिम उपनिर्वाचनमा सम्पादन गर्नुपर्ने काम गर्न वा गराउनका लागि निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा उपनिर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गर्ने प्रावधानअनुरूप झापा कनकाई नगरपालिका वार्ड नं. ६ को निर्वाचन सम्पन्न गर्न झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश माननीय उमेशप्रसाद लुइँटेललाई नियक्ति गरेको छ ।

कनकाई–६ मा वडाअध्यक्ष पदको उपनिर्वाचनका लागि ४ दलका तर्फबाट उम्मेद्वारहरूलाई दलले मैदानमा उतारेका छन् भने स्वतन्त्र उम्मेद्वार पनि प्रतिष्पर्धाका लागि तयार भएका छन् । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै स्वतन्त्रसहित मुख्य राजनीतिक दलहरूले उम्मेद्वारको टुङ्गो लगाएपछि यतिबेला राजनीतिक दलहरू चुनावी मैदानमा देखिन थालेका हुन् । यस उपनिर्वाचनमा वडामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रबाट समेत वडाअध्यक्ष पदका लागि उम्मेद्वार तयार भइसकेका छन् ।

यसै क्रममा नेकपा एमालेका तर्फबाट पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेतलाई पार्टीले वडाअध्यक्ष पदका लागि उम्मेद्वार सिफारिस गरेको कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझाले जानकारी दिए । साविक घैलाडुब्बा गाविसको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल जनप्रतिनिधिको अनुभव बटुलिसकेका बौद्धिक व्यक्तित्वका रूपमा परिचित बस्नेत बिगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशिल छन् । त्रिभुवन विश्वविद्यालयबाट एम्. ए. बी. एड्. गरेका बस्नेत कनकाई नगरकै अग्रणी एमाले नेता हुन् ।

२०३८ देखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका बस्नेतले पुर्व नेकपा मालेबाट राजनीतिक जीवन सुरु गरेका हुन् । स्थानीय कम्युनिष्ट नेता सूर्य उप्रेती, कोमल पन्त, बलराम गजुरेल, वेदप्रसाद खतिवडा लगायतको प्रभाव र प्रेरणा प्राप्त गरी कम्युनिष्ट आन्दोलनमा होमिएका बस्नेतले साविक घैलाडुब्बा गाउँ कमिटीको सदस्य साथै दोस्रो अधिवेशनबाट दुई कार्यकाल सचिवको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेका थिए । पार्टीको इलाका नं. १० को सदस्य समेत रहेका बस्नेत विभिन्न सामाजिक साथै शैक्षिक संघसंस्थामा समेत सक्रिय छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट पार्टीका वडा सभापति समेत रहेका रामगोपाल ओली वडाअध्यक्ष पदका लागि उम्मेद्वारका रुपमा चुनावी मैदानमा होमिएका छन् । ओलीलाई कनकाई–६ को उपनिवाृचनमा उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस कनकाई नगर सचिव आर.पी. कडेँलले जानकारी दिए । ओली नेपाली कांग्रेसबाट सर्वसम्मत उम्मेदवारका रूपमा चयन भएका छन् । यस अघिको स्थानीय तह निर्वाचनमा समेत पार्टीका तर्फबाट वडाअध्यक्षको आकांक्षी बनेका जुझारु युवा ओलीले आफूले मान्नु पर्ने पार्टीका अग्रज व्यक्तित्वलाई समर्थन जनाउँदै धैर्यका साथ पार्टी राजनीतिमा सक्रिय बन्दै आएका हुन् । पार्टी राजनीतिसँगै विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशिल रहेका ओली विद्यार्थी अवस्थादेखि नै नेपाली कांग्रेसनिकट वर्गीय सङ्गठनमा क्रियाशिल रहँदै आएका थिए । ठीक मानिसलाई ठीक ठाउँमा जिम्मेवारी दिइएको भन्दै नेपाली काङ्ग्रेसका एक कार्यकर्ताले ओलीलाई उम्मेदवार बनाउने निर्णयलाई स्वागत गरेका छन् । ओलीको उम्मेदवारीले पार्टी पङ्क्ति एक ढिक्का भएको उनको भनाइ छ ।

त्यसै गरी, नेकपा (माओवादी केन्द्र) का तर्फबाट स्थानीय युवा गणेश थापालाई पार्टीले वडाअध्यक्षका रूपमा अघि सारेको छ । पूर्व गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको एक भव्य कार्यक्रमका वीच थापाको उम्मेदवारी घोषणा गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरू झलकसिंह दर्लामी सन्देश, धर्मशिला चापागाईँ, रन्जित तामाङ्ग, हरिकुमार राना, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग विजय, झापा अध्यक्ष राजु आचार्य अग्नि लगायतले खादा, माला र अबिर लगाएर थापालाई पार्टीका तर्फबाट वडाअध्यक्षको उम्मेद्वार घोषणा गरेका हुन् । नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर वि.सं.२०५७ अघिदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहेका थापा त्यसपछिका दिनमा भने नेकपा माओवादी केन्द्रमा आबद्ध रही हालसम्म पनि क्रियाशिल हँुदै आएका छन् ।

हाल पार्टीको जिल्ला सदस्य समेत रहेका युवामाझ अति नै लोकप्रिय थापाले साविक घैलाडुब्बा गाविसको पार्टी नेतृत्व सम्हालेका थिए । पार्टी राजनीतिसँगै स्थानीय स्तरमा विभिन्न सामाजिक, धार्मिक साथै शैक्षिक सङ्घसंस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेका थापाले पार्टीको भातृ सङ्गठनको समेत जिम्मेवारी पुरा गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत वडामा उम्मेद्वार तयार गरेको छ । विगत लामो समयदेखि राष्ट्र, राष्ट्रिय स्वाभिमान र राष्ट्रवादी सोचलाई शिरोपर गर्दै अघि बढेको राप्रपाको विभिन्न जिम्मेवारीमा रहेर पार्टी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाइसकेका स्थानीय नारायण निरौलालाई राप्रपाले यस उपनिर्वाचनमा वडाअध्यक्षको उम्मेद्वार बनाउने भएको छ । लामो समयदेखि निरन्तर पार्टी राजनीतिमा क्रियाशिल निरौला स्थानीय स्तरका विभिन्न सामाजिक सङ्घसंस्थामा समेत सक्रिय रहेका छन् ।

त्यसै गरी, यस अघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्रको उम्मेद्वारका रूपमा झिनो मतान्तरले उपविजेता बनेका लक्ष्मीप्रसाद ओली समेत यस उपनिर्वाचनमा वडाअध्यक्षको उम्मेद्वारका रूपमा चुनावी मैदानमा उत्रने भएका छन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीसहित वडामा क्रियाशिल अन्य साना दल तथा स्वतन्त्र समूहहरूको समेत आफूलाई समर्थन हुने भएकाले निर्वाचनको तयारीमा रहेको ओलीले बताउँदै आएका छन् । नेपालको संविधान २०७२ जारी भएपछि जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेपछि कनकाईको वडा नं. ६ मा पहिलो कार्यकालको नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्षका रूपमा रहेर वडामा विभिन्न विकास गतिविधिसहित समाज रूपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएका ओली स्थानीय स्तरका विभिन्न सामाजिक, शैक्षिक तथा धार्मिक सङ्घसंस्थामा समेत त्यत्तिकै सक्रिय छन् । हक्की स्वभावका ओली एक स्पष्टवक्ता र सहयोगी व्यक्तित्व मानिन्छन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका दीर्घबहादुर थापाले ५०८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४४० मत ल्याएका थिए । थापा र ओली वीचमा ६८ मतको फरक थियो । नेकपा माओवादी केन्द्रका रेवतबहादुर रेग्मीले २९४, नेपाली कांग्रेसका केशव बिमलीले २०९ र राप्रपाका दिलिपकुमार कार्कीले १९ मत प्राप्त गरेका थिए ।

यस पटकको निर्वाचन दलहरूको प्रतिष्ठाको विषय बन्ने निश्चित छ । हाल मतदाता सङ्ख्या २०५८ रहेको वार्डमा हुने यो चुनावले मिसन–२०८४ को पूर्वचित्र प्रस्तुत गर्ने आँकलन गरिएको छ । यो चुनावको परिणामले नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार कनकाई नगरपालिकाप्रति जनताको अभिमत बुझ्न र एमालेको लोकप्रियता जाँच्न पनि सहयोग गर्ने विश्लेषण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here