काभ्रेका बाढी पहिरो पीडितको क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

0
15

काभ्रेपलाञ्चोक,

काभ्रेपलाञ्चोकमा गएको महिनाको बाढी पहिरोमा परी ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि धेरै नै क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ ।

४० दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा १५ हजार रुपैयाँ र त्योभन्दा बढी सदस्य भएमा २० हजार रुपैयाँका दरले जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।

स्थानीय तहले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत एवम् पुनर्वासको कार्यक्रम प्रभावित भएको उहाँले बताउनुभयो । अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने मापदण्डअनुसारको विवरण स्थानीय तहसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।

विशेषगरी अधिक क्षति भएको जिल्लाको दक्षिणी क्षेत्रमा रहेकाे पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा पुनर्वास एवम् आवास निर्माणका लागि तथ्याङ्क सङ्कलन भइरहेको छ । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्र हुन् । यी क्षेत्रका स्थानीयवासी आधारभूत भौतिक पूर्वाधारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढी पहिरोबाट गाउँपालिकाका तीन सय ५० वटा घर पूर्णरूपमा क्षति भएका छन् ।

पनौतीमा सात सय वटा घर पूर्णरूपमा क्षति भएका ठानिएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बाढी पहिरोबाट घर–जमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो ।

उहाँले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न सङ्घ–संस्थासँग छलफल अघि बढाइएको बताउनुभयो । बेथानचोकमा चार हजार चार सय प्रभावित घरपरिवारमध्ये पाँच सय ५० वटा घरमा बस्नै नहुने गरी क्षति भएको छ ।

जिल्लामा अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार निजी आवासतर्फ झन्डै चार हजार वटा घरमा पूर्ण क्षति भएको छ भने सात हजार वटा घरमा आंशिक क्षति पुगेको अनुमान छ । तीन दर्जन सरकारी भवन, तथा त्यही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरूपमा क्षति भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here