सीमावर्ती मेची नदीमा दुवै देशका व्रतालुले सँगै मनाए छठ

0
33

पार्थ मण्डल/झापा ।

सीमावर्ती मेची नदीलाई संगम स्थल बनाएर नेपाल तथा भारत दुवै देशका व्रतालु परिवारले सँगै श्रद्धा र निष्ठाको पर्व छठ मनाएका छन् ।

बिहीबार साँझ अस्ताउँदो सूर्यनारायण भगवानको पूजाआराधना गरी अर्घ्य चढाउँदै दुवै देशका व्रतालु परिवारले हर्सोउल्लासका साथ मेचीमा छठ मनाएका हुन् । झापा जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ मनाइने भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म करिब ५ हजार बढी घाट (पूजा स्थल)मा व्रतालु तथा श्रद्धालुहरूको घुइँचो नै लागेको थियो ।

नदीको पूर्वपट्टि भारतीय र पश्चिम पट्टी नेपाली नागरिकहरूले छठ मनाएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए । पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिएको घाटमा पूजा सामाग्री राखेर व्रतालुहरूले पानीमा ओर्लिएर गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार अस्ताउँदै सूर्यलाई अर्घ्य दिएका थिए । यहाँ मधेसी समुदायबाहेक अहिले नेपाली, मारवाडी, बङ्गाली, राजवंशी लगायतका समुदायले छठलाई साझा पर्वको रुपमा मनाउँदै आइरहेका छन् । झापा जिल्लाका विभिन्न स्थानीय तहसहित छिमेकी राष्ट्र भारतबाट गरी करिब ५० हजार बढी भक्तजनहरू छठ हेर्न आएको मैथिल समाजका अध्यक्ष झाको भनाई छ ।

मेचीको छठको शान्ति सुरक्षालाई मध्यनजर गरी दुई सय जनाको हाराहारीमा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको थियो । छठमा हुन सक्ने आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न ट्राफिक प्रहरी, सादा पोसाक, रिजब टोलीसहित एक सय बढी प्रहरी परिचालन गरिएको र कुनै अप्रिय घटना नभएको वडा कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालले जानकारी दिए ।

उनका अनुसार पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिएको थियो । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइएको उनले बताए ।

त्यस्तै भद्रपुर माविका पूर्व विद्यार्थीको साथी समूह, शिव शिष्य र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले निःशुल्क चिया तथा पानी वितरण गरेका थिए ।

गंगा आरती, कलात्मक प्रतीक्षालयको उद्घाटन

छठ पर्वलाई मध्यनजर गरी भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा पहिलो पटक गंगा आरती गरिएको छ । भद्रपुर नगरपालिका, वडा कार्यालय र युनिक समूहको आयोजनामा छठ पर्वमा पहिलो पटक भजन सन्ध्यासहित आरती गरिएको हो । भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, ५ नम्बर वडा अध्यक्ष बन्ध कार्की लगायतले दीप प्रज्वलन गरी आरतीको शुभारम्भ गरेका थिए ।

साथै सूर्यनारायण मन्दिर नजिकै निर्माणाधीन कलात्मक प्रतीक्षालयको उद्घाटन गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा नदी किनारलाई विकास गर्ने उद्देश्यले भद्रपुर नगरपालिकाको साढे ६ लाख बजेटमा मन्दिर आकृतिको प्रतीक्षालयको बनाइएको वडा अध्यक्ष कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here