भैरहवा विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान

0
21

काठमाडौं,

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान शुरू गर्दैछन्।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेको छ।गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यति धेरै सङ्ख्यामा उडान हुन लागेको छ। यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडान बढ्नेछन् र यात्रुको आकर्षण पनि बढ्नेछ’, उनले भने।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो। योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ। थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान शुरु गरेको थियो। कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ। गौतमबुद्ध विमानस्थलमा छिटै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ।

उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ। यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ। यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ।

यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ। आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए। भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ। हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो।

नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र क्वालालम्पुर उडान

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ। शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताए। नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ। नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ। यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ। यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान सुरु गरेको थियो।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो।

फ्लाई दुबईले कात्तिकदेखि दुबई-भैरहवा र भैरहवा-काठमाडौँ हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए। विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन्। शुरुआती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो। दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ।

अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबै तयारी गरिएको छ। प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ।

अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ। अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ। प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ। विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन्। उपकरण जडान भई ‘अटोमेसन’को काम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here