बिनोद पाण्डे,
झापा ।
हुलाकी राजमार्ग अन्तर्गत कन्काई नदीमा वर्षौँअघि शुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएको छ ।
निर्माणाधीन पक्की पुलनजिक बाँसको पुल बनेको हो । गौरीगञ्ज–१ र झापा–२ मा पर्ने यहाँ बाँसका भाटाबाट पुल निर्माण गरिएको हो । गौरीगञ्ज–१का अध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार पुल निर्माण सम्पन्न नहुँदा स्थानीयलाई आवत–जावत गर्न धेरै नै मुस्किल बनेको थियो ।
बाँसको पुलबाट ठूला सवारी साधनहरू आवतजावत गर्न नसके पनि अटोरिक्सा, सिटी सफारी, मोटरसाइकल, साइकल र पैदलयात्री सहज रूपमा वारपार गर्न सक्ने राजवंशीको भनाइ छ ।
झापा, बाह्रदशी र हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिकाका नागरिकलाई एकापसमा जोड्न र नजिकको भारतीय नाका गलगलिया पुग्न सहज हुने बताइएको छ ।