अन्तर नगरपालिकास्तरिय फुटबल प्रतियोगिता–२०८१को तयारी पूरा

0
41

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१, २ र ३ नं. वडा कार्यालय(साविक खुदुनाबारी गाविस)को संयुक्त आयोजनामा सोमबार(भोलि)देखि हुने अन्तर नगरपालिकास्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१को सम्पूर्ण तयारी पूरा भएको छ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग र अर्जुनधारा नगरपालिका संरक्षक रहेको उक्त प्रतियोगिताको तयारीको विषयमा जानकारी दिने उद्देश्यले आइतबार आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक एवम् अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराईले तयारीको विषयमा जानकारी गराएका थिए ।

प्रतियोगिता तयारी अन्र्तगत हालसम्म सहभागी पालिकाहरुसँग समन्वय, खेलमैदान व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन, प्रचारप्रसार तथा पत्राचार, सरोकारवाला संघ–संस्थाहरुसँग समन्वय गर्ने कार्य सम्पन्न भएको बताइएको छ ।

अर्जुनधारा–३ कैदलेस्थित प्राकृतिक रंगशालामा दिँउसो २ बजे हुने प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सहभागी नगरपालिकाबीच भाइचारा कायम गर्ने एवम् स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आयोजकसहित झापाको ८ नगरपालिका र इलामको १ नगरपालिका गरि जम्मा १० टीमको सहभागिता रहेको प्रतियोगिता खेल संयोजक धनबहादुर तामाङले जानकारी दिए ।

आयोजकसहित अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, माई नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका र दमक नगरपालिकाको सहभागिता रहने प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश एक लाख ११ हजार दुई सय ११ र ५५ हजार छ सय ५५, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

आगामी मंसीर ५ गते सम्पन्न हुने प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलिको उद्घाटन खेल अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here