कालीकोटमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

0
23

कालीकोट,

कालीकोटको पलाँतामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ। पलाता गाउँपालिका-३ राडुस्थित भित्र सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पलाँता-५ निवासी छाया शाही, पदम बम, वडा नम्बर ६ निवासी दसकला शाही, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ३ निवासी दमन रोकाया रहेका छन्।

बोलेरो जिपमा सवार १९ जनामध्ये १३ जना गम्भीर घाइते भएका छन्। घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। पलाता गाउँपालिका-५ खिनदेखि सोही गाउँपालिका अन्तर्गत वडा नम्बर ९ थिर्पुतर्फ आउँदै गरेको क१ ज ५६ नम्बरको डबल क्याप बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द प्रसाद चौधरीले बताए।

उनले भने, ‘जिपमा सवार १९ जना मध्य १३ जना घाइते छन्। नेपाल आर्मीको हेली मार्फत पहिलो पटक ७ जना दोस्रो पटक ६ जना गरी १३ जनालाई नै प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ।’ अस्थायी प्रहरी पोस्ट कहरदेव, प्रहरी चौकी थिर्पु, इलाका प्रहरी चौकी पचालझरना र जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरूले मृतक तथा घाइतेको उद्धार गरेका हुन्। दिउँसो २ बजेर ५० मिनेटमा जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।

पलाँता गाउँपालिका वडा नम्बर ३ का सुमन रोकायाले डोजरद्वारा खनिएको अव्यवस्थित सडकमा बोलेरो जिपको क्षमताभन्दा बढी यात्रु हुनुले जिप दुर्घटना भएको बताए। उनले भने, ‘पँलातामा २ वटा जिप सञ्चालन गरिएको थियो। एउटा केही महिना अगाडि दुर्घटना भइसकेको र बाँकी रहेको अर्को आज दुर्घटना हुनुमा क्षमता भन्दा बढि यात्रु बोक्नु नै मुख्य समस्या हो।’ गाडी चालकको चरम लापरबाहीका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको दुखेसो गरे। स्थानीय सरकारले कानुन अनुसार नियन्त्रण नगर्नु पनि मुख्य समस्या भएको हो।

गम्भीर घाइते हुनेमा कालीकोट पलाता ६ निवासी वर्ष नखुलेका केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, वडा नम्बर ३ दान बहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, चालक वतन नखुलेका धनिराम रावत यसैगरी पलाँता गाउँपालिका-५ निवासी दोलि विश्वकर्मा, आयुशा विश्वकर्मा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here