प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने काम लगभग शुरु गरिँदैछ । तीर्थस्थलको विकास गर्ने भनेर केवलकार बनाउनु उचित होइन भन्ने आवाजहरु सुनिन थालेका छन् । तीर्थस्थलमा केवलकार बनाउनुु हुँदैन भनेर त्यहाँ केही मानिसले विरोध पनि गरिरहेका छन् । झडप पनि भएछ । प्रहरीले उनीहरुलाई पिटेछ ।
तीर्थस्थलहरु दुर्गममा नै हुन्छन् । भारतमा पनि कति धेरै तीर्थहरु छन् । पुग्न निकै कठिन छ । तर, ती तीर्थस्थलमा त्यहाँको सरकारले केवलकार बनाएको छैन । त्यहाँको सरकारलाई तीर्थको महत्व थाहा छ । त्यहाँको सरकारले साधुसन्तको आवाज हुन्छ । भारतमा केदारनाथ, बद्रिनाथ दर्शन गर्न जाँदा केही किलोमिटर हिँड्नुपर्छ, त्यहाँ केवलकार बनाइएको छैन ।
कैयौँ विकसित मुलुकहरु छन् विश्वमा । भारत मात्र होइन, चीनको पनि कुरा गरौँ । विश्व जगतलाई विकासका नाममा उछिन्दैछ चीनले । तर, चीनले पनि तीर्थलाई चाहिँ तीर्थ नै रहन दिएको छ । अहिले पनि कैलाश पर्वत पुग्नलाई गाडीबाट ओर्लिएपछि वा हेलिकप्टरबाट ओर्लिएपछि घन्टौँसम्म हिँड्नैपर्छ । चाहने हो भने चीनले कैलाश पर्वतको फेदैमा हेलिप्याड बनाउन सक्दैन र ? रेलमार्ग लैजान सक्छ, सडक बनाउन सक्छ, चीन पो हो त ! तर, चीनले त्यसो गर्दैन । चीनले पनि तीर्थलाई चाहिँ तीर्थ नै रहन दिन्छ । विकासका नाममा धार्मिक र ऐतिहासिक क्षेत्रको स्वरुप परिवर्तन हुन दिनु राम्रो होइन ।
यो कलियुग हो । कलियुगमा मान्छेसँग समय नै छैन । मान्छे जे कुरामा पनि हतार गर्छ । कलियुगको प्रवाभले सबैतिर छपक्कै छोपेको छ । कलियुगले तीर्थस्थलहरुलाई पनि बिस्तारै दुषित पार्दैछ । तीर्थको महŒव पनि घटाउँदैछ, कलियुगले । कलियुगमा मान्छे असाध्यै व्यस्त छ । भगवानको दर्शन गर्न लाइन बस्न पनि भ्याउँदैन मानिस । ऊ लाइन नै नबसी छ्यास्स दर्शन गर्न चाहन्छ । लाइन नबस्नका लागि ऊ महँगो शुल्क समेत तिर्न तयार हुन्छ । साउनमा अर्जुनधारा जलेश्वरधाममा पनि यस्तै भयो । हरेक काममा ‘सर्टकट’ चाहन्छ मानिस । ‘म यति व्यस्त छु, मर्ने पनि फुर्सद छैन’ भन्छ अहिलेको मानिस । सास फेर्नेसम्म फुर्सद छैन भन्छ । त्यही भएर तीर्थ जाँदा, भगवानको दर्शन गर्न जाँदा पनि ‘सर्टकट’ चाहन्छ । तीर्थ गइहाले पनि मुख्यतः घुम्ने भावनाले जान चाहन्छ ।
तीर्थ जानाले पाप नष्ट हुन्छ । अन्तःकरण शुद्ध हुन्छ । मानिसमा सात्विकता आउँछ । त्यसकारण समय–समयमा तीर्थमा जाने गर्नुपर्छ । तर, तीर्थमा घुम्ने उद्देश्यले जाने होइन । केही दिन छुट्टी छ हरिद्वार जाउँ, यसपटक छुट्टी मनाउन वृन्दावन जाउँ भनेर जाने होइन । छुट्टी मनाउने उद्देश्यले तीर्थ जाने होइन । तीर्थमा तीर्थकै भावनाले जाने हो । तीर्थको भावनाले गयो भने मात्रै तीर्थको फल प्राप्त हन्छ । तीर्थमा गएर मात्र हुँदैन । तीर्थ जानेले आफ्नो आहार पवित्र राख्नुपर्छ, विचार पवित्र राख्नुपर्छ । तीर्थमा आफ्नो कमाइको मात्र खानुपर्छ, ब्रह्मचार्य आदि नियम पालन गरेर जब व्यक्ति तीर्थ जान्छ, तब मात्र उसलाई तीर्थको फल प्रप्त हुन्छ ।
अहिलेको मानिस तीर्थमा घुम्न जान्छ । सुविधासम्पन्न होटलमा बस्छ । तीर्थमा पुगिसकेपछि पनि दर्शनभन्दा बढी फोटो र भिडियो बनाउनमा लाग्छ । भगवानको विग्रहतिर हात जोड्छ र क्यामरातिर हेर्छ । भगवान उता विराजमान हुनुहुन्छ, ऊ ध्यान चाहिँ क्यामरातिर दिन्छ । अनि आफूलाई परम्भक्त हुँ भन्ने देखाउनलाई सामाजिक सञ्जालमा त्यो फोटो र भिडियो हाल्छ । र, घुमघाम गरेर फर्किन्छ । त्यो तीर्थ हँदैन, त्यो पर्यटन हो । पर्यटन र तीर्थमा अन्तर छ । तीर्थमा तीर्थकै भावनाले गएमा मात्रै तीर्थको फल प्राप्त हुन्छ । अहिले हामी पर्यटनको भावनाले तीर्थ जान थाल्यौँ, जसको परिणाम स्वरुप तीर्थ पनि दूषित हुन थाल्यो । तीर्थहरुमा पनि समस्त प्रकारका व्यभिचार, पापाचार र अनाचार हुन थाल्यो ।
पहिले तीर्थहरु असाध्यै दुर्गम थिए । अन्य स्थलहरुको विकास गरिए पनि तीर्थस्थलको विकास गरिँदैनथ्यो । तीर्थलाई तीर्थ जस्तै राखिन्थ्यो । तीर्थमा जसलाई जानु छ, जसको भावना छ, जो साधक छ, जो तपस्वी छ, ऊ जसरी पनि जान्थ्यो । र, जो सुविधाभोगी छ, ऊ आफैँ पछि हट्थ्यो । कष्ट सहेर जाँदैनथ्यो । तर, अहिले त सरकारले नै तीर्थको विकास गर्न थाल्यो । हिँडेर केही घन्टामै पुगिने तीर्थस्थलमा पनि केबलकार लगाइदिन शुरु भयो । यो सबै मात्र पर्यटनका लागि हो । कसैको व्यक्तिगत स्वार्थका लागि हो । जसको परिणामस्वरुप तीर्थको सार घट्न थाल्यो । तीर्थहरु दूषित हुन थाले ।
हुन त पाँच हजार वर्ष पहिले नै भागवतमा वेदव्यासले लेखिसक्नुभएको रहेछ– तीर्थसारस्ततो गतः । अपवित्र भएर मान्छेहरु तीर्थस्थलमा जान थालेकाले तीर्थको सार घट्दैछ भनेर लेखिएकै छ । तीर्थमा जाँदा पवित्र भावले जानुपर्छ । त्याग र तपको दृष्टिले जानुपर्छ । हर तीर्थको आ–आफ्नो महिमा छ । तर, जुन तीर्थलाई तीर्थ जस्तो रहन दिइँदैन र मोडिफाइ गरिन्छ, अनेक स्वार्थका कारण शहर जस्तो विकसित गरिन्छ वा गर्न खोजिन्छ, तब त्यो तीर्थ रहँदैन । त्यो मात्र एउटा पर्यटनस्थल बन्नेछ । तीर्थको सार घट्नेछ ।
ईश्वर प्राप्तिका लागि गरिने कष्ट नै तप हो । हामी एकादशीमा ईश्वरको प्रसन्नताका लागि भोक सहन्छौँ । त्यस दिन अन्नको सेवन गर्दैनौँ । त्यो तप हो । माघको जाडोमा एकाबिहानै ईश्वरको नामोच्चारण गर्दै पवित्र नदीमा गएर डुबुल्की लगाउनु तप हो । ईश्वरको दर्शनको इच्छा लिएर मानिसहरु कैयौँ दिनसम्म खाली खुट्टा पैदलयात्रा गरेर तीर्थ जानु तप हो ।
अधिकांश तीर्थस्थलहरु दुर्गममै हुन्छन् । प्रकृतिले नै मानिस पैदलयात्रा गरेर, कष्ट सहेर तीर्थ जाओस् भन्ने चाहेको हुन्छ । तर, अहिले त मानिस ईश्वरको दर्शन गर्नलाई केही घण्टा, केही मिनेट पनि हिँड्न तयार छैन । उसलाई गाडी चाहिन्छ, भरिया चाहिन्छ, त्यतिले मात्र नपुगेर केबलकार चाहिन्छ । हेलिकप्टर चाहिन्छ । अहिले त सिँधै तीर्थस्थलमा हेलिकप्टर ल्याण्ड हुन्छ । तीर्थ अब तीर्थ रहेन । रह्यो त केवल पर्यटनस्थल । किनभने तीर्थमा मान्छेलाई पाँचतारे होटल चाहिन्छ । उसलाई एसीसहितको होटल चाहिन्छ । नुहाउन तातोपानी चाहिन्छ । स्वादिष्ट भोजन चाहिन्छ । सुखभोग मात्रै चाहिन्छ ।
तीर्थ गर्न जानु र तीर्थ घुम्न जानुमा अन्तर छ । तीर्थ त तपका लागि हो । आफ्नो सुख–सुविधा त्यागेर तीर्थमा गएर तप गर्ने हो, साधना गर्ने हो । तर, तीर्थमा गएर पनि सबै प्रकारको सुख भोगको व्यवस्था गरेर घुम्ने हो भने तीर्थको कुनै मतलब रहँदैन । तीर्थ तपका लागि हो । अन्य क्षेत्रमा गरिएका पाप त तीर्थमा जानाले नष्ट हुन्छ । तर, तीर्थमा पाप गरियो भने त्यो पाप बज्र लेप हुन्छ ।
अन्य देशे कृतम् पापम् तीर्थक्षेत्र विनष्यती
तीर्थक्षेत्रे कृतम् पापम् बज्रलेपे भविष्यती
त्यसकारण तीर्थ जाँदा साह्रै सावधान रहनुपर्छ । अनाचार पापाचार हुनबाट जोगिनुपर्छ । अब अन्त्यमा, नेपालमा पनि एउटा तीर्थस्थललाई विकास गर्ने भनेर केवलकारको प्रक्रिया शुरु भएको छ । बनाउनैपर्छ भन्नेहरुको समूह र बनाउनु हुँदैन भन्नेहरुको समूहबीच झडप भएको समाचार पनि आयो । वास्तवमा, तीर्थलाई तीर्थ नै रहन दिनुपर्छ । शहर बनाउनु जरुरी छैन । तीर्थमा मन्दिर देखियोस् । जंगल देखियोस् । मन्दिरमा दियो बलेको देखियोस् । शंख र घण्टका ध्वनी गुञ्जियोस् । खाली खुट्टा हिँड्नु परोस् । कष्ट सहेर हिँडिरहँदा भगवानको स्मरण होओस् ।
तीर्थमा रहेर मानिसले भजन पूजन गरिरहे भने मात्रै तीर्थले हाम्रो कल्याण गर्छ । तब मात्रै तीर्थमा पनि ऊर्जा रहन्छ । नत्र त तीर्थको पनि ऊर्जा समाप्त हुन्छ । सन्त, सज्जन, भक्तहरुले तीर्थलाई संरक्षण गरिरहेका छन् । उनीहरुकै कारण अहिलेसम्म हाम्रो भूमि तीर्थ बनेको छ । साधु, सन्त, तपस्वी, भजनानन्दी भक्तहरुले तीर्थको महत्वलाई अहिलेसम्म जोगाइरहेका छन् । विकासका नाममा, पर्यटनका नाममा तीर्थको महत्वलाई घटाउने काम नगरौँ ।