हवाई सेवा सहज बनाऊ

0
20

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको विस्तार तथा मर्मत गर्न भन्दै गत कात्तिक २३ गतेदेखि सञ्चालन अवधि कटौती गरिएको छ । दैनिक दश घण्टा विमान स्थल बन्द हुँदा आन्तरिक तथा बाह्य उडानमा तीस प्रतिशत कटौती भएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ । विमान स्थल सञ्चालनको अवधि घटेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । दैनिक दश घण्टा विमानस्थल बन्द भएको निहुँमा विमान कम्पनीहरुले आफूखुशी भाडा बढाउँदा दुबै उडानका यात्री नराम्ररी प्रभावित भएका छन् । विमानस्थलको सुधार दीर्घकालीन हितका लागि आवश्यक छ, तर विमान सञ्चालकहरुले आफूखुशी गरेको भाडावृद्धि न्यायोचित छैन र खासगरी वैदेशिक रोजगारीमा जाने नेपाली यसबाट बढी प्रभावित छन् ।

विमान कम्पनीले साविक भाडा पाँच गुणा बढीले वृद्धि गरेपछि पर्यटन, परराष्ट्र र श्रम क्षेत्रमा ठूलो प्रभाव परेको छ । देशमा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य नेपाली युवा र तिनलाई सहजीकरण गर्ने म्यानपावर कम्पनीहरु पनि अत्तालिएका छन् । त्यसैगरी विमानस्थल सुधार र विस्तारका लागि उडान कटौती गर्दा आन्तरिक उडान पनि कटौती गरिएको छ । जसका कारण नियमित हवाई भाडा दुई गुणा बढाइएको छ भने हवाई यात्रु सेवा नपाएर सडक यात्राको सास्ती व्यहोर्न बाध्य छन् । विमान कम्पनीको मनपरीबिरुद्ध त्यस क्षेत्रमा संलग्न व्यवसायी तथा सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुको ध्यानाकर्षणपछि पर्यटन, परराष्ट्र, रोजगार मन्त्री तथा वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहिरुसँग छलफल भएको छ । उडान कटौती र भाडा वृद्धिले नेपाल आउने पर्यटन प्रभावित हुँदा देशलाई पनि क्षति भएको छ ।

पर्यटनलाई उद्योगकै दर्जा दिइएको छ । यसले रोजगारीको अवसर सृजना गर्ने, आर्थिक गतिविधि चलायमान हुने र मौलिक संस्कृतिको समेत व्यापक उपयोग भई देशको प्रतिष्ठा बढ्ने विश्वास छ । यही बेला हवाई भाडा वृद्धि हुँदा अहिले आइरहेका पर्यटकहरु पनि अन्य मुलुकतिरै जाने भएकाले पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरु पनि मारमा पर्ने निश्चित छ । यद्यपि सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेको छ र विमान कम्पनीहरु त्यहाँ विमान सञ्चालन गर्न इच्छुक देखिएका छैनन् । देशकै पुरानो विमान स्थलमा बढ्दो चापका कारण विस्तार तथा सुधार आवश्यक छ, तर त्यसका लागि विकल्प पहिल्यै तयार गरिनुपथ्र्यो ।

कोरोना कहरले थलिएको पर्यटन क्षेत्रले भर्खर गति लिन शुरु गरेको थियो । बाह्य पर्यटककै कारण पर्यटन व्यवसाय चलायमान हुनुपर्ने र यही समय पर्यटकको आगमन सेवा कटौतीले प्रभावित भएपछि व्यवसायीहरु फेरि निराश भएका छन् । विमान कम्पनीहरुले निर्धारण गरेको भाडा नियन्त्रण गरी सेवा सहज बनाउने भएको छलफलले पाँच बुँदे सहमति गरेको छ । उड्डयन प्राधिकरण, सम्बद्ध मन्त्रालयका प्रतिनिधि तथा विमान कम्पनीका प्रतिनिधि सहभागी बैठकको निर्णय कार्यान्वयनको अवस्थाले हवाई यात्रा सुनिश्चित हुनसक्छ । यस वर्षको बाढी पहिरोले क्षतविक्षत सडक सञ्जाल सहज हुन नसकेकै बेला हवाई उडानमा भएको गतिरोध र भाडा वृद्धिलाई तत्काल नियन्त्रण गर्नेतर्फ सरकार गम्भीर होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here