अन्तर नगरपालिकास्तरिय फुटबल प्रतियोगितामा बिर्तामोड विजयी

0
27

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१, २ र ३ नं. वडा कार्यालय(साविक खुदुनाबारी गाविस)को संयुक्त आयोजनामा सोमबारदेखि अन्तर नगरपालिकास्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१ शुरु भएको छ ।

अर्जुनधारा–३ कैदलेस्थित प्राकृतिक रंगशालामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र विशिष्ठ अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

अर्जुनधारा–३ का वडाध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक सीताराम भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेवा देय दबू अर्जुनधाराबाट लाखे नाच प्रस्तुत, स्थानीय मनकामना नौमती महिला बाजा समूहबाट नौमती बाजा प्रस्तुत, खुदुनाबारी तेक्वान्दो डोजाङका खेलाडीहरुबाट प्रदर्शनी तथा कलाकार आकृती तामाङबाट नृत्य प्रस्तुत भएको थियो ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग र अर्जुनधारा नगरपालिका संरक्षक रहेको उक्त प्रतियोगिता सहभागी नगरपालिकाबीच भाइचारा कायम गर्ने एवम् स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्जुनधारा–३का वडासचिव एवम् समितिका सचिव खगेन्द्र लिङदेन र अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य एवम् सञ्चारकर्मी तिलक योञ्जनले संयुक्तरुपमा गरेका थिए ।

यसैबीच सोही दिन सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई ०–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड नगरपालिकाले विजयी शुरुवात गरेको छ । बिर्तामोडको जीतका लागि खेलको ७०औं मिनेटमा श्याम मुर्मुले गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी घोषित मुर्मुलाई प्रमुख अतिथि तामाङ र शनिश्चरे बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापाले संयुक्तरुपमा नगद पुरस्कार पाँच हजारसहित ट्रफी प्रदान गरेका थिए ।

उत्कृष्ट खेलाडीको नगद पुरस्कार अर्जुनधारा–६ निवासी हाल ओखलढुंगास्थित आश्रित गुल्मका गुल्मपति डीएसपी प्रभात गौतमले सौजन्य गरेका थिए । मंगलबार(भोलि) को खेल आयोजक र भद्रपुर नगरपालिकाबीच हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here