अलपत्र जीपी भवनः बनाउनु कि भत्काउनु !

0
22

पार्थ मण्डल,
झापा ।

विगत ९ वर्षदेखि खण्डहरमा परिणत भएको झापाको भद्रपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन) बनाउनु कि भत्काउनु भन्ने दोधारमा यहाँका सरोकारवाला पक्ष पुगेका छन् ।
लागूऔषध र मादकपदार्थ सेवनको अखडा, डेटिङसँगै अनैतिक क्रियाकलाप गर्ने स्थलमा परिणत भएको अलपत्र जीपी भवनको निर्माण कार्यलाई तत्काल अघि बढाउन सरकारलाई दबाब दिने उद्देश्यले भद्रपुर जेसीजले सोही भवनमा राखेर सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरेको थियो ।

सो कार्यक्रममा सहभागीहरूले झञ्झटिलो कानूनी प्रावधान (सार्वजनिक खरिद ऐन १३औं संशोधन) देखाउने र सरकारको नेतृत्वमा बसेर काम नगर्ने व्यक्तिका कारण करोडौँको लगानीमा बनेको जीपी भवन अलपत्रसँगै खण्डहरमा परिणत भएको भन्दै आक्रोश पोखेका थिए ।

सरकारले बनाउन सक्दैन भने चन्दा उठाएर बनाउने, सरकारलाई दबाब दिन आन्दोलन चर्काउने, मन्त्रीपरिषद्बाट निर्णय गराई म्याद थप्ने वातावरण मिलाइदिनु पर्ने, ठेक्का खारेजीको प्रक्रिया अघि बढाउनुपर्ने वा डोजर लगाएर भत्काउनुबाहेक अन्य कुनै विकल्प नरहेको सहभागीहरूको भनाइ छ । अब भवनको बारेमा यी अडानका साथ अघि बढ्नुपर्ने छलफलले निष्कर्ष निकालेको भद्रपुर जेसीजका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

छलफलमा सहभागी पूर्वमन्त्री, जिसस प्रमुख, नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, जेसीजका पूर्वअध्यक्षहरुले भवन निर्माणका लागि सरकारलाई सामुहिक रुपमा दबाब दिने प्रतिबद्धता जनाएको बताउँदै भद्रपुर जेसीज अध्यक्ष पाण्डेले भने– ‘मंसीरको दोस्रो साताभित्र जिसस र नगरपालिकाको नेतृत्वमा काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पुनः ज्ञापनपत्र बुझाउने निर्णय गरेका छौँ ।’

भद्रपुर–८स्थित मेची रङ्गशाला छेउमै निर्माणाधीन जीपी भवनको वि.सं. २०७२ असार २८ गतेका दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रियसभा सदस्य तथा तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष बिजयकुमार गच्छदारले एक समारोहकाबीच संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

चारै दलका शीर्ष नेताहरु एक साथ जीपी भवनको शिलान्यास गरेकोले तोकिएको समयमै भवन बन्ने जनविश्वास थियो । विडम्बना त्यो जनविश्वास नभई शीर्ष नेताहरुबाटै जनाघात भएको नगरवासीको ठम्याइ छ । तत्कालीन प्रधानमन्त्री कोइरालासहित देशमा आठ जना प्रधानमन्त्री बनिसकेका छन् । ओली चारपटक, प्रचण्ड र देउवा दुई÷दुईपटक प्रधानमन्त्री बनिसकेका छन् । हाल ओली देशका प्रधानमन्त्री छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति झापा (हालको जिल्ला समन्वय समिति) को रेखदेखमा जीपी भवन बन्न शुरु भएको थियो । प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँको लागतमा सो भवन निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माणाधीन भवनको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ ।

सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैङ्क अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभा हल बनाइने गरी भवनको काम थालिएको थियो । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इञ्चको वर्गाकारमा फैलिएका छन् ।

निर्माण कम्पनीले तीन तलाको फाउण्डेशन उठाएर अलपत्र अवस्थामा छाडिदिएको छ । जीपी भवन बनाउन निवर्तमान जिसस प्रमुख सोमनाथ पोर्तेल र निवर्तमान भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रयास पनि असफल भएको थियो । उनीहरूको कार्यकाल सकिएपछि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अहिलेसम्मको प्रयास पनि असफल देखिएको छ ।

सदरमुकामलाई गिज्याइरहेको अलपत्र जीपी भवनका लागि प्रधानमन्त्री ओली, निवर्तमान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पटक–पटक विषयवस्तुको बारेमा जानकारी गराएको बताउँदै जिसस प्रमुख बरालले भने– ‘उहाँहरूले पनि खासै चासो देखाउनु भएन, जसले गर्दा भवन ओझेलमा प¥यो ।’ ‘सार्वजनिक खरिद ऐन १३औं संशोधन देखाउँदै मन्त्रालयका मुख्य सचिव, उपसचिव र कर्मचारीहरूले पनि यसमा हात हाल्न छाडिदिए’– उनले भने । मन्त्रिपरिषद्ले म्याद थप्ने छुट्टै निर्णय नगरिँदा वा ठेक्का तोड्ने कागजातमा कर्मचारीले हस्ताक्षर नगर्दाले भवन यस्तो अवस्थामा पुगेको हो ।

जो जिल्ला समन्वय अधिकारी आउँदा पनि यस भवनको बारेमा प्रक्रिया अघि बढाउन चाहँदैनन् । बरु यहाँबाट सरुवा गरिदिनु भनी पन्छिन् खोज्छन् । ‘मन्त्री वा नेताहरूको सरकारी कागजमा हस्ताक्षर चल्दैन, हस्ताक्षर चल्ने भनेकै कर्मचारीको हो, उनीहरू मान्दैनन्’– उनले भने । जिविसबाट जिसस बन्दा पनि समस्या उत्पन्न भएको हो । ‘यो धेरै पुरानो योजना भयो, यसमा हात हाल्न सम्बन्धित कर्मचारी संयन्त्र डराउने गरेको मैले पाएँ’– उनले भने– ‘उच्चस्तरीय राजनीतिक निर्णयबाट मात्र यसको निकास निस्कन सक्छ भन्ने मलाई लाग्छ ।’

भवनको काम ४८ प्रतिशत मात्र भएको कागजमा भनिएको छ । अहिलेसम्म निर्माण कम्पनीले ९ करोड ९६ लाख रुपैयाँ लगिसकेको छ । अहिले जिससको खातामा साढे ३ करोड रुपैयाँ भन्दा बढी पैसा रहेको उनको भनाइ छ । भद्रपुर नगर प्रमुख गणेश पोखरेलले जीपी भवनको बारेमा कानूनी जटिलता देखिएकोले समस्या उत्पन्न भएको बताए ।

जिससको मातहत रहेकोले नगरपालिकाले केही गर्न नसकेपनि संघीय सरकारलाई बारम्बार दबाब दिने काम गरिरहेको छ । अब मंसीरको दोस्रो साताभित्र काठमाडौँ गएर पुनः सरकारलाई दबाब दिने उनको भनाइ छ । कुनै बाधा–अड्चन भए फास्टट्रयाकबाट ती अड्चन फुकाएर यथाशीघ्र भवन निर्माण गर्नेतर्फ सबै लाग्नुपर्ने उनले बताए ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, नेपाली काँग्रेस नगर समिति सभापति रामबहादुर कँडेल, नेकपा एमालेका नगर अध्यक्ष निर्माण नेपाल, नेकपा माओवादी (केन्द्र) नगर अध्यक्ष हंशधर राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव अभिषेक ढुङ्गाना, वडाध्यक्षहरु रतिया राजवंशी, हेम कार्की, नागरिक स्तरबाट दुर्गाप्रसाद भट्टराई, तोयानाथ गड्तौला, लोकनाथ भट्टराई, जय तिम्सिना, राजेन्द्र भट्टराई, डिल्लीराम पोखरेल, भरत प्रसाईँ, टीकाराज ढकाललगायतले जीपी भवनको अधुरो काम तत्काल सुचारु गराउन सरकारलाई दबाब दिनुपर्ने बताए ।

उनीहरूले सरकारले काम अघि नबढाए चन्दा उठाएर बनाउने वा आन्दोलन चर्काएर भए पनि काम पूरा गराउनुपर्ने जोड दिएका छन् । यता निर्माण कम्पनीका सञ्चालक सञ्जीव साहले भवनको बारेमा काठमाडौँ अदालतमा दायर गरेको मुद्दा जिते पनि एकपटक पनि झापा आएको छैन । साह भवन नबनाउने पक्षमा रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here