समाज विनाशक लागूऔषध

0
19

लागूऔषधको दुव्र्यसन विश्वव्यापी समस्या बनेको छ । यस्ता वस्तुको दुव्र्यसनको प्रभाव खासगरी युवावर्गमा अधिक रहेको अनुसन्धानले देखाएको छ । यसकै कारण विश्वमा साठी प्रतिशतभन्दा बढी अपराधका घटना भइरहेका छन् । गाँजा, कोकिन, हेरोइन र कतिपय औषधिजन्य वस्तुको अनधिकृत प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पनि गरिरहेको छ । लागूऔषध अहिले नेपालका लागि पनि समस्याका रुपमा देखापरेको छ । अझ हामीकहाँ किशोरावस्थाका विद्यालय पढ्दै गरेका विद्यार्थी नै यस्तो कुलतमा फस्दै गएका छन् । खराब साथीको संगत, लहै–लहैमा लागेर र अभिभावकले उचित रेखदेख, निगरानी नगरेका कारणले लागूऔषको प्रयोग फेसन बन्दै जाँदा यसले चुनौती पनि थपेको छ ।

लागूऔषधीलाई अनुचित ढंगले प्रयोग गर्दा त्यसको असर र मानिसको केन्द्रीय स्नायु प्रणालीमा पर्छ । जसले प्रयोगकर्ताको मन, भावना र सोचाइमा परिवर्तन ल्याउँछ । यसले मानिसलाई चेतनाशून्य बनाउँछ । जसका कारण सम्झिने, बुझ्ने र अनुभूति गर्ने क्षमता कमजोर हुन्छ । त्यही वस्तुको निरन्तरको प्रयोगले शारीरिक जटिलताहरु पनि ल्याउँछ । लागूऔषधका कारण एकातिर आर्थिक क्षति हुन्छ भने अर्कातिर परिवारमा कलह, द्वन्द्व र हिंसा बढाउँछ । त्यसकै परिणाम हो कि आज हाम्रै देशमा हत्यासम्मका जघन्य प्रकृतिका अपराधका घटनाहरु घटित हुनु । त्यस्तै हिजोआज बढ्दै गएका सवारी दुर्घटना पनि लागूऔषधको दुव्र्यसनकै कारण भएको पाइएका छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको व्यवस्था गरिएको छ । पछिल्लो समय लागूऔषधको प्रयोग तथा कारोबार व्यापक हुँदै जाँदा गृहमन्त्रालय र नेपाल प्रहरीले बेग्लै निकाय गठन गरेको छ । भारतसँगको खुल्ला सीमानाका कारण प्रहरीको निगरानी हुँदाहुँदै पनि लागूऔषध भित्रिनेक्रम रोकिएको छैन । यसले नेपालमा लागूऔषधको कारोबार तथा प्रयोग बढेको दिनहुँ पक्राउ परेकाहरुको तथ्यांकले नै पुष्टि गर्दछ । झापाका खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट लागूऔषधको ओसारपसार बढिरहेका बेला प्रहरीले उपत्यकाको भक्तपुरस्थित औषधि पसल तथा ब्युटीपार्लरहरुबाट लागूऔषध बरामद गरेको छ । यसले लागूऔषधको भयावहता देखाउँछ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सूचनाका आधारमा ‘सर्च’ अभियान सञ्चालन गर्दा खुलेको यो तथ्यले औषधि व्यवसाय नै लागू पदार्थको हब बन्न थालेको देखाएको छ । त्यही अनुसन्धानका क्रममा प्रहरीले व्यवसायीदेखि प्रयोगकर्तासम्मलाई पक्राउ गर्न थालेको छ । प्रहरीको यो कदमलाई अभिभावक, स्थानीय तह र सरकार लगायत सबैको सहयोग हुनुपर्छ । लागूऔषधको प्रयोगबाट हुने अपूरणीय क्षति रोक्न सबै पक्ष जिम्मेवार र कर्मनिष्ठ हुनुपर्छ । उपलब्ध कानूनी व्यवस्थाको कार्यान्वयनमा दृढ हुनुपर्छ । लागूऔषधका बिरुद्ध जनचेतनाका कार्यक्रम विद्यालय तहदेखि नियमित रुपमा सञ्चालन गर्नुपर्छ । कुलतमा फसिसकेकालाई पुनस्र्थापना केन्द्र मार्फत उपचार गराएर समाजमा पुनस्र्थापित गर्नुपर्छ । सामुहिक प्रयास र अग्रसरताले मात्र दुव्र्यसनको क्षतिबाट जोगाएर स्वस्थ र उन्नत समाजको निर्माण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here