योगेन्द्र योगी
बिराटनगर,
सुनसरीको धरान उप-महानगरपालिका-१७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
फर्मबाट गाँजा बरामद भए संगै फर्म संचालक धरान-१३ का ४४ बर्षीय राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।