मधुमेहको समस्या निरन्तर बढिरहेको छ । एउटा तथ्यांक अनुसार विश्वका बयालीस करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित छन् । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार विश्वको मधुमेहका बिरामीहरु प्रत्येक वर्ष बढ्दै गएका छन् । रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेहलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिन्छ । शरीरले रगतमा भएको ग्लुकोज प्रशोधन गर्न नसक्दा अनेक जटिलता आउन सक्छ । हृदयघात, अन्धोपन र मस्तिष्कघात हुनुका साथै मानिसका शरीरमा भएको मृगौलाले काम गर्न नसक्ने अवस्था आउँछ ।
हाल व्यापक बन्दै गएको मधुमेहलाई रोक्न स्वस्थकर खाना खानुपर्ने र जीवनशैली परिवर्तन गर्नुपर्ने चिकित्सकको भनाइ छ । सक्रिय जीवन बिताउने, व्यायाम अथवा शारीरिक परिश्रमले मधुमेहलाई रोक्न र नियन्त्रण गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् । विश्वमा मधुमेहको बढ्दो भयावहताका बीच वैज्ञानिकहरु प्रतिरक्षाको उपाय खोज्न लागेका थिए । त्यसकै परिणाममा यसको उपचारमा सहयोगी हुने ‘इन्सुलिन’को आविष्कार भयो । सन् १९२२ को नोभेम्बर १४ का दिन आविष्कार भएको इन्सुलिनका प्रणेता सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बर नै भएकाले आजको दिनलाई मधुमेह दिवसका रुपमा मनाउन थालिएको हो । लामो अध्ययन अनुसन्धानपछि सर बान्टिङ र चाल्स बेस्टले आविष्कार गरेको इन्सुलिनले आज करोडौं मानिसको जीवन रक्षा गरिरहेको छ ।
इन्सुलिन आविष्कारको उपलब्धीलाई सम्मान गर्दै मधुमेहका बारेमा सचेतना बढाउन संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००६ देखि मधुमेह दिवस मनाउन थालिएको हो । विश्वका लाखौं मानिस अहिले मधुमेहको शिकार भइरहेका छन् । सुखी र भोगविलाशी जीवनशैली, अस्वस्थकर खाना र वंशाणुगत कारणले भयावह बन्दै गएको मधुमेहको समयमै पहिचान र उपचार गर्न सकिए त्यसबाट उत्पन्न हुनसक्ने जटिलताबाट जोगिन सकिन्छ । यद्यपि मधुमेहलाई चिकित्सकीय पद्धतिले असाध्य रोग मानेको छैन, किनकि पहिचान र उपचार समयमै गरिए यो जाती हुनसक्छ ।
नेपालीको जीवनशैलीमा आएको परिवर्तनले मधुमेहको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । त्यसैले यसलाई रोक्न शरीरको तौल घटाउन, परिश्रम गर्न, परम्परागत खाना खान, धुमपान, मद्यपान नगर्न र बजारका तयारी खाना नखान चिकित्सकहरुले भन्दै आएका छन् । विश्वव्यापीरुपमा बढ्दै गएको मधुमेहबाट हुन सक्ने शारीरिक जटिलतालाई समयमै रोक्न आममानिसलाई सजग गराउने उद्देश्यले बर्सेनि मनाइने विश्व मधुमेह दिवसले आफ्नो शरीरको रक्षा गर्ने सामथ्र्य बढाओस् । सबै स्वस्थ होऊन्, सबै सुखी होऊन् ।