झापामा मापसे गरेर सवारी चलाउने ४६०७ जना चालक कारबाहीमा

0
40

झापा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मापसे गरेर सवारी चलाउने चार हजार छ सय सात जनालाई कारबाही गरेको छ ।
पछिल्लो समय ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसंँगै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको संख्यामा कमी आएको छ ।

तीन वर्षको अवधिमा ट्राफिक प्रहरीले मापसे गरेर सवारी सञ्चालनगर्नेहरुलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक सय १७ वटा ट्रक, १० वटा बस, कार, जिप तथा भेन तीन सय १२, ट्याक्टर दुई सय ४५, एक हजार दुई सय १९ मोटरसाइकल, टेम्पो तथा अन्य गरेर एक सय ९३ वटा सवारीका चालकलाई मादक पदार्थ सेवन गरेको अवस्थामा कारबाही गरिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ म ५४ वटा ट्रक, बस एक, कार, जिप, भेन चार सय १५, ट्याक्टर एक सय २१, मोटरसाइकल एक हजार तीन सय ११, टेम्पो तथा अन्य एक सय ६२ वटा सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै चालू आर्थिक वर्ष २०८१/०८२ को असोज महिनासम्ममा ३० वटा ट्रक एक सय १३ वटा कार,जिप, भने, ट्याक्टर २३, मोटरसाइकल दुई सय ५४, टेम्पो तथा अन्य २७ वटा सवारीलाई कारबाही गरेको प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले जानकारी दिए । ट्राफिक प्रहरीले उक्त अवधिमा गरिएको कारबाहीबाट ४४ लाख ९४ हजार पााँच सय रुपैंया राजश्व संकलन गर्न सफल भएको जनाइएको छ ।

सडकमा मादक पदार्थ सेवन ‘मापसे’ जाँचमा उल्लेख्य उपलब्धि हासिल भएको बताउने ट्राफिक प्रहरीले यसमा भएको कडाइसँगै लागूपदार्थ सेवन गरेर गाडी चलाउने क्रम बढेको पाइएको आशङ्का गरेको छ । एक वर्षअघिबाट लागूपदार्थ सेवन अर्थात् ‘लापसे’ जाँच पनि अभियानकै रूपमा शुरु गरे पनि ट्राफिक प्रहरीले यस्तो जाँचलाई व्यापक बनाउन सकेको छैन । सीमित स्रोत साधन, महँगो खर्च र प्राविधिक कठिनाइका कारण यसलाई प्रभावकारी रूपमा अघि बढाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक सोडारीले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको असोजसम्ममा ४५ जनालाई लागू पदार्थ सेवन गरेको अवस्थामा कारबाही गरेको जनाइएको छ । मापसे जाँचमा जस्तो सबै चालकहरूलाई नभई शङ्का लागेका व्यक्तिहरूलाई मात्रै परीक्षण गर्ने गरिएको उनको भनाइ छ । यसका लागि प्रयोग हुने एउटा उपकरणलाई झण्डै १४०० रुपैयाँ पर्ने प्रहरीको भनाइ छ । प्रदेश सरकारले किट उपलब्ध गराएमा कांँकरभिट्टा क्षेत्रमा लापसे चेक जाँच गर्ने गरेको प्रहरीले जनाएको छ ।

वनभोजको समय शुरु भएकाले यो समय झापासहित विभिन्न स्थानबाट विभिन्न स्थानमा वनभोज खानेहरुको संख्यामा वृद्धि हुने भएकाले उक्त समयमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विशेष अभियान नै सञ्चालन गरेर चेकजाँच गर्ने जनाइएको छ । सम्भावित क्षेत्रको पहिचान गरेर निगरानी बढाइने बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले भने– मापसे गरेर सवारी सञ्चालन नगर्नुहोस्, साथै चालकले मापसे गरेको थाहा भए तत्काल नजिकैको प्रहरीलाई जानकारी दिनुहोस् ।

वनभोजको समयमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि राजमार्ग क्षेत्रमा विशेष निगरानी बढाइने ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय पूर्व–पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नति गर्ने काम भइरहेको छ । सडकका दायाँ–बायाँ दुवै किनारमा रहेका संरचना भत्काउने काम भएकाले सवारी सञ्चालन गर्दा विशेष ध्यान दिन ट्राफिक प्रहरीले आग्रह गरेको
छ । ट्राफिक प्रहरीले जनपद प्रहरीसंँग संयुक्त रुपमा चेकजाँच गर्ने काम गरिरहेको र सीमित स्रोत र साधनका बीच पनि
धेरैलााई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरी सफल भएको तथ्याङ्कले देखाएको छ ।

झापामा तीन वटा मात्रै ब्रेथ एनरलााइजर रहेको र सीमित संख्यामा रहेको जनशक्तिका कारण पनि सवारी चेकजाँचमा कठिनाइ हुने गरेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी साँझको समयमा मात्रै मापसे चेकजाँच अभियान चलाइ रहेपनि परिस्थिति र आवश्यकता अनुसार फेरबदल गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here