देशमा विद्यमान परिस्थितिले उज्यालो भविष्यको संकेत गरिरहेको छैन । चार दशक अघिदेखि उस्तै व्यक्ति र तिनै दलहरुको नेतृत्व र अगुवाईमा रहेर पनि देशको अवस्था सुधार हुनुको साटो झन्–झन् पछि र झन्–झन् अव्यवस्थातिर मुलुकलाई घिसारिँदैछ । यसले पछिल्लो राजनीतिक परिवर्तन नभएको अर्थात् लोकतन्त्र र गणतन्त्रप्रति नै वितृष्णा बढेर गएको छ । नेतृत्व परिवर्तन होस्, नयाँ, सक्षम र युवाहरुले सत्ता सञ्चालनको अवसर पाऊन् भन्ने चाहना पूरा नहुँदा युवावर्गभित्र आक्रोश बढेर गएको छ । मूलधार, पुराना र ठूला भनिएका राजनीतिक शक्तिप्रति जनताको विश्वास टुट्दै गएको छ । यसले भविष्यमाथि आशंका बढाइरहेको छ ।
प्रविधिको विकासले युवावर्गलाई सचेत र सजग बनाएको छ । त्यसमध्ये पनि सामाजिक सञ्जालका माध्यमहरु फेसबुक, टिकटक, भाइबर, इन्स्टाग्राम, ट्वीटरहरुको प्रयोगबाट युवावर्गले नेतृत्वप्रति आक्रोश व्यक्त गरिरहेका छन् । सत्तामा रहेकाहरु आफूबिद्धरुका त्यस्ता आक्रोशबाट सिक्नुभन्दा अपराधी घोषित गरी दण्डित गर्न उद्यत छ । यस्तै प्रविधिको प्रयोगबाट विश्वका कतिपय देशमा सरकार र व्यवस्थाबिरुद्ध आन्दोलन भएका छन् । नेता नै नभएका त्यस्ता आन्दोलनले सत्ता र व्यवस्था परिवर्तन पनि भएका छन् । मित्रदेश बंगलादेशमा भर्खरै भएको सत्ता परिवर्तन नेतृत्वविहीन आन्दोलनकै परिणाम थियो । हामीकहाँ पनि पछिल्लो समय बढेका भ्रष्टाचार, अनियमितता, अख्तियारको दुरुपयोग, ठगी तथा अपराधका शृंखला र त्यसकै उपजका रुपमा भइरहेको सामाजिक सञ्जालको आन्दोलन सीमाहिन हुने आशंका बलियो बन्दैछ ।
पछिल्लो जनआन्दोलन पश्चात बनेको संविधान र त्यही संविधान अनुसार गठन भएको तीन तहको सरकारप्रति जनताको धेरै अपेक्षा थियो । गाउँ–गाउँमा सिंहदरबार बनाउने घोषणा गरेका दलहरुले सिंहदरवार त ल्याए सँगै बेथिति, भ्रष्टाचार र अनियमितता पनि पु¥याए । गरिबी, वेरोजगारी, शिक्षा, स्वास्थ्य जस्ता समस्याहरु समाधान होला भन्ने जनअपेक्षा थियो । सेवा प्रदाय, सहज, सरल र बिना आर्थिक लेनदेन होला भन्ने आशाले पूर्णता पाएन । संघ, प्रदेश सरकार बनिए, तर केही समय मै स्वार्थको भुँवरीमा फस्दै गए । अस्थिर मात्र भएनन् सत्ता संघर्षको दलदलमा भासिँदै गए ।
सचेत युवाले राजनीतिक दल र नेतृत्वको गतिविधिलाई नजिकबाट नियालिरहेका छन् । नेताहरुको जीवनशैलीमा आएको परिवर्तन, विलाशी जीवन भोगाई, पारिवारिक स्वार्थलिप्सा, भ्रष्टाचारबाट आर्जित ऐश्वर्य, राजनीतिक अदूरदर्शिता लगायतका उपजबाट दिग्दार भएका छन् । नेताहरुमा लोकलाज, इमान, नैतिकता र सदाचार हराएका बेला जनता बिद्रोही हुनु अस्वभाविक पनि होइन । त्यही भएर बंगलादेशको उदाहरण दिँदै सामनजिक सञ्जालका पानाहरुमा दिनहुँ आक्रोश व्यक्त भइरहेका हुन सक्छन् । देश र जनताको भविष्य र स्तर माथि जाला भन्ने आशामा तुषारापात भएको समय नेतृत्व, सरकार र नेताहरुले जनभावनाको कदर गर्नुपर्छ । अन्यथा काँध हाल्ने कोही नहुन सक्छन् ।