‘स्टाइलिस’बन्ने चक्करमा चोरी

0
126

नरेन्द्र ढकाल,
झापा ।

 

मोटरसाइकल चढ्ने रहर र स्टाइलिस बन्ने धुनमा केही युवाहरु अपराधमा फस्ने गरेको पाइएको छ ।

स्टाइलिस बन्दै समाजमा देखासिखी गर्ने प्रवृत्तिका कारण अपराधका घटनामा संलग्न हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । उनले भने– घुमफिर र मनोरञ्जन गर्दै खानपिन गर्न कै लागि पनि मोटरसाइकल चोरीमा केही युवाहरु संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

चालू आर्थिक वर्ष २०८१–०८२ को यो अवधिसम्ममा इप्रका अनारमनी क्षेत्रबाट १२ वटा मोटरसाइकल चोरी भएका छन् । जसमध्ये सातवटा फेला परेका छन् । घटनामा संलग्न १८ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । प्रहरीले मोटरसाइकल फेला पारे पनि चोरीमा संलग्न फेला नपर्ने गरेको तथा मोटरसाइकल फेला परेपनि सम्बन्धित सवारीमा धनीले मुद्दा दर्ता गर्नका लागि सहयोग नगरेका कारण मुद्दा संख्या कम देखिएको जनाइएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा ९० वटा मोटरसाइकल हराएका निवेदनहरु इलाका प्रहरी कार्यालय अनारमनीमा परेका थिए । जस मध्ये १४ वटा मोटरसाइकल फेला परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । घटनामा संलग्न ६ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरेर कानूनी कारबाही गरिएको प्रहरीको विवरणमा उल्लेख छ । बिर्तामोड क्षेत्रबाट मोटरसाइकल चोरीका घटनामा वृद्धि भए पछि प्रहरीले विशेष निगरानी नै बढाएको थियो । अहिले पनि सम्भावित क्षेत्रको पहिचान गरेर हुन सक्ने चोरीका घटनामा प्रहरीले विशेष निगरानी गर्ने गरेको प्रहरी नाय उपरीक्षक विष्टले बताए ।

मोटरसाइकल चोरीका घटना वृद्धि भएपछि प्रहरीले चोरीका कारणहरु खोजी गरेको थियो । उक्त क्रममा घटनामा संलग्नहरुले साथीभाइको देखासेखी तथा स्टाइलिस बन्ने बहानामा चोरीका घटनाहरु भएको प्रहरीले अनुसन्धानमा क्रममा पत्ता लगाएको छ । कतिपय लागूऔषध प्रयोगकर्ताहरु समेत चोरीका घटनामा संलग्न भएको पाइएको छ । लागू औषधको कुलतमा फसेकाहरु लागू औषाध खरिद गर्नकै लागि पनि मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । खुल्ला सीमानाका कारण कतिपय चोरी भएका मोटरसाइकल भारतसम्म पु¥याउने गरेको पाइएको छ– प्रहरी नायव उपरीक्षक विष्टले भने– नेपालकै पहाडी जिल्ला तथा ग्रामीण भेगमा समेत चोरीका मोटरसाइकल पु¥याएर विक्री गरेको फेला पारेका छौं ।

ग्रामीण क्षेत्रमा प्रहरीको निगरानी कमी हुने र सस्तोदरमा सवारी विक्री गरेर आफ्ना इच्छाहरु पूर्ति गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पैसाकै लागि मोटरसाइकल चोरी गर्ने गरेको पक्राउ परेकाहरुले खुलाएका छन् । चोरी भएका सामान प्राप्त भएपछि चोरी गर्ने ब्यक्ति विरुद्ध निवेदन नदिँदा अभियुक्तहरुले उन्मुक्ति पाउने गरेको प्रहरी नायव उपरीक्षक विष्टको भनाइ छ । सवारी धनीले आफ्नो साधन बेवास्ता र लापरबाही गरी जथाभावी रुपमा पार्किङ गर्दा चोरीमा संलग्नहरुलाई चोरी गर्न सहज भएको प्रहरीको भनाइ छ ।

चोरीमा संलग्न विरुद्ध जाहेरी दिएर कानूनी प्रक्रियामा सहयोग गर्ने हो भने धेरैले सजाय पाउने थिए– प्रहरी नायव उपरीक्षक विष्टले भने– तर, आफ्नो सामान पाए पछि कतिपय सवारी धनीहरु कानूनी प्रक्रिया भन्दा पनि आफ्नो सामान फिर्ता कसरी हुन्छ भन्ने मात्रै सोच्नु हुन्छ, त्यसैले हामीलाई घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन कठिनाई भएको छ ।

लागू औषधको कारोबार तथा प्रयोगमा वृद्धि भएसँंगै झापामा अपराधका घटनाहरु बढी रहेका छन् । मोटरसाइकल चोरीको एउटा कारक पनि लागूऔषध भएको प्रहरीको निष्कर्ष छ । मोटरसाइकल चोरीमा संलग्न भएका कतिपयले मोबाइल खरिद, घुमफिर, खानपिन तथा मनोरञ्जनमा खर्च गर्ने गरेको पााइएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक विष्टले भने– सस्तोदरमा सवारी पाएँ भनेर खरिद नगर्नुहोस्, उक्त सवारी चोरीको पनि हुन सक्छ । शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै उनले भने –आफ्नो सवारी साधनको सुरक्षाका विषयमा आफैं सचेत हुनुपर्छ ।

चोरीका घटनामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिसको संलग्नता पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउनका लागि सवारी धनीले जाहेरी दिएमा मात्रै सहज हुने प्रहरीको भनाइ छ । सवारी नभेटिएसम्म कानूनी कारबाहीमा जान्छु भन्ने कतिपय सवारी धनीहरु सवारी फेला परेपछि कानूनी प्रक्रियामा जाान नमान्ने गरेको प्रहरी नायव उपरीक्षक विष्टको भनाइ छ । बिर्तामोड क्षेत्रमा प्रहरी निगरानी तथा सीसी क्यामेराको निगरानीमा समेत कतिपय चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here