पूर्वाञ्चल राष्ट्रिय दैनिक आजदेखि ३०औं वर्षमा प्रवेश गरेको छ । यी सबै उतारचढाव पार गरेर झापामात्र नभएर कोशी प्रदेशभरि नै आफ्नो उच्च स्थान बनाउन सफल नेपालको सुदूरपूर्वी जिल्ला झापाको व्यापारिक केन्द्र बिर्तामोडबाट प्रकाशन भइरहेको तीन दशकको यात्रामा प्रवेश गरिरहँदा एक परिपक्व र जिम्मेवार संस्थाको रूपमा स्थापित भएको छ । पूर्वाञ्चल दैनिक आफ्नो गधापच्चिसी उमेर पार गरेर परिपक्व उमेरमा पुगेको छ । पूर्वाञ्चल दैनिक ३०औं वर्षमा पाइँला टेक्दा पत्रिका सञ्चालकले र यससँग आबद्ध तमाम सञ्चारकर्मी एवम् सम्पादक मण्डलले बिना स्वार्थ र बिना पूर्वाग्रह पूरा गरेको आफ्नो २९ वर्षे यात्राको समीक्षा, समालोचना र मूल्याङ्कन गर्न आवश्यक छ । प्रेस जगतको कुरा गर्ने हो भने एउटा लामो यात्रा पूरा गरेर मात्र यहाँ आइपुगेको हो ।
नेपालको संविधान २०७२ ले २५ वर्ष पूरा गरेकाले मात्र प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य हुन सक्ने प्रावधान राखेको छ । पूर्वाञ्चल दैनिक अब शैशवावस्थामा छैन । यो पत्रिकाले अन्य संस्थाले झैं आरोहअवरोह पार गरेको छ । आर्थिक, राजनीतिक, सामाजिक लगायत विविध प्रकारका चुनौती स्वीकार गरेर मात्र सञ्चार क्षेत्र विकसित र विस्तारित हुन सम्भव हुन्छ । पत्रपत्रिका स्थापना र सञ्चालन गर्न त्यति सजिलो छैन । पत्रिका स्थापनाका शुरुका महिना र वर्षहरूमा पत्रिका आम पाठकबीचमा स्थापित गर्ने र प्रतिष्ठा तथा नाम कमाउन पनि एउटा हुटहुटी र उत्साहले काम गरेको हुन्छ । तर, समय बित्दै जाँदा उमँग र उत्साहमा पनि कमी आउन सक्छ, पत्रिकामा संलग्न मानिसका बीचमा पनि लक्ष्य, कार्यशैली र प्रस्तुतीकरणका विभिन्नताका कारण अनेकता र विग्रह देखा पर्न सक्छ । तर, उतारचढावमा समालिएर पूर्वाञ्चल दैनिक अघि बढिरहेको आम सचेत पाठकलाई थाहा छ । इतिहासलाई हामीले बिर्सनु हुँदैन ।
वर्तमान समयको कुरा गर्ने हो भने सञ्चार क्षेत्र चुनौतीपूर्ण छ । वर्तमान समयमा पत्रकारहरू कुनै न कुनै पार्टीका सदस्य हुने वा उनीहरूप्रति सहानुभूति राख्ने खालका छन् । विशेषगरी यो प्रवृत्ति छापा पत्रिकाहरूको हकमा बढी देखिने गर्दछ । पत्रिकाहरूले कुनै दल विशेषको पृष्ठपोषण गरेका छन् । दुर्भाग्य नै हो पत्रकारहरू आस्थाका आधारमा विभाजित भएको पाइन्छ । यतिसम्म कि तिनीहरू आफूलाई व्यावसायिक भन्न पनि रुचाउँदैनन् । उनीहरू राजनीतिक पार्टीका युनियन वा भातृ संस्था जस्ता देखिन्छन् । कुनै पनि दल विशेषको पक्षमा वकालत नगर्ने र स्वतन्त्र, साझा सञ्चारमाध्यमको रूपमा व्यावसायिक पत्रकारिताको उद्देश्यका साथ २०५२ सालमा पूर्वाञ्चल दैनिकको प्रकाशन शुरु भएको थियो ।
समाजको बेथिति, विकृति र विसङ्गतिका बिरुद्धमा र जनताको पक्षमा कलम चलाउने सङ्कल्पका साथ स्थापित पूर्वाञ्चल राष्ट्रिय दैनिक आज मंसीर १ गतेदेखि २९औं वर्ष सफलतापूर्वक पार गरेर ३०औं वर्षमा प्रवेश गरेको छ । आज यो पत्रिका लाखौं पाठकको स्नेहको रक्षाकवचभित्र रहेर लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा अविचलितरूपमा क्रियाशील छ । पूर्वाञ्चल दैनिक सदैव जनताका मौलिक हकअधिकारका पक्षमा उभिँदै आएको छ । यो पत्रिका दर्जनांै पटक निरङ्कुशताको बुटले थिलथिलो हुनु परेको इतिहास छ । यो माथि धेरै पटक प्रहरी प्रशासन र सेनाको वक्रदृष्टि परेको हो ।
लोकतन्त्र, मानवाधिकार र प्रेस स्वतन्त्रता माथि राज्यका नालायक शासकहरूले लाठी वर्षाउँदा र विचार अभिव्यक्ति माथि अतिक्रमण हुँदा त्यसका बिरुद्धमा सतीसाल झैं ठिङ्ग उभिने इतिहास बनाएको यो पत्रिका राजनीतिक, धार्मिक क्षेत्र वा कर्मचारीतन्त्रबाट भ्रष्ट आचरणको प्रदर्शन हुँदा जनतालाई सु–सूचित गर्ने, जनचेतनाको अभिवृद्धि गराउने र जनताको अधिकार प्राप्तिका निम्ति भएका संघर्षलाई सघाउ पु¥याउने दायित्वबाट कहिल्यै विमुख भएको छैन । राष्ट्रको अस्मिता माथि आघात पुगेको अवस्थामा पनि मुलुकको स्वत्व र अस्मिता रक्षाका लागि आवाज नउठाउने शासकहरूका खिलापमा राष्ट्रप्रति समर्पित रहँदै लोककल्याणकारिताको माध्यमबाट अघि बढ्न आवश्यक छ भन्ने सन्देश प्रवाह गर्न यो पत्रिका कहिल्यै चुकेको छैन । शासक वर्गको गुलामीमा होइन, शक्तिकेन्द्रको जीहजुरीमा होइन, शिक्षित र चेतनशील पाठकहरूको निगरानीमा सदैव जनताको हितका लागि प्रयत्नशील रहँदै गर्दा आफूभित्रका कमी–कमजोरीलाई चिनेर आत्मालोचित हुँदै अघि बढिरहेको छ यो– पत्रिका । नैतिक आदर्शबाट अभिप्रेरित उत्साही टिमबाट चलेको यो अखबार मोफसलमा रहेर पनि जनताको आशा र भरोसा बनेको छ भने जनताको आशा र विश्वासमै टिकेको पनि छ । यो पत्रिकाको कुनै राजनीतिक दल विशेषप्रति कुनै सम्बन्ध छैन । तर, कहिलेकाहीँ त्यस्तो देखिन सक्छ । अथवा कुनै दल विशेषलाई आफ्नो पत्रिका हो कि भन्ने लाग्न सक्छ । राजनीतिक आस्था र पूर्वाग्रह छाड्न नसकेकै कारण कतिपय पत्रिकाहरूले कुनै दल विशेष र दलको पनि गुट–उपगुटको वकालत गर्दै आएका छन् । तर, सँगै राजनीतिक व्यवस्था परिवर्तनमा भने पत्रिकाहरूको भूमिका उल्लेखनीय रहने गरेको छ ।
लोकतन्त्रको स्थापनाका लागि पनि पूर्वाञ्चल दैनिकको योगदान उल्लेखनीय रहेको उज्यालो इतिहास छ । पूर्वाञ्चल दैनिक मानवअधिकार पक्षधर हो, लोकतन्त्र पक्षधर हो र जनताको पक्षधर हो । लोकतान्त्रिक विचार निमिट्यान्न पार्ने हरेक हर्कतका बिरुद्धमा पूर्वाञ्चल दैनिक उभिँदा यसले धेरै उतारचढावहरू व्यहोर्नुप¥यो । पत्रकारहरुलाई सिध्याउने र पत्रिका बन्द गर्ने धम्की पनि आए, तर जनताको स्नेह र पाठकको विश्वासका आधारमा नै यसले आफ्ना चुनौतीपूर्ण पाइँला अघि बढायो र यो क्रम जारी छ । धेरैजसो पत्रपत्रिकाहरू पार्टी वा पार्टीभित्रका गुट विशेषसँग धेरथोर, प्रत्यक्ष वा परोक्ष रूपमा आबद्ध हुने गरेका छन् । तर, पत्रपत्रिकाले सूचना प्रवाहमा निष्पक्षता देखाउनुपर्छ भन्ने मूल–मान्यतालाई आत्मसात गर्दै अघि बढेको यो पत्रिका सत्य, विश्वसनीय, सन्तुलित, स्वतन्त्र रहने र आफ्नो जिम्मेवारी र अरुको सम्मानको सुरक्षा गर्नुपर्छ भन्ने मान्यताबाट अनुप्राणित छ आजसम्म र यो क्रम जारी रहनेमा विश्वास गर्न सकिन्छ ।
पत्रकारले आफूलाई निश्चित आचारसंहितासहित हिँडाउनुपर्छ भन्ने मूलमन्त्रका आधारमा सामाजिक मर्यादा, नैतिकता र स्वच्छता पत्रकारिताको धर्म हो भन्ने कुरामा विश्वास गर्छ यो पत्रिका । पत्रकारिताका आधारभूत मान्यताबाट आलोकित हुँदै पूर्वाञ्चल दैनिक नित्यनिरन्तर अघि बढिरहन्छ भन्ने आशा गर्न सकिन्छ । हजारौं–लाखौं शुभचिन्तक र चेतनशील पाठक वर्गबाट प्राप्त सल्लाहसुझाव, हौसला, आलोचना, सहयोगको आधारमा उभिएर यसले विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगतका कदमहरु चाल्ने हो । अर्को महत्वपूर्ण कुरा यससँग आबद्ध सम्पादक, कर्मचारी, सम्वाददाता, प्रतिनिधिहरूको पारिश्रमिकको प्रश्न पनि महत्वपूर्ण हो । सकारात्मकताबाट पाठ सिक्दै पत्रिकालाई अनलाइन संस्करणसहित अझ बढी परिष्कृत बनाउन जरूरी छ । विगतका अत्यन्त जटिल, कष्टप्रद र चुनौतीपूर्ण यात्राका श्रृंखलाहरू छिचोलेर ३०औं वर्षमा पाइँला टेकेको पूर्वाञ्चल राष्ट्रिय दैनिक राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनताका पक्षमा अझ दृढतापूर्वक उभिने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको परिकल्पनालाई यथार्थ रूपमा उतारेर जनताको खुशहाली बहाल गर्न लागीरहने विश्वास गर्न सकिन्छ ।
पूर्वाञ्चल दैनिकले अझै धेरै गर्न बाँकी छ । बदलिँदो परिस्थिति र व्यावसायीकरणको प्रभावसँगैको परिवर्तित सन्दर्भमा आफ्नो गन्तव्य निर्धारण गर्नुपर्ने बेला आइसकेकाले पनि पूर्वाञ्चल पत्रिकाले आफूलाई रूपान्तरण गर्न जरुरी छ । यसका प्रकाशक, सम्पादक, बजार प्रतिनिधि, व्यवस्थापक र समाचारदाताले पत्रिकाको भविष्य र आफ्नो भविष्यलाई प्रतिस्पर्धाको बजारमा टिकाउने र अघि लैजाने हो भने नयाँ ढङ्गले सोच्न जरुरी छ । पत्रिका प्रकाशन, वितरण, व्यवस्थापन, क्षेत्र विस्तार लगायतका आयामहरूलाई नयाँ तरिकाले पुनर्सङ्गठित गर्न आवश्यक छ । आइपर्ने चुनौतीप्रति सचेत नहुने हो भने र नयाँ ढंगबाट नसोच्ने हो भने यथास्थिति मै रमाइरहने खतरा बढेर जान्छ ।
अवश्यांभावी अवनतितिर जाने खतरा बढ्छ । चुनौतीहरूको सामना गर्नका लागि फेरि एक पटक पूर्वाञ्चल दैनिकका सबै पहलु र पक्षमा फरक, विशिष्ट र नवीनतासहित सोच्न, विश्लेषण गर्न र अझ सृजनशील मार्ग पहिल्याउन आवश्यक छ । चिन्तनले माथि लैजान्छ, चिन्ताले चितामा पु¥याउँछ । पूर्वाञ्चलले आफ्नो उज्यालो छवि अझै उजिल्याउन आवश्यक छ । अब यो पत्रिका प्रदेशस्तरीय हुँदै राष्ट्रिय स्तरको बन्न सोच्ने बेला भएको छ । प्रतिस्पर्धा प्रदेशस्तरीय पत्रिकासँग वा राष्ट्रिय पत्रिकासँग गर्ने ? यो अहम् प्रश्न हो । कामचलाउ र घिसेपिटे तरिकाले मात्र अब यो पत्रिकालाई सञ्चालन गरिरहनु हुँदैन । आवश्यकता अनुरूप नीति, संरचना र सञ्चालन प्रक्रियामा फेरबदल ल्याउनुपर्ने भएमा त्यसका लागि पनि तयार हुनुपर्छ ।
इतिहासप्रति गर्व छ, तर इतिहासको ब्याज खाएर वर्तमान बन्दैन, भविष्य त झन् बन्ने कुरा भएन । हामीले आजका चुनौतीसँग मुकाबिला गर्नुपर्छ । तसर्थ विकसित तकनिकीसँग साक्षात्कार गर्दै, नवीनतालाई आफूसँग समाहित गर्दै पूर्वाञ्चल दैनिक अझ विस्तारित र व्यावसायिक हुन जरूरी छ । पूर्वाञ्चल दैनिक ३० औ वर्षमा प्रवेश गरेको यो खुशीको गौरवमय क्षणमा सबैमा शुभभाव छ । पत्रिका अझ उन्नत, परिस्कृत, जनमुखी, विकासमुखी, अन्यायविरोधी र जनताको आडभरोसा बन्न सकोस् । उज्ज्वल भविष्यको हार्दिक शुभकामना छ पूर्वाञ्चल दैनिक परिवारमा !