मिलनसार सहकारीको १५ औं सभा

0
16

बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्था लि.ले सेयर सदस्यहरूको लागि सेवा सुविधा थप गर्दै लगेको जनाएको छ ।

संस्थाको शनिबार सम्पन्न १५औं वार्षिक साधारण सभामा सदस्यहरूको लागि विभिन्न सेवा सुविधा थप गरिएको जानकारी दिइएको हो। संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाद्वारा प्रस्तुत प्रतिवेदनमा समुदाय लक्षित विभिन्न कार्यक्रमहरु समावेश गर्नुका साथै सदस्यहरुलाई व्युटिसियन, सिलाई बुनाई, कम्प्युटर लगायत स्वरोजगारमूलक तालिम सञ्चालन गरिने उल्लेख छ ।

सदस्यहरूका लागि अटोरिक्सा, ई-रिक्सा, इलेक्ट्रोनिक सामान आदिमा ऋण प्रवाह गर्नुका साथै सदस्यहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त एसएमएस, मोबाइल बैंकिङ, फोन पे, क्युआर कोड जस्ता सेवाहरु थप गरिने उल्लेख गरिएको छ । कृषक सदस्यहरूका लागि विभिन्न तालिम दिनुका साथै सहुलियत कर्जासमेत उपलब्ध गराइने उनले बताए । संस्थाको अर्जुनधारा ११ बुट्टाबारीमा रहेको जग्गामा भवन निर्माण गरी उत्पादनमूलक व्यवसाय सञ्चालन गरिने समेत अध्यक्ष बास्कोटाले जनाएका छन् ।

सेयर सदस्यहरू बिरामी भई उपचार गर्नुपरेमा उपचार खर्च साथै सदस्यहरूको मृत्यु भएमा ५० हजारसम्म सरयबापत रकम उपलब्ध गराउँदै आएको अध्यक्ष बास्कोटाले जानकारी दिए । गत आर्थिक वर्षमा दुई जनालाई सरय र ५ जनालाई उपचार खर्च उपलब्ध गराइएको उनले जानकारी दिए । बास्कोटाले मिलनसारका सदस्यहरूले बिर्तामोडस्थित अन्जली अस्पतालमा उपचार गराएमा २० प्रतिशत छुटको व्यवस्था गरिएको समेत जानकारी दिएका छन् ।

संस्थाको दिगोपनाका लागि विभिन्न कोषहरूलाई मजबुत बनाउँदै लगेको समेत अध्यक्ष बास्कोटाले जानकारी दिए । गत आवसम्म महिला ८८१ जनासहित २६०९ जना शेयर सदस्य रहेको मिलनसार साकोसको शेयर पूँजी २ करोड १५ लाख ३७ हजार छ सय रुपैयाँ रहेको, ३ करोड ६६ लाख ६४ हजार ८६१ रुपैया बचत संकलन गरेको र ५ करोड ८८ लाख ९० हजार ५३६ रुपैयाँ ऋण लगानी भएको ऋण उपसमिति संयोजक मानकुमार श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट बचतकर्ताहरु गुलाब रिजाल, दामोदर (सागर) गौतम र हरिप्रसाद राजवंशी, उत्कृष्ट बालबचतकर्ता निशा दनुवार, उत्कृष्ट महिला बचतकर्ता निर्जला खनाललाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै रञ्जित रजक, राजु खनाल र पुष्पाकुमारी राजवंशीलाई उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी पुष्पलता अर्याल र सदस्यहरूका सन्ततिमध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने सानी रजकलाई नगदसहित सम्मान गरिएको थियो ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ उज्यालो साकोसकी अध्यक्ष सुष्मा पौडेल, बुद्धनगर साकोसका सचिव देवी आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक चन्द्रप्रकाश बास्कोटाले प्रस्तुत गरेका थिए । प्रमुख अतिथि ढकालले सहकारीप्रति सरकारले चालेको कदमका कारण यहाँ भित्रको फोहोर बढारिदै स्वर्णिम युग शुरु हुन लागेको बताए । सिके प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रम सचिव कैलाश पोखरेलले सञ्चालन गरेका थिए भने सहभागीलाई उपाध्यक्ष अजय देवले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here