सधैँ बीउको चिन्ता : किसान भन्छन् ‘ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्’

0
17

महोत्तरी,

देशका धेरैजसो ठाउँमा अहिले धान भित्र्याउने चटारो छ । धान भित्र्याएका किसान गहुँ छर्ने तयारीमा छन् । तर नयाँ बाली लगाउने बेला भयो कि किसानलाई बीउको चिन्ता हुन्छ ।

मौसमअनुसार गहुँ छर्ने तयारी गर्ने बेला भयो तर बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता भइरहेको महोत्तरीको बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतोको गुनासो छ । उहाँ भन्नुहुन्छ,‘ बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन् ।’ बेलैमा गहुँ छर्न पाइँदा मङ्सिर २२ भित्र सक्नुपर्ने हुँदा अहिलेदेखि नै बीउको चिन्ता परेको उहाँ बताउनुहुन्छ ।

अन्नबालीमा धान होस् कि मकै या गहुँ, तरकारीमा आलुलगायतका बालीको बीउ भरपर्दो मानेर लगाउन पाउने अवस्था नरहेको अर्का किसान भोला महतोको गुनासो छ । पालिकामा कृषिका शाखा छन् तर बाली लगाउने उपयुक्त बेलामा नियमित रूपमा बीउ पाइने अवस्था नभएको किसानले बताउँदै आएका छन् ।

भरपर्दो बीउ उचित मूल्य तिरेर आवश्यक मात्रामा पाउने सुनिश्चितता भए ढुक्क हुन सकिन्थ्यो महोत्तरीकै गौशालाका किसान अरुण कुशवाहा बताउनुहुन्छ ।

आफ्नो ठाउँ र नजिकैको बजारमा बीउ नपाउँदा महोत्तरीका किसान भारतीय बजारमा निर्भर छन् । तर भारतीय बजारबाट ल्याइएको बीउमा कैयौँ पटक ठगिएको र क्षति भोग्नुपरको धेरैजसो किसानको अनुभव छ ।त्यहीँ पनि भारतीय बजार नै जानपर्ने बाध्यता रहेको बलवा–१० रौजाबजारका मंसुल कवारी बताउनुहुन्छ ।

तीन तहका सरकार भए पनि कृषि र किसान प्राथमिकतामा नपर्दा सधै सास्ती भोग्नुपरेको कृषिक्षेत्रको सरकारी सेवामा सह–सचिवबाट अवकाश लिएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल बताउनुहुन्छ ।

किसानले राहत पाउन वा कुनै सल्लाह लिन पनि कृषि प्राविधिक नभेटाउने गरेको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here