ओमानमा महिला कामदारले के गर्ने ? घरेलु महिला कामदार सम्बन्धी प्रश्नोत्तर

0
11

योगेन्द्र योगी
बिराटनगर,

ओमानको मस्कटमा रहेको नेपाली दूतावासले घरेलु महिला कामदार सम्बन्धी प्रश्नोत्तर दिएको छ। कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा ओमान प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन।

कफिलको अनुमति बिना तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नविकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन।

कफिलले करारबमोजिम सेवा सुविधा नदिएमा वा भिसा नवीकरण नगरेमा वा कम्पनी समस्याग्रस्त भएमा श्रम अदालतमा गुनासो गर्न सकिन्छ।तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन।यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ जसबाट कामदार ठूलो समस्यामा पर्ने हुन्छ।

यसरी कामदारहरू समस्यामा परेको मौका हेरी ओमान मै रहेका कतिपय नेपाली तथा अन्य मुलुकका व्यक्तिहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त रहेको जनाएको छ।

यस्तो छ दूतावासको प्रश्नोत्तर :-

ओमान लगायतका खाडी मुलुकहरूमा घरेलु कामदारका रुपमा काम गर्न नेपाल सरकारले बन्देज गरेको छ तर के भिजिट भिसामा आएर काम गर्न मिल्छ ? भिजिट भिसा वर्किङ भिसामा परिवर्तन हुन्छ ?

— भिजिट भिसा घुम्ने प्रयोजनका लागि हो । तसर्थ यस्तो भिसा लगाएर आएपछि निश्चित समय घुमेर फर्कनु पर्दछ । ओमान सरकारबाट जारी भिसा नीति अनुसार भिजिट भिसा वर्किङ भिसामा परिवर्तन हुदैन ।

भिजिट भिसामा तोकिएको समय भन्दा बढी समय बसेको अवस्थामा कस्तो जरिवाना हुन्छ ?

भिसामा तोकिएको म्याद भन्दा बढी समय विदेशी मुलुकमा बस्न मिल्दैन । यदि बसेको खण्डमा प्रति दिन १० ओमानी रियालका दरले र अधिकतम ओमानी रियाल ५०० जरिवाना लाग्दछ ।

कस्ता घरेलु महिला कामदारले बिदामा नेपाल गइ स्वीकृत लिएर ओमान फर्कन सक्छन् ?

सन् २०२४ को सेप्टेम्बर ३० सम्म ओमान आएका घरेलु महिला कामदारहरू बिदामा नेपाल गएर सोही स्पोन्सरको घरमा फर्कन चाहेमा राजदूतावासबाट अनुसूची ८ को फारम भरी दूतावासको सिफारिसमा पुनःश्रम स्वीकृति लिन सक्ने प्रावधान रहेको छ ।

अनुसूचि –८ सिफारिसको लागि के कस्ता कागजातहरू चाहिन्छ ?

 निम्नानुसारको कागजात तयार गरी पेश गर्नुपर्दछः
१. करार सम्झौता
२. कमिटमेन्ट लेटर
३. लाइफ इन्सुरेन्स र मेडिकल इन्सुरेन्स गरेको प्रमाण
४. कामदारको पासपोर्ट, भिसा र आइ. डि.कार्डको प्रतिलिपि
५. सन् २०२४ को सेप्टेम्बर ३० भन्दा अगाडि ओमान आइसकेको खुल्ने गरी पासपोर्टमा लागेको आवागमन छाप ।
६. रोजगारदाताको ओमानी परिचयपत्रको प्रतिलिपि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here