अर्जुनधारा ।
जेसीज सप्ताह–२०२४ अन्र्तगत अर्जुनधारा जेसीज शनिश्चरेको आयोजनामा मंगलबारदेखि विविध कार्यक्रम शुरु भएको छ ।
अर्जुनधारा–४स्थित लक्ष्मी आधारभूत विद्यालयको प्राङ्गणमा जेसीजका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त सप्ताह कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष अम्बरबहादुर कटुवालले उद्घाटन गरेका थिए ।
सोही दिन स्थानीय विद्यालयमा अध्धयनरत् विद्यार्थीहरुलाई ३२ जोर जुत्ता हस्तान्तरण , दहीझोडा फुटबल क्लब, रातेखाल फुटबल क्लब, रातेखाल क्रिकेट टिम, फूलबारी फुटबल टिम र बागेडाँगीमा आबद्ध खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण र निःशुल्क आधारभूत कम्प्युटर तालिमको उद्घाटन गरिएको थियो ।
जेसीजले हस्तान्तरण गरेको खेलकुद सामग्रीहरुमा फुटबल, किप्पर ग्लोब्स, कोन, मार्कर, क्रिकेट बल, ग्लोब्स, भलिबल, नेटलगायत रहेका छन् । त्यसैगरी अर्जुनधारा–८ शनिश्चरे बजारस्थित फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.मा सञ्चालन हुने निःशुल्क आधारभूत कम्प्युटर तालिममा २० जना सहभागी हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
त्यस्तै जेसीजले सप्ताह कार्यक्रम अन्र्तगत बुधबार(भोलि) अर्जुनधारा–४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, बिहीबार(पर्सी) अर्जुनधारा–७स्थित अर्जुनधारा जेसीज शनिश्चरे कार्यालयसम्म पुग्ने जेसीज मार्गको उद्घाटन र मंसीर ११ गते अर्जुनधारा–२ नं. वडा कार्यालय प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रमका मूल संयोजक भवानी बरालले जानकारी दिए ।
जेसीजका सहसचिव एवम् कार्यक्रम संयोजक रमेश विष्टको संयोजकत्वमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक देवीनारायण विष्टलगायतले मन्तव्य राखेका थिए । सप्ताह कार्यक्रमका मूल संयोजक बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन जेसीजका सचिव गौरव भण्डारीले गरेका थिए ।