तेइस वर्षदेखि मौरीपालनमा थापा

0
28

दमौली (तनहुँ)।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ ।

त्यतिबेला घरेलु कार्यालयले मौरीपालनसम्बन्धी चारदिने तालिम दिएपछि यसतर्फ आकर्षित भएको थापाले बताउनुभयो । दुई घारबाट मौरीपालन सुरु गर्नुभएका थापाले तालिम लिएपश्चात् मौरीपालन गर्न सकिन्छ भन्ने आँट आएको बताउनुभयो ।

शिक्षण पेसासँगै मौरीपालनलाई निरन्तरता दिँदै आउनुभएकाले उहाँ हाल शिक्षण पेसाबाट अवकाशपश्चात् पूर्णकालीन रुपमा मौरीपालनलाई अगाडि बढाउँदै आउनुभएको छ । मौरीसँग खेल्दा सिकेको अनुभव अन्य कृषकलाई सिकाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मौरीसँग खेल्दै गर्दा मौरीले धेरै कुरा सिकायो, अहिले आफूले सिकेको सीप अरू कृषकलाई बाँड्ने गरेको छु ।”

कुनै समय ८२ घारसम्म रहेको उहाँसँग हाल ४२ मौरी घार रहेको थापाको भनाइ छ । एक वर्षमा एक हजार एक सय किलोसम्म मह उत्पादन भएको बताउँदै थापाले वातावरण राम्रो भएको खण्डमा मह उत्पादन उच्च हुने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग माग उच्च भएका कारण पु¥याउनै सकिएको छैन, यहाँ उत्पादन भएको मह मलेसिया, बेल्जियमसम्म जाने गरेको छ ।” थापाका अनुसार मह प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

कुनै बेला मह बिक्री नभएको अवस्था पनि थियो, तर अहिले माग निकै उच्च रहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा मह बिक्री गर्न लैजान्थ्यौँ, बिक्री नभएर घर फिर्तासमेत ल्याउँथ्यौँ । तर अहिले अवस्था बदलिएको छ ।” कुनै बेला मौरीले शान्तसँग काम गर्ने तर कुनै बेला बिच्किएर टोक्नेसमेत गरेको उहाँको अनुभव छ ।

थापाका अनुसार यहाँका अधिकांश कृषक मौरीपालनमा लागेका छन् । यहाँ उत्पादित महको माग विदेशमा समेत हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध ४१ घरधुरी मौरीपालनमा छन् । थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ । थापाले भन्नुभयो, “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन् ।” यहाँका कृषकले याममा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् । मह उत्पादनका तीन याम उपयुक्त मानिन्छ ।

दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ । एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ ।”

कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकका रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ । एक हजार एक सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताउनुभयो ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here