झापा ।
सामाजिक सञ्जाल फेसबुकको नक्कली आइडी बनाएर महिलाको चरित्र हत्या गर्ने एक भारतीय इलाममा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित नगाऊँ कोलियावर सुलुङ ढोलपानीका २१ वर्षीय प्रशान्त दास रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दासले फेसबुक आइडीबाट चिनजान भएका इलामको सूर्योदय नगरपालिकाका–१ की एक महिलाले चलाउने गरेको फेसबुकबाट निजको परिवारको फोटो तानी महिलाका अन्य आफन्तको नक्कली फेसबुक आइडी बनाएको खुलेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
‘नक्कली आइडीबाट ती महिला समेतको फोटो पोस्ट गरी चरित्रहत्या गरी दुःखअश्लील फोटो पठाएको पाइएको डिएसपी राईले बताए । पक्राउ गरिएका दासविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम जिल्ला अदालत इलामबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाम प्रहरीले जनाएको छ ।