५८ वर्षअघि आफूले अध्यापन गरेको विद्यालय पुगेपछि…

0
2

अर्जुनधारा ।

विद्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वारदेखि मञ्च अगाडिको भागको दुवैतर्फ हातमा पुष्प गुच्छा लिएर स्वागतमा बसेका लामबद्ध विद्यार्थीहरु । स्काउटसँगै नीलो, रातो, सेतो, पहेंलो र हरियो रङको सदनस्तरिय पोशाक, विभिन्न जातीको सांस्कृतिक भेषभुषा र विद्यालय पोशाकमा सजिएका विद्यार्थीहरुसँगै शिक्षकहरुको उत्साहजनक सहभागीताले रोमाञ्चक बनेको थियो विद्यालयको वातावरण ।

५८ वर्ष अघि शान्ति कोर स्वयंसेवक शिक्षक(पीस कर्पस् भोल्यून्टीयर टीचर)को रुपमा १५ महिना कार्यरत् रहेकी अमेरिकी नागरिक बेथ प्रेन्टिस(८१) आफ्नो परिवारको साथमा विद्यालय प्राङ्गणभित्र प्रवेश गरेसँगै उनको स्वागतमा उपस्थित सबै हर्षीत मुद्रामा देखिएका थिए ।

माथि उल्लेख भएको प्रसङ्ग झापा जिल्लाको दोस्रो सामुदायिक विद्यालय अर्जुनधारा–८ शनिश्चरे बजारस्थित शनिश्चरे माध्यमिक विद्यालय प्राङ्गणमा बुधबार देखिएको दृश्य हो । विद्यालयका तत्कालिन् सचिव हरिविलास वनको समन्वयमा वि.सं.२०२३ साल माघदेखि २०२४ सालको चैत महिनासम्म बेथ र बोब पे्रन्टिस दम्पत्ती विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा कार्यरत् रहेका थिए ।

वन परिवारसँगको पारिवारिक सम्बन्धका कारण मंगलबार मात्र अर्जुनधारा–९स्थित वन परिवारको निवासस्थानमा आएका बेथ प्रेन्टिस विद्यालयमा पनि आउने खबर आफूहरुलाई प्राप्त भएपछि विद्यालयले उनको सम्मानमा उक्त कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले जानकारी दिए ।

कार्यक्रममा बेथ प्रेन्टिससँगै उनकी बहिनी क्यारोल प्रेन्टिस, भदै बामा, नाति जोन मेड भेनकोर्ट र नातिनी एला मेड भेनकोर्ट, विद्यालयका अक्षयकोष दाता परिवारसमेत रहेका इन्दिरा वन, किरण वन, निर्जला वन, मोनिका वन, वडाध्यक्ष भीष्म मिश्रलगायतको सहभागिता रहेको थियो । प्रधानाध्यापक गौतमले विद्यालयको वर्तमान अवस्था बारे जानकारी गराएको कार्यक्रममा विद्यार्थीहरुले उनको सम्मानमा म्यूजीकल पीटी, सामुहिक नृत्य, मारुनी नृत्य, सन्थाल नृत्य प्रस्तुत गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषा नै प्रयोग गरेका उनले अमेरिकी संस्कृति भन्दा फरक नेपाली संस्कृति आफूलाई राम्रो लागेको प्रतिक्रिया दिइन् । अध्यापनको क्रममा जीवनको १५ महिना विद्यालयमा खर्चेका उनले आफूबाट केही गल्ती भए माफी दिन अनुरोध गरेकी थिइन् ।

त्यसैगरी उनले विद्यालयका तत्कालिन् सचिव हरिविलास वनको स्मृति र प्रधानाध्यापक केदारमणि ढकालको सम्मानमा उपहार स्वरुप साना विद्यार्थीहरुका लागि एक सेट राउण्ड रोविन र चार वटा पिङसहितको एक सेटबापत नगद ५४ हजार रुपैयाँ सहयोग रकम विद्यालयका प्रधानाध्यापक गौतमलाई हस्तान्तरण गरेकी थिइन् ।त्यस्तै उनले केही पुस्तकहरु पनि विद्यालयका प्रधानाध्यापक गौतमलाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा सहभागी तत्कालिन् प्रेन्टीसका विद्यार्थी हाल विद्यालयका सेवानिवृत्त शिक्षक हस्त परियारले गुरुको सम्मान कार्यक्रममा आफू सहभागी हुन पाउँदा रमाइलो भएको प्रतिक्रिया दिए । आफ्नो सम्बोधनको क्रममा कक्षा–८मा साथीहरुसँगै आफूले पनि ‘डाइरेक्ट’ भन्ने शब्दको प्रयोग गर्दा गुरुले ‘नो डाइरेक्ट’ ‘डिरेक्ट’ भनेर अथ्र्याएको सधैं स्मरणीय रहेको उनले बताए ।

प्रधानाध्यापक गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनलाई विद्यालयकोतर्फबाट सम्मान पत्रसहित मायाको चिनो पत्र प्रदान गरिएको थियो । शिक्षक सविता सुवेदीले स्वागत मन्तव्य र अर्का शिक्षक तारा आचार्यल संस्कृति भाषामार्फत् स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक पूण्य सुवेदीले गरेका थिए ।

प्रस्तुतीः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here