पार्थ मण्डल,
भद्रपुर ।
भद्रपुर नगरपालिका–४ का शक्तिमान मगरले घर छेउकै १८ कट्ठा जमिनमा धान रोपे । सरकारी अनुदानको ‘बहुगुनी’ र आफैंले किनेर ल्याएको ‘रञ्जित’ जातको धान हलक्कै बढ्यो । आफैंले बीऊ किनेर रोपेको रञ्जित धान फल्यो, तर, अनुदानको बहुगुनी धानमा बाला त लागे, तर भुसमात्रै फल्यो । त्यसैकारण, अब के खाएर परिवार पाल्ने भन्ने चिन्तामा मगर छन् ।
एउटै खेतमा रोपेको बहुगुनी धानमा दाना छैन, रञ्जितमा बालाभरि दाना छ– मगरले धानखेती देखाउँदै भने– राज्यले गुणस्तरहीन बीऊ बाँडेकाले कृषकको मेहनत, लगानी र परिश्रम खेर गयो । यसको क्षतिपूर्ति कसले दिने हो ?
कृषि मन्त्रालयका विज्ञहरू धानमा ‘रोग’ लागेका कारण यस्तो भएको भन्दै पन्छिन् थालेका छन् । तर, मन्त्रालयका विज्ञहरूले भन्ने गरे जस्तो धानको बालामा र बोटमा कुनै रोग लागेको छैन । धानको बोट राम्रो छ, तर गेडोमात्र नलागेको हो– मगरले भने । कामै नलाग्ने बीऊ खरिद गरेर किसानलाई बाँड्ने कर्मचारीमाथि छानबिन हुनुपर्ने उनको माग छ । दाना नभएको धानको बोट (पराल) काटेर खर्च गर्नुभन्दा खेतमै आगो लगाइदिने वा गाईवस्तुलाई खुवाउनुबाहेक अन्य विकल्प नभएको भन्दै उनले आक्रोश पोखे । धान त बिग्रियो बिग्रियो, फेरि फलाउँदा फल्दैन । अब वर्षभरि के खाने ? राज्यले राहत वा क्षतिपूर्ति दिनुप¥यो– उनकी पत्नी डोल्मा तामाङ मगरले भनिन् ।
त्यस्तै, फागुचोककी पञ्चवती लिम्बू पनि राज्यले दिएको बहुगुनी धानको बीऊका कारण निराश बनेकी छिन् । उनले अघिल्लो वर्षमा रञ्जित धानको बीऊ किनेर रोपाइँ गर्दै आइरहेकी थिइन् । यस वर्ष राज्यले दिएको धानको बीऊ पूरै १० कट्ठा जमिनमा रोपेर पश्चाताप गरिरहेकी छिन । ‘धान नफलेर भुस फल्यो, अब वर्षभरि के खाने होला ? लिम्बूले भनिन् –अघिल्ला वर्षमा घरमा खानका लागि धान जोहो गरेर पनि उभे्रको उल्टै बेचिन्थ्यो ।
धान नफलेपछि कृषिका कर्मचारीले खेतमा पुगेर अध्ययन गरिसकेका छन् । उहाँहरूको हेर्ने काम हो, हेर्नुभयो, जानुभयो– लिम्बूले भनिन्– हामीले पो के गर्ने होला ? हामीलाई त राहत चाहिन्छ नि ! खेतमा फलेको जस्तो देखिएको धान सुँगुरको चारो मात्र बनेको उनले बताइन् ।
भद्रपुर कृषि शाखाबाट भद्रपुर–४ स्थित मिलनसार कृषि तथा पशुपालन कृषक समूहले ७ सय केजी बहुगुनी धानको बीऊ ल्याएको समूहका सचिव सानबहादुर लिम्बूले बताए । बहुगुनी धानको बीऊ समूहमा आबद्ध सम्पूर्ण कृषकलाई आवश्यकताअनुसार बाँडेको बताउँदै सचिव लिम्बूले भने –राज्यले दिएको बीऊका कारण अहिले यहाँका सबै कृषक निराश छन्, कसैको खेतमा पनि बहुगुनी धान फलेन, बालामा धान नभई भुसमात्र फल्यो ।
आफूले पनि १० कट्ठा जमिनमा यो धान रोप्दा खर्चमात्रै भएको उनले बताए । खेतमा धान नफलेपछि भद्रपुर नगर प्रमुख गणेश पोखरेललाई भेटेर किसानले समस्याको जानकारी गराइसकेको उनले बताए । नगरप्रमुख पोखरेलले कृषकको कुरा सुनेपश्चात् केही गर्न सकिन्छ कि भनेर आश्वासन दिनुभयो– उनले भने ।
सरकारले वितरण गर्ने धानको बीऊ अब यहाँका कृषकले लिँदैनन् । लिए पनि बीऊको परीक्षण गरेर मात्र लिने उनको भनाइ छ । योभन्दा अघि पनि कृषि शाखाबाट ल्याएको साँवा मुसुलीको बीऊमा पनि यस्तै समस्या देखिएको थियो । अघिल्लो वर्ष पनि धान नफलेर समूहका कृषक निराश बनेको उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीऊबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौंले गत आर्थिक वर्षमा धानको बीऊ खरिदका लागि भद्रपुर नगरपालिकालाई १० लाख ६५ हजार बजेट छुट्ट्याएको थियो । नगर कृषि शाखाले कृषकको मागबमोजिम ११ प्रकारको धानको जातको विवरण केन्द्रमा पठाएको थियो । त्यसपछि केन्द्रले उतैबाट बीऊ उत्पादक तोकिदियो ।
मेचीनगरको मेची बहुमुखी कृषक बीऊ उत्पादक इँटाभट्टा र कृषक बीऊ उत्पादक गौरादहको नाम तोकेर केन्द्रले पठाएको नगर कृषि शाखाका कर्मचारी सुमन बिमलीले बताए । नगरले १४ हजार केजी बहुगुनी बीऊ माग गरिएको बताउँदै बिमलीले भने –३ हजार केजी गौरादह र ११ हजार केजी मेचीनगरले पठाएको हो ।
अहिले धान पाक्ने बेलामा १२ सय केजी बहुगुनी धानमा दाना नलागेको उनले बताए । त्यसपछि धानको समस्याको बारेमा कृषि ज्ञान केन्द्रलाई पत्राचार गरेका थियौं । ज्ञान केन्द्रले त्यसबारेमा मन्त्रालयमा बुझ्दा धानमा ‘डर्टी पेनिकल’ रोग लागेको जानकारी गराएको उनले सुनाए ।
रोगको कुरा सुनाएपछि कृषि शाखालाई त्यसमा चित्त बुझेन, रोग लागेमा बहुगुनी र रञ्जित दुवै धानमा लाग्नुपर्ने हो– उनले भने– एउटै खेतमा रोपिएको बहुगुनी धानमा रोग लाग्नु, रञ्जितमा नलाग्नु यस्तो पनि हुन्छ भनेर बीऊबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पत्र पठाएका छौैं ।
किसानको खेतमा रोग थिएन । बाँडिएको बीऊमा रोग थियो भनेर शाखाले क्षतिपूर्तिका लागि बीऊबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पत्राचार गरेको हो । केन्द्रले माटो वा बीऊ कुनमा रोग थियो भनेर नछुट्ट्याइकन कृषकलाई क्षतिपूर्ति दिन नमिल्ने भनी जवाफ पठाएको उनले बताए ।
दुवै बीऊ उत्पादकका पदाधिकारीलाई बोलाएर अनुगमन ग¥यौं– उनले भने–अनुगमनको क्रममा उहाँहरूले पनि कृषकको समस्या देख्नुभयो । क्षतिपूर्ति दिने भनेर आश्वासन देखाएर जानुभयो । उनका अनुसार अहिलेसम्म किसानले क्षतिपूर्ति पाएका छैनन् । जब दाना फल्दैन र समस्या आउँछ तब स्थानीय सरकारले कृषकलाई जवाफ दिनुपर्छ –उनले भने ।