बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

0
13

सिद्धराज राई र नारायणकुमार राई
धनकुटा

अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,

हा है बग्दछ सलल ।

दिसदिस (देशदेश)को माइती, चारथुम चेली,

बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ),

निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,

वढाङ्मी मेला, पूर्णेझैँ झलल…

यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ । यतिबेला धनकुटाको खाल्सा क्षेत्र वढाङ्मीमय भएको छ । घुरघरमा कुलपूजा गर्ने र नाचगान गर्ने कार्यले खाल्सा क्षेत्रका बासिन्दा ब्यस्त भएका छन् । यो क्षेत्रका बासिन्दाको प्रमुख पर्व भएकाले पर्वमय भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउनुहुन्छ ।

तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ । यो कुनै लिखित नभएर पुर्खादेखि नै मुखाग्र गाउँदै आइएको गीत हो । यो एकल वा जोडी भएर पुरुष–महिला सबैले गाउँछन् । गायकी सुन्दा उनीहरूलाई आँशुकवि भन्दा फरक पर्दैन । हरेक गीतमा स्थायी र अन्तरा हुन्छन्, जसलाई घन्टौँसम्म गाएर नाचिन्छ ।

के हो वढाङ्मी ?

राईहरूको भाषा र संस्कृतिमा थर र गाउँपिच्छे विविधता र फरकपन पाइन्छ । यही विविधता र फरकपन धनकुटाको खाल्सा क्षेत्र (छिन्ताङ, आखिसल्ला र खोकु गाविस) हाल शहिदभूमि गाउँपालिकाका राई जातिको संस्कृति पनि फरक छ । उनीहरुको सांस्कृतिक धरोहरको रूपमा रहेको छ, वढाङ्मी पर्व र नाच रहेको छ ।कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबार साविक छिन्ताङ गाविस–४ ९हाल शहिदभूमि गाउँपालिका–३० स्थित साकेन्वा थानमा पूजा गरेपछि वढाङ्मीको औपचारिक सुरुआत हुन्छ । यसपछि स्थानीय राईहरूले घरघरमा कुलपूजा गर्न थाल्छन् । कुलपूजामा फूल–अक्षता, पानसुपारीसँगै अण्डा, कुखुरा, परेवा र बङ्गुरको बली दिइन्छ ।

पूजापछि टोलको मुख्य घरमा लहरै उभिएर गीतको लयसँगै ढोल–झ्याम्टाको तालमा कुम जोडेर वढाङमी नाच नाचिन्छ । यसपालि मङ्सिर ४ गतेदेखि शुरु भएको यो पर्व र नाच छिन्ताङ र आँखीसल्लामा मङ्सिर ९ गते र खोकुमा मङ्सिर १० गते सकिनेछ । यस नाच र पर्वको शुरुआतको विषयमा स्थानीयबासीमा एउटा गजबको किंबदन्ती रहेको छ । किंबदन्तीअनुसार परापूर्वकालमा खाल्सा क्षेत्रमा बुढाहाङ नाममा शक्तिशाली तान्त्रिक राजाले शासन गर्थे । ती राजा बुढाहाङका छ छोरी थिए । उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे । बुढाहाङले उनीहरूलाई छ दिन छुट्टी दिए । छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुङ्गीको नक्कल गरी रमाए । उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे । बुढाहाङका छोरीहरूको यही नाच अपभ्रंश भई ‘वढाङ्मी’ हुन पुगेको बढापाकाको भनाइ छ । अहिले पनि बुढाहाङका छोरीहरूले वनभोज खाएको र नाचगान गरेको स्थानलाई आँखिसल्लामा संरक्षण गरेर राखिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।

वढाङ्मी नाच उत्पत्तिको किंवदन्ती रोचक छ । जनश्रुति अनुसार परापूर्वकालमा त्यस क्षेत्रका राईहरूका पुर्खा बुढाहाङ भन्ने राजाको पालादेखि यो पर्व शुरु भएको हो । बुढाहाङ यति शक्तिशाली थिए कि, उहाँले समयलाई आफ्नो वशमा पारी रातलाई दिन र दिनलाई रात बनाउन सक्थे । उहाँलाई मार्न धनकुटाको बेलहराबाट सिकारीहरू आएका थिए । यो थाहा पाएर उहाँ दिनलाई रात बनाएर अलप हुनुभयो । त्यसैले उहाँ अझै पनि जिउँदै रहेको विश्वास गरिन्छ ।

वढाङ्मी गीतका गायक खनप्रसाद राई २४ घन्टासम्म निरन्तर यो गीत गाइने र नाचिने बताउनुहुन्छ । खनप्रसाद स्वयंसँग लगातार १५ घन्टासम्म गीत गाएको अनुभव छ । उहाँभन्नुहुन्छ, ‘गीत गाउने जोडी र नाच्ने समूह हुँदा दिन–रात बितेको पत्तो हुँदैन ।’ विस्तारै पाइला सार्दै नाचिने भएकाले थकाइ नलाग्ने र धेरै समयसम्म नाच्न सकिने स्थानीयवासीको अनुभव छ । यसमा चेली र माइती पनि एउटै लहरमा उभिएर नाच्छन् । खनप्रसादका अनुसार वढाङ्मी सामाजिक सद्भावको पर्व र नाच हो । यस नाचगानमा पारिवारिक सुखदुःख, रसरङका कुरा र देवीदेवताको गुनागानलाई समेटिन्छ ।

यो नाच विवाह, भोज र अन्य खुसियालीमा पनि नाचिन्छ । यसलाई स्थानीयस्तरमा पापनी लहरे–नाच भनिन्छ । तर, वढाङ्मीको बेला र बिहेमा गाउने गीत भने फरक हुन्छ । वढाङ्मीका बेला बुढाहाङ राजाको गुनगान, देवीदेवताको चर्चा गरिन्छ भने अन्यबेला रसरङको चर्चा हुने गरेको खनप्रसादले बताउनु भयो ।

स्थानीयको कुलपूजालाई ‘माङ्ला’ भनिन्छ । स्थानीय छिन्ताङ भाषामा ‘माङ्’को अर्थ देवता र ‘ला’को अर्थ चढाउनु हो । अर्थात उत्पादित बाली देवतालाई चढाउनु । आँखीसल्लाका ७८ वर्षीय गोविन्द राईका अनुसार खाल्सा क्षेत्रका राईहरूको चुलो (राई जातिका प्रत्येक घरभित्र तीनवटा चुलो, जसमा कुलपूजा गरिन्छ) सँगै स्थानीय देवीहरूको थानमा पूजा हुने हुने गरेको छ । खासगरी छिन्ताङ जाल्पादेवी मन्दिर, पञ्चकन्या, ढुकुरसिं थानी, देउलिंगे, टप्पुदेवी, ज्वालादेवी लगायत स्थानमा पूजा गरिन्छ । यी देवी र थानलाई स्थानीय राई र अन्य जातिले पनि आफ्नो कुलदेवताकै रूपमा मान्ने गरेका छन् ।

कुलपूजा र नयाँ बाली

शहिदभूमि गाउँपालिका–३ का पूर्व वडाअध्यक्ष योगेन्द्र राईका अनुसार नयाँ बाली भित्रिएको खुसीयालीमा छ दिनसम्म मनाएर वढाङ्मी पर्वको बिदाइृ गरिन्छ । नयाँबाली पाकेपछि कुलदेवतालाई चढाएर मात्र आफूले खानु किरात राई जातिको परम्परा हो । त्यसैले वढाङ्मीमा अर्को वर्ष पनि खेती राम्रो होस्, रक्षा–क्षमा गर्नु भनी आशीर्वाद माग्ने चलन छ ।नाचगान शुरु गर्नुअघि बुढाहाङको नाममा एकजोडी परेवाले क्षमापूजा गरिन्छ । नाचगान गर्दा कुनै झगडा र दुःख नहोस् भनेर क्षमा पूजा गरिन्छ । जुन घरको आँगन वा टोलमा नाचिन्छ, त्यो घर वा टोलले नाङ्लोमाथि दियो, कलश, फलफूल, चिन्दोमा रक्सी, डबका जाँड राखेर आशिकभारा (आशिष माग्ने) गरिन्छ । नाचगान गर्ने सबैको शिर उठाउने र नाचगान गर्ने घर वा टोलको नाम चर्चा गर्नका लागि पञ्च भलाद्मी राखेर आशिषभारा गरेपछि यो पर्व पूरा हुन्छ ।

उन्मुक्त छोरीचेली

यो पर्वमा छ दिनको मेला र छ दिनको बारण (बार्ने) भन्ने चलन छ । पर्वका अवसरमा बुढाहाङ राजाले आफ्ना सहयोगी र राज्यका नागरिकलाई समेत छुट्टी दिएका थिए । त्यसैले खनजोत गर्न नहुने भनेर बार्ने चलन रह्यो। यो चलन अहिले पनि छ । वढाङ्मी मनाउनकै लागि घरको सबै कामलाई रोकिन्छ । कसैले हलो जोत्दैनन्, कोदालो खन्दैनन् ।यो पर्वमा विशेषतः छोरीचेलीलाई छुट दिइन्छ । यो दिन छोरीचेलीलाई काम नलगाउने र उनीहरूले कुनै गल्ती गरे पनि गाली गर्न नहुने मान्यता छ । गाली गरे बुढाहाङ र देवीदेवता रिसाउने, घरमा दुःखबिरामी पर्ने बुढापाकाको विश्वास छ । त्यसैले चेलीहरू यी छ दिन विशेष स्वतन्त्र हुन्छन् । आफ्ना दौतरीसँग हाँसखेल र नाचगान गर्न स्वतन्त्र छन् । अहिले नारी हक–अधिकार र स्वतन्त्रताको आन्दोलन र बहस चलिरहेको छ । तर, धनकुटाको खाल्सा क्षेत्रका राई जातिका महिलामा सदियौंदेखि स्वतन्त्रताको अभ्यास छ । शहिदभूमि गाउँपालिकाका अध्यक्ष राई भन्नुहुन्छ्, ‘देवी–देवताको नाममा भएको यो परम्पराले आजका महिलालाई पनि स्वतन्त्रताको पैरवी गरेको छ ।’

धामीझाँक्रीको मन्दुम

राई जातिले तीनचुलोमा कुलपूजा गर्दा होस् वा देवीदेवताको थानमा पूजा गर्दा होस्, धामीझाँक्रीले मुन्दुम फलाक्छन् । यस क्षेत्रका धामी झाँक्रीहरू (छाम्बाक, ङाङशुभा, तालुकसुङपा) ले देवीदेवतासँग मुन्दुम गाउँदै वरदान मागिन्छ । शहिदभूमि गाउँ गाउँपालिका–३ का भक्तविर राई (छाम्बाक) ले मेलामा आएर साकेन्वा र पञ्चकन्या डाँडामा रहेको देवीदेवताको अगाडि शक्ति माग्दै सेवापूजा (भक्तिपूजा) गरिरहेको बताउनुहुन्छ । यहाँका एक दर्जन धामीझाँक्रीले ढोल–झ्याम्टा, खुँडा, तरबार बोकेर मुन्दुम गाउने चलन छ । किरात धर्म–संस्कृति अनुसार, मुन्दुम देवी–देवताले सिकाएको मानिन्छ ।

आठपहरिया जातिको वढाङमी/वाडाङमेट

खाल्सा क्षेत्र (शहिदभूमि) का राई जातिको वढाङमी पर्वसँगै धनकुटा नगरपालिका क्षेत्रभित्रका थातथलोमा बस्ने आठपहरिया जातिको पनि वढाङ्मी पर्व मनाउँदै नाचगान गरिरहेका छन् । आठपहरिया जातिको यो पर्व हिन्दूहरुको दशँै जस्तै महत्वपूर्व रहेको छ । यो पर्वमा पितृ पूजासँगै वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेकाहरु दुःखबाट चोखिने, नयाँ घर बनाए छ भने चोख्याउने, पहिलो सन्तान छोरो जन्मिएको घरमा हर्षबढाई गर्ने चलन रहेको धनकुटा नगरपालिका–५ का अष्टबहादुर आठपहरियाले बताउनुभयो । कात्तिकको भाइटिकाको दिन जमरा राख्ने र माड उठाउने(देवी आह्वान) गर्ने कामसँगै मङ्सिरको औंसीको दिनसम्म यो चाड मनाउने गरेका छन् ।

चाड शुरु भएपछि गाउँटोलमा ढोल नाच्ने, बराह र मार्गाको मुन्धुम गाउने (स्तुतिगान) चलन छ । यस बीचमा मङ्सिर पूर्णमाको चार दिनअघि वर्षभरि आफन्तको देहान्त भएर बरखी बारेका परिवार र उहाँका आफन्तले सुनसरीको बराहक्षेत्र मन्दिरमा पैदाल हिडेर दर्शन गरी चोखिने चलन रहेको अष्टबहादुरले बताउनुभयो ।

परापूर्वकालमा तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको बेला कन्दमूल खोजिखाने क्रममा फाक्चामाराका लिम्बु जातिले घेराहाली काटेर घाइते बनाएका थिए । घाइते भएका बराह धनकुटाको भगुवाखोला, भुल्केआहाले हुँदै सुनसरीको कोकाहा खोलामा आराम गरी बसेको किंबदन्ती रहेको छ । बराहलाई आठपहरिया जातिको इस्टदेवी मार्गा थानीको दाइको बराहलाई पुज्ने गरेका छन् । त्यसैले आठपहरिया जातिले मार्गालाई आमा र बराहलाई मामाको रुपमा पूजा गर्ने चलन रहेको छ ।

सप्तकोशी नदीको किनारामा रहेको बराहक्षेत्र मन्दिरमा रहेको बराहको दर्शन गरी त्यहाँको पानी ल्याएर घर चोख्याउने र बराहलाई धनकुटा आउन निम्तो दिने परम्परा रहेको अष्टबहादुरले बताउनु भयो । वढाङ्मेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यको लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाउँदै वढाङमी नाच्ने र मारुनी नाच्ने चलन रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here