करफोकको सौन्दर्य र सम्भावना

0
10

पूर्वी नेपालको महत्वपूर्ण गन्तव्यका रुपमा परिचित इलाम त्यहाँको सामाजिक, सांस्कृतिक, वातावरणीय, प्राकृतिक तथा शैक्षिक क्षेत्रका हिसाबले प्रतिष्ठित छ । कृषि कर्म र उत्पादनका दृष्टिले समेत विश्वमै पहिचान बनाएको इलाम राजनीतिक चेतना र जागरणका हिसाबले पनि विशिष्ट छ । देशमा भएका सबै राजनीतिक परिवर्तनहरुमा अग्रणी र प्रभावपूर्ण भूमिका निर्वाह गरेको इलाम जिल्ला यतिबेला पर्यटकीय आकर्षणका कारण पनि चर्चामा छ । कालान्तरमा प्रशासनिक दृष्टिले मेची अञ्चलको राजधानी अर्थात् सदरमुकाम बनिएको इलामले चेतना र शिक्षा, साहित्य लगायतका सामाजिक जागरणका निम्ति पनि अग्रणी भूमिका निर्वाह गरेको इतिहास प्रमाणित सत्य हो ।

वि.सं. २००७ सालमै करफोक मिडिल स्कूलको स्थापना भएको थियो । सन्त स्वमेश्वरानन्दको साधना भूमि इलामको करफोकमा शिक्षाको बीऊको रोपण पनि उनैले गरेको मानिन्छ । भारतको दार्जिलिङबाट शिक्षक ल्याएर पठनपाठन सञ्चालन गरिएको स्कूल पढेका धेरैले देशको उच्चतम् पद धारण गरेका छन् । भाषाशास्त्री महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोलाले करफोकबाटै भाषिक उन्नतिको अभियान सञ्चालन गरेका थिए । नेपाली भाषा प्रचारक संघ गठन गरेर देशव्यापी रुपमा भाषा आन्दोलन अभियान सञ्चालन गरेको बताइन्छ । त्यसकै उपजका रुपमा राष्ट्रिय कवि गोष्ठीको आयोजना पनि गरियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, जागरण कवि धरणीधर कोइराला, शंकर लामिछाने, इतिहासकार सूर्यविक्रम ज्ञवाली जस्ता मुर्धन्य व्यक्तित्वहरुको पदस्पर्श पाएको करफोक पूर्वकै साहित्यिक तीर्थस्थल सरह छ ।

देशमै पहिलो चिया रोपण भएको जिल्ला इलामका प्रशिद्धिका अन्य आकर्षणहरु पनि छन् । सूर्योदयको जिल्ला भनिने इलामको श्रीअन्तु जहिल्यै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ । प्राकृतिक सौन्दर्यका हिसाबले सन्दकपुर, सिद्धिथुम्का, छिन्तापु, कन्यामले पनि वर्षेनि लाखौं पर्यटकलाई लोभ्याइरहेको छ । सुगौली सन्धिपछि करफोकलाई सदरमुकाम नै बनाइएको थियो । पछि इलाम सारिएको सदरमुकाम भएर पनि करफोकको महत्व कम भएको छैन । प्रकृतिको वरदानका रुपमा रहेको इलाम जिल्ला उर्वर भूमि र पौरखी किसानका कारण पनि प्रशिद्ध छ । जसले आलु, अकबरे, अदुवा, अलैंची, अम्लिसो, ओलन मात्र होइन अर्थाेडक्स चिया र आतिथ्यले इलामको श्री वृद्धि गरेको छ । भारतको दार्जिलिङ जिल्लासँग जोडिएको इलाम विभिन्न जातजाति, विभिन्न संस्कृति, भाषा, भेषभुषा र जैविक विविधताका कारण पनि विशिष्ट छ ।

नेपालकै होचो ठाउँ भनिने झापाको कचनकबलबाट करफोक हुँदै सुदूर उत्तरी जिल्ला ताप्लेजुङलाई मेची राजमार्गको निर्माणले आवागमन सहज भएको जिल्ला भएको छ इलाम । पर्यटकहरुको आगमनलाई मध्यनजर गर्दै अहिले इलामका विभिन्न ठाउँहरुमा होमस्टे सञ्चालन गरिएका छन् । त्यहीमध्ये करफोकको पुरानो पहिचान जोगाउन र महिलाहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन महिलाकै नेतृत्वमा समिति गठन गरिएको छ । महिलाको अग्रसरता र नेतत्वमा सेवा सञ्चालन हुन थालेपछि आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था सुधार भएको स्थानीय बताउँछन् । वर्तमानमा कोशी प्रदेशका चौध जिल्लामध्ये एक इलाम र इलामको करफोक इतिहास र महत्व जोगाउन र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै स्थानीयबासीको अग्रसरतालाई सरकारले पनि समन्वय गरे देशकै समृद्धिमा सहयोग पुग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here