सुनसरी ।
सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान श्रीमतीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ का ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको हो । दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकोले कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।