झापा।
झापाको बिर्तामोड नगरपालिका– ६ बुट्टावारीस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।
आगलागीबाट करिब १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आशिष वनको घरको सटरमा अर्जुनधारा ११ का दिपक राजवंशीले भाडामा लिएर सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा आज साँझ बिद्युत सर्ट भएर आगलागी भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी बुट्टावारी र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोली,स्थानीय, बिर्तामोड,भद्रपुर र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट वर्कसपमा रहेको मर्मतको लागि राखिएको स्कुटर–१ थान, सुपर स्प्लेण्डर मोटरसाइकल–१ थान, एयर कम्प्रेसर–१ थान, मर्मतमा प्रयोग हुने बिभिन्न औजारहरु र उक्त कोठामा समेत क्षति भई अन्दाजी ।१५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।