अर्जुनधारा जलेश्वरधाम: महायज्ञको महत्व

0
21

पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा भव्य धार्मिक अनुष्ठान भइरहेको छ । २०३९ सालदेखि प्रत्येक वर्ष वार्षिकरुपमा अनुष्ठान हुँदैछ अर्जुनधारामा । यसपटक ४२औं अनुष्ठानका रुपमा धामले मंसीर ८ गतेबाट १०८ श्रीमद् भागवत पाठ पारायणका साथै पाँच जना आचार्यका साथमा ५१ जना बटुकहरुबाट हवनात्मक महायज्ञ शुरु गरेको छ । महायज्ञमा सुप्रशिद्ध कथावाचक पण्डित कुवेर सुवेदीज्यू प्रमुख आचार्य हुनुहुन्छ । उहाँले अनुष्ठानमा उपस्थित हुने भक्तजनलाई श्रीमद् भागवत् महापुराणको कथा सुनाउँदै हुनुहुन्छ । पण्डितज्यूले सुनाइरहनु भएको कथा भगवानको हो ।

कथा भगवानको हुन्छ । हाम्रो कथा हुँदैन । हाम्रो चाहिँ व्यथा मात्र हुन्छ । हामी त एकअर्कालाई भेटेर आफ्नो व्यथा मात्रै सुनाउँछौँ । आफ्नो व्यथा सुनाएर अरुलाई व्यथित पार्छाैँ । अरुका व्यथा सुनेर हामी व्यथित हुन्छौँ । भगवानको कथा लोकमंगलकारिणी हुन्छ । भगवानको कथा सुनेर नै भगवानप्रति हाम्रो प्रेम बढ्छ । भगवानको कथा सुन्नु पनि भक्ति हो । भागवत कथामा प्रल्हादजीको प्रसंगमा नौ प्रकारका भक्तिको कुरा आउँछ । जसलाई नवधा भक्ति भन्ने गरिन्छ ।

श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनं
अर्चनं वन्दनं दास्यं सख्यमं आत्म निवेदनं

नौ प्रकारका भक्तिमा प्रल्हादजीले श्रवण भक्तिलाई पहिलो प्राथमिकता दिनुभयो । श्रवण भक्ति भनेको भगवानको कथा सुन्नु, पुराण सुन्नु, प्रवचन सुन्नु नै हो । भक्तिका अन्य प्रकारहरुमा भगवानको किर्तन गर्नु, भगवानको स्मण गर्नु, भगवानको चरण सेवा गर्नु, पूजा–अर्चना गर्नु, वन्दना गर्नु, आफूलाई भगवानको दास सम्झनु या भगवानलाई आफ्नो सखा सम्झिनु र आफूले आफैँलाई भगवानमा समर्पित गर्नु । यी सबै भक्तिका प्रकारहरु हुन् । तर, पहिलो भक्तिमा श्रवण शब्द छ ।

यो लेख–पढिरहनुभएका सम्पूर्ण पाठकहरुमा म आग्रह गर्छु, तपाईंहरु पनि यसपटक अर्जुनधारा जलेश्वर धामको अनुष्ठानमा आउनुहोस् । मंसीर ८ गतेबाट शुरु भएको महायज्ञ १५ गतेसम्म जारी रहने छ । महायज्ञको दर्शन गर्नुहोस् र पण्डित कुवेर सुवेदीज्यूबाट भगवानको कथा सुन्नुहोस् । बीच–बीचमा किर्तन गर्नुहोस् । कथा सुन्दा भगवानको स्मरण भइरहन्छ । तीन÷चार प्रकारका भक्ति त्यहीँ हुने रहेछ । भगवानको कथा श्रवण र भगवानको नाम संकीर्तन त हुने नै भइहाल्यो । अनि कथा सुनिरहनु भनेको भगवानको स्मरण पनि भइरहनु नै हो । मन्दिरमा पूजा–अर्चना पनि पक्कै गर्नुहुनेछ ।

भगवानको कथाको ठूलो महिमा छ । मन शुद्ध बनाउनु छ भने भगवानको कथा सुन्नुपर्छ । तन शुद्ध बनाउने त अनेक विधि होलान् । गंगा स्थान गर्नुस्, पञ्चगव्य पान गर्नुस् । तर, मन शुद्ध बनाउने भगवानको कथाले नै हो । मान्छेहरु मन नै सबैभन्दा ठूलो कुरा हो भन्छन् । मन चाहिँ सफा हुनुपर्छ भन्छन् । तर, उनीहरु नै शरीर राम्रो देखाउनतिर र शरीर श्रृंगार गर्नतिर मात्र ध्यान दिन्छन् । मन चाहिँ केले सजाउने त ? मन सफा, मन शुद्ध केले बनाउने ? मन शुद्ध बनाउने साधन के हो ?

वेदव्यासजीका अनुसार भगवानको कथा बाहेक मन शुद्ध बनाउने अर्को कुनै साधन नै छैन । एतस्मात् अपरं किञ्चित् मन शुद्धयै न विद्यते । तन्मय भएर भगवानको कथा सुन्दा मन शुद्ध हुन्छ । तपाईंमा सात्विकता आउँछ । भागवत महापुराण साक्षात् भगवान् श्रीकृष्णको शब्दमय विग्रह हो । जसरी भगवानका हरेक प्रकारका मूर्ति छन्, त्यसैप्रकारले भगवानको शव्दमयी मूर्ति श्रीमद् भागवत हो । भगवान् श्रीकृष्णमा र श्रीमद् भागवतमा अन्तर छैन । श्रीमद् भागवत महापुराण भगवानको साक्षात् दिव्य स्वरुप हो । भगवानको नाम, भगवानको रुप, भगवानको कथा र भगवानको धाम । सुन्दा यी कुरा फरक–फरक सुनिए पनि यी चारै कुरा तत्वतः भगवान नै हुन् ।

रामस्य नाम रुपं च लीला धाम परात्परम् ।
एतत चतुष्टयं नित्यं सच्चिदानन्द विग्रहम् ।

भागवत कथा नै भगवान् हो । शब्द ब्रह्मका रुपमा भगवान नै हाम्रो कानको माध्यमबाट हाम्रो अन्तः करणमा प्रवेश गर्नुहुन्छ । अर्जुनधारा जलेश्वरधाम धाममात्र नभएर भगवान् हो । धाममा रहेको भगवानको विग्रह केबल मूर्ति नभएर भगवान हो । र, अहिले धाममा गुञ्जिरहेको भागवत् कथा पनि कथामात्र नभएर साक्षत भगवान् हो ।

म तपाईंहरु सम्पूर्णलाई आग्रह गर्छु । पवित्र धार्मिक स्थल अर्जुनधारा जलेश्वरधाममा आएर भगवानको कथा सुन्नुहोस् । खासमा कथा सुन्ने पनि होइन । कथा त पिउने हो । कथा पान गर्नुहोस् । तब मात्र मन शुद्ध हुन्छ । पण्डित कुवेर सुवेदीज्यू नेपालमा मात्रै होइन, मुलुक बाहिर पनि प्रशिद्ध हुनुहुन्छ । उहाँले हामीलाई कथापान गराउनुहुनेछ ।

निगमकल्पतरोर्गलितं फलं शुकमुखादमृतद्रवसंयुतम् ।
पिवत भागवतम् रसमालयम् मुहुरहो रसकिा भूवि भावुकाः

भागवत कथा वेदरुपी वृक्षको पाकेको फल हो । तसर्थ, भागवत कथालाई पिउनुहोस् । पटक–पटक पिउनुस् । भावुक भएर पिउनुहोस् । पुराणमा मनोरञ्जनका लागि जाने होइन । भगवानको कथा मनोरञ्जनका लागि होइन । भागवत कथा मनोभञ्जनका लागि हो । भगवानको कथामा तन्मय हुनुहोस्, कथा सेनुर तपाईंको आँखाबाट आँशु आओस् । भगवानको कथा त भावुकहरुका लागि हो ।

मम गुन गावत पुलक सरीरा ।
गदगद गिरा नयन बह नीरा ।

अर्जुनधारा जलेश्वरधाममा विश्वशान्तिका लागि र पितृउद्धारका लागि यो महायज्ञ आयोजना गरिएको हो । यज्ञहरु लोकको कल्याण कै लागि गरिन्छ । यस यज्ञको उद्देश्य पनि लोक कल्याण नै छ– विश्वशान्ति र पितृउद्धार । पितृउद्धार गर्ने नै भगवानको कथाले हो । भागवतमै प्रशंग छ– गोकर्णजीले गयामा गएर श्राद्ध गर्दा पनि धुन्धुकारीको उद्धार भएन । अन्ततः सात दिनको भागवत कथाले नै धुन्धुकारीको उद्धार भयो । भागवत कथा सुन्दा हामीमा ज्ञान, भक्ति र वैराग्य जाग्छ । भागवतमै प्रशंग छ– साक्षात भक्तिदेवीका पुत्रहरु ज्ञान र वैराग्य बेहोस अवस्थामा थिए ।

नारदजीले भक्तिका ती दुबै पुत्रहरु ज्ञान र वैराग्यलाई वेदका मन्त्रहरु सुनाउनुभयो, गीता त झन् पटक–पटक पाठ गरेर सुनाउनुभयो । तर, गीता पाठ गर्दा पनि ज्ञान र वैराग्य जागेनन् । यस प्रसंगबाट बुझ्नुपर्छ, दिनहुँ गीतामात्र रटेर पनि हामीमा ज्ञान र बैराग्य बढ्ने होइन रहेछ । हामी मनुष्यलाई भगवानको कथा निकै जरुरी रहेछ । भगवानलाई जान्नका लागि कथा सुन्नैपर्छ । नत्र भगवानलाई कसरी जान्ने ? भगवानको स्वभाव र प्रभावबारे कसरी थाहा पाउने ? कथा त आवश्यक छ ।

वेद मन्त्रले र गीता पाठले पनि ज्ञान–वैराग्य नजागेपछि जब भागवत कथाको आयोजना भयो, तत्कालै ज्ञान र वैराग्य दुबै जागा भए । अहिले हामीमा केही हदसम्म भक्ति त छ होला । तर, ज्ञान र वैराग्यको कमी अवस्य छ । जब हामी एकचित्त भएर श्रीमद् भागवतको कथा सुन्छौँ, भक्ति, ज्ञान र वैराग्य तीन वटै कुरा हाम्रो हृदयमा आएर बस्नेछन् ।

मंसीर १५ सम्म आफ्ना अन्य कामलाई बिसाएर भए पनि सकेसम्म अर्जुनधारा जलेश्वरधामको महायज्ञमा आउनुहोला । तर, मेरो एउटा अनुरोध पनि छ । पुराणमा भगवानको कथा सुन्न बस्दा अरुको ध्यान चाहिँ भंग गर्नुहुँदैन । तपाईं जसको छेउमा बस्नुभएको छ, उसलाई पनि तपाईं कतिबेला आएर बस्नुभयो भन्ने थाहा नहोस् । कथामा जाने विधि यही हो ।

कथा सुन्न जाँदा औपचारिकताको चक्करमा पर्नु हुँदैन । गएर चुपचाप बस्नुपर्छ । त्यहाँ कथा सुनिरहेका श्रोताको ध्यान तपाईंका कारण भगवानको कथाबाट टुट्यो भने तपाईंलाई पुण्य मिल्दैन । कथा सुनाइरहेका कथावाचकको ध्यान तपाईंका कारण कथाबाट टुट्यो भने पनि तपाईंलाई पुण्य मिल्दैन । कथामा जाँदा आफूलाई प्रदर्शन गर्नेगरी जानु हुँदैन । सामाजिक जीवनमा तपाईं शिक्षक हुनुहोला, तपाईं सिडिओ हुनुहोला, मेयर हुनुहोला या पत्रकार हुनुहोला । तर, यज्ञस्थलमा पुगेपछि तपाईं भक्त मात्र हो । मात्र भगवानको भक्त । त्यहाँ पदको अभिमानलाई त्यागेर जमिनमा बसेर कथा सुन्ने हिम्मत गर्नुहोला । भगवानलाई अभिमान पटक्कै मन पर्दैन ।

‘म कथामा आएको छु’ भनेर अरुलाई देखाइरहनु पर्दैन । कथामा को आएको छ, कथा कसले सुन्दैछ या कसले सुनाउँदैछ, भगवानले सबै देख्नुहुन्छ । कथामा गएर चुपचाप बस्नुपर्छ । र, व्यासजीको आसनभन्दा तल बसेर कथा सन्नुपर्छ । विद्वान पण्डितहरुका अनुसार वक्ताको बराबर आशन लगाएर कथा सुन्दा पुण्य नाश हुन्छ । वक्ताभन्दा उच्च आशन लगाएर कथा सुन्ने स्रोतालाई नर्क प्राप्ति हुन्छ । कथा त वक्ताभन्दा तल बसेर सुन्नुपर्छ । कथा सुन्ने विधि नै यही हो । भगवानको कथा आफैँमा यज्ञ हो । त्यही भएर श्रीमद् भागवत पुराणलाई ज्ञान महायज्ञ भनिन्छ । ज्ञान महायज्ञमा गएर भगवानको कथामा प्रेम गर्न सिक्नुस् । तपाईं धर्मकर्म गर्नुहुन्छ, तीर्थव्रत गर्नुहुन्छ, दान गर्नुहुन्छ । तर, भगवानको कथामा चाहिँ प्रेम छैन भने ती सबै कार्य व्यर्थ छन् ।

धर्मः स्वनुष्ठितः पुंसां विष्वक्सेनकथासु यः ।
नोत्पादयेद्यदि रतिं श्रम एव हि केवलम् ।।

ठीक–ठीक व्रत अनुष्ठान गरेर पनि हृदयमा भगवानको कथाप्रति अनुराग उत्पन्न भएको छैन भने तपाईंले व्यर्थ श्रम मात्र गर्नुभयो । हृदयमा भगवानप्रति प्रेम त जगाउनै पर्छ । र, प्रेम जगाउने भनेकै भगवानको कथाले हो । भगवानमा, भगवानको कथा र भगवानको चरणमा अनुराग जरुरी छ । यत्ति हो मेरो निवेदन ।

मेरो आग्रह छ– यो अनुष्ठानका अवसरमा एकपटक अर्जुनधारा जलेश्वरधाम पुगिदिनुस् । जलेश्वरधाम झापामा पर्छ । अर्जुनधारा नगरपालिका–७ मा अवस्थित छ । महाभारतकालीन इतिहास बोकेको स्थल हो । लगभग पाँच विगाह क्षेत्रफलमा फैलिएको छ । आजभन्दा पाँच हजार वर्षअघि हजारौँ गाईहरु तिर्खाएको बेला कुन्तीपुत्र अर्जुनले जमिनमा वाण प्रहार पानी निकालेको गाईलाई पानी खुवाएको किंवदन्ती छ । अर्जुनधारा नाम रहनुको कारण पनि यही हो ।

अहिले धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठ समेत सञ्चालनमा छ । विद्यापीठमा कक्षा ६ सम्मको पढाइ हुन्छ । आवासीय सुविधासहित निःशुल्क पठनपाठन हुन्छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देल हुनुहुन्छ । अहिलेको अनुष्ठानमा उहाँ सह–आचार्य हुनुहुन्छ । धामभित्रै गौशाला पनि छ । त्यहाँ गाईपालन गरिएको छ । जलेश्वरधाममा नेपालभित्रका मात्र होइन, भारतबाट समेत भक्तजन आउने गरेका छन् । मलाई आशा छ तपाईंहरु पनि मंसीर ८ देखि १५ गतेसम्मको अनुष्ठानमा सहभागी भएर पुण्य लाभ लिनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here