प्रदेशस्तरीय नेल्टा सम्मेलन: एक समीक्षा

0
14

गएको कात्तिक २४ र २५ गते (नोभेम्बर ९–१०) दमकस्थित सिद्धार्थ अङ्ग्रेजी माविमा पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी सम्पन्न भयो । नेल्टा झापाको आयोजना तथा नेल्टा मोरङ र नेल्टा सुनसरीको सहआयोजनामा भएको सो द्विदिवसीय कार्यक्रम अभूतपूर्व रूपमा सफल रह्यो । तयारीका हिसाबले कोशी प्रदेशस्तरीय रहे पनि प्रभावका हिसाबले सम्मेलन केन्द्रको भन्दा कम थिएन ।

कार्यक्रममा कोशी प्रदेशभरिका अङ्ग्रेजी भाषाका प्राध्यापक, शिक्षक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम निर्माता, भाषा प्रयोगकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो भने प्रदेशभरिका अङ्ग्रेजी भाषा तथा साहित्यमा रुची राख्ने इच्छुक विद्यार्थीको पनि उल्लेख्य रूपमा सहभागिता रहेको थियो । सम्मेलन तथा गोष्ठीको मूल विषय ‘पारिस्थितिकी, समानुभूति र सशक्तिकरण ः अङ्ग्रेजी भाषा शिक्षणमा सुनिश्चितता, समावेशिता र नवीनता’ रहेको थियो । अङ्ग्रेजी भाषामा दिलचस्पी राख्नेका लागि प्रेरणादायक सत्रहरू रहेको उक्त कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वको उपस्थिति र प्रस्तुति सम्मेलनको प्रमुख आकर्षण रहेको थियो ।

अमेरिकी राज्य विभागका दक्षिण क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकारी रोजर कोहेन, क्याम्ब्रिज विश्वविद्यालयका शिक्षा विभागका प्राध्यापक डा. फिनिक्स केनी र काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डिन बालचन्द्र लुइँटेल किनोट स्पिकर रहेको प्रेरणादायी सत्र सहेको थियो ।

वास्तवमा भन्ने हो भने कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले समुद्घाटन गरेको उक्त सम्मेलन यस क्षेत्रको एक ऐतिहासिक र भव्य कार्यक्रम (मेगा इभेन्ट)को रूपमा रहेको थियो र सम्मेलनका सकारात्मक प्रभाव धेरै पछिसम्म अनुभूति गर्न सकिने छ ।

कार्यक्रममा नेल्टाका वर्तमान केन्द्रीय अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवाली, निवर्तमान अध्यक्ष सहप्राध्यापक मोतीकला सुब्बा देवान, नेल्टा पूर्व अध्यक्ष हेमन्त दाहाल र चम्पापुर मावि कनकाई–६ झापाका शिक्षक रुद्रबहादुर थापा प्लेनरी वक्ताको रूपमा रहेका थिए । सम्मेलनमा अङ्ग्रेजी भाषाका विद्वानहरूको ठूलो जमघट रहेको थियो । कार्यक्रममा अङ्ग्रेजी भाषा शिक्षणका चुनौती सम्बन्धमा सार्थक संवाद र बहस गरिएका थिए । कार्यक्रमले अङ्ग्रेजी भाषा प्रशिक्षक, शिक्षाविद्, अनुसन्धानकर्ता र उत्साहीहरू बीचको एकता र सामुहिकता वृद्धिमा सकारात्मक योगदान गरेको र भाषिक ज्ञानलाई अगाडि बढाउने सुनौलो अवसर प्रदान गरेको कार्यक्रमका सभापति नेल्टा कोशी प्रदेश अध्यक्ष गुणराज नेपालले जानकारी दिए ।

नेपाल आफ्नो शैक्षिक सङ्क्रमणकालको महत्वपूर्ण मोडमा उभिरहेको बेला शिक्षकको बढ्दो अभाव, बारम्बारको आवतजावत र शिक्षण पेशाप्रति घट्दो आकर्षणका चुनौतीहरू झन्झन् बढ्दै गएका छन् । उक्त सम्मेलनले यस सन्दर्भमा अङ्ग्रेजी भाषा शिक्षकहरूको शिक्षण कला र सिकाइ वातावरणमा यसको दूरगामी प्रभावहरू गहिरो रूपमा बुझ्न सहयोग गरेको छ । प्राप्त ज्ञान र अन्वेषणलाई शिक्षक, शिक्षक शिक्षकहरू र शिक्षक नेताहरूको बहुआयामिक दृष्टिकोणबाट हेरेर शिक्षक र विद्यार्थी कल्याणबीचको अन्तरसम्बन्धलाई अझ प्रगाढ बनाउन जरुरी हुन्छ । सम्मेलनमा भएका छलफलले शिक्षकहरूको कल्याणलाई चार मुख्य घटकहरू मार्फत अन्वेषण गर्नेछ : शारीरिक र मानसिक कल्याण, संज्ञानात्मक कल्याण, व्यक्तिपरक कल्याण र सामाजिक कल्याण ।

छलफलले व्यक्तिगत, विद्यालय र नीति–निर्माणको स्तरहरूमा कसरी काम गर्ने अवस्थाहरूले शिक्षकहरूको कल्याणलाई सकारात्मक र नकारात्मक दुबै रूपमा प्रभाव पार्छ र आकार दिन्छ भनेर सिकाएको छ । यस बाहेक छलफलले दुई अपेक्षित परिणामहरूमा निर्माण गरेको छ– आन्तरिक परिणामहरू जस्तैः महत्वपूर्ण प्रतिबिम्ब, सामना गर्ने संयन्त्र र शिक्षण पेशाप्रति प्रतिबद्धता, र बाहिरी परिणामहरू जस्तैः शिक्षणको गुणस्तर, कक्षा प्रक्रियाहरू र विद्यार्थीहरूको कल्याण । समग्रमा, यो सम्मेलनले विद्यार्थीहरूको लागि सकारात्मक नतिजाहरू सुनिश्चित गर्न शिक्षकको लागि पुनर्बलको काम गरेको छ । महत्वपूर्ण र उल्लेखनीय उक्त शैक्षिक मेगा इभेन्टले राष्ट्रमा जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न गुणस्तरीय शिक्षामा लाग्न सबै शिक्षकहरूलाई नयाँ कोसेढुङ्गा छोडेको छ ।

किनोट, प्लेनरी र समानान्तर सत्रको साथमा, चौथो नेल्टा कोशी प्रान्त सम्मेलनले शाखा गोष्ठी र विद्यार्थीहरूको स्पार्क सत्रहरू पनि प्रस्तुत गरिए । जिल्ला वा शाखा सङ्गोष्ठीमा अङ्ग्रेजी भाषा शिक्षणका समस्या र समाधानका बारेमा छलफल गरिए । अङ्ग्रेजी भाषा शिक्षणका क्रममा विद्यार्थीको आर्थिक, जातीय, भाषिक, सांस्कृतिक पृष्ठभूमिले भूमिका खेल्दछ र राज्यले ती चुनौतीलाई सामना गर्ने गरी नीति–नियम र योजना निर्माण गर्न आवश्यक हुन्छ भन्ने नेल्टा सम्मेलनले भनेको छ । पुराना शिक्षण विधिहरू वैज्ञानिक विधि र सिद्धान्त भए पनि आजको उत्तरआधुनिक युगमा नवीन विधि निर्माण गर्दै शिक्षणकलालाई निख्खरता ल्याउन आवश्यक रहेकोमा सम्मेलनले जोड दिएको छ ।

सन् १९९२ मा जन्मिएको नेपाल इङ्गलिस टिचर्स एसोसिएसन (नेल्टा) सात वटै प्रदेश र ५९ वटा जिल्लामा विस्तार भइसकेको छ । देशैभरिका सबै शिक्षण संस्थाहरुमा अङ्ग्रेजी शिक्षण गर्ने सबै अङ्ग्रेजी शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्ने प्रमुख उद्देश्य बोकेर स्थापना भएको सबै अङ्ग्रेजी शिक्षकहरूको साझा पेशागत सङ्गठन नेल्टाले सन् २०२४ मा ३२ वर्षको उमेर पार गर्दा उक्त संस्थाले आफ्नो उद्देश्य धेरै हदसम्म पूरा गर्दै आएको छ । यसले प्रभावकारी अङ्ग्रेजी भाषा शिक्षणका सवालमा विभिन्न समयमा भएका सम्मेलनहरू मार्फत प्रदान गरेका अत्यन्तै पौष्टिक खुराकले शिक्षकको पेसागत र प्राज्ञिक जीवनमा सकारात्मक प्रभाव पारेको छ ।

नेल्टाले नै हरेक वर्ष प्रकाशन गर्दै आएको नेल्टा जर्नल र अन्य प्रकाशनले ती खुराकको सारसंक्षेप र अन्य जल्दाबल्दा विषय पाठकवर्गसामु पस्कदै आएको कुरा सबैलाई जगजाहेर नै छ । ३२ वर्षे नेल्टा आफ्नो जन्मकालदेखि नै आफ्ना उद्देश्य पूरा गर्न दृढतापूर्वक लागिरहेको छ । नेल्टाका सात वटा प्रदेशस्तरीय शाखामध्ये पनि कोशी प्रदेशको चौथो प्रादेशिक सम्मेलन एक ऐतिहासिक प्राज्ञिक महायज्ञको रूपमा सम्पन्न भएको छ । पेशागत दक्षता हासिल गर्न हरेक शिक्षक नेल्टा जस्तो स्वयम्सेवी भावनाले ओतप्रोत सङ्गठनसँग जोडिन सक्नुपर्ने देखिन्छ ।

सम्मेलनलाई सभ्य र भव्य ढङ्गले सफल पार्न विशेष गरेर झापा जिल्लाका सबै पालिका लगायत कोशी प्रदेश र देशैभरिका सम्पूर्ण सरोकारवालाको आर्थिक, नैतिक तथा भौतिक सहयोग रह्यो । प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित भएर अङ्ग्रेजी भाषा शिक्षणमा सरकारले आवश्यक सबै सहयोग गर्ने वचन दिए । कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको प्रशंसनीय भूमिका रह्यो ।

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर प्रभावकारी अङ्ग्रेजी शिक्षणका सम्बन्धमा विभिन्न विचार–विमर्श गर्ने उत्कृष्ट विशेषता बोकेको नेल्टाको यो विशिष्टतालाई यो प्रादेशिक सम्मेलनले दरोसँग पक्रन सफल भएको छ । गुणस्तरीय शिक्षाको बलियो जग विद्यालय शिक्षाले तयार गर्छ भने त्यही जगमा बलियोसँग अडिएर सुन्दर कोठा थप्ने र छानो लगाउने काम विश्वविद्यालयतहको शिक्षाले गर्छ । दुबै तहका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर तिनका ज्ञान, सीप र अनुभव घोलघाल गरी त्यो बलियो जग, सुन्दर कोठा र छानालाई चम्काएर टिलिक्क टल्काउने जस्तो निकै चुनौतीपूर्ण काम विगत ३२ वर्षदेखि नेल्टाले गर्दै आएको छ ।

नेल्टाको त्यो गौरवपूर्ण इतिहासको साख उक्त प्रादेशिक सम्मेलनले थप उकासेको छ । आफ्नो शिक्षण पेशालाई तिखार्न र निखार्न आतुर पेशाप्रति प्रतिबद्ध कोशी प्रदेशका अङ्ग्रेजी शिक्षकहरूका लागि यो सम्मेलन एउटा सुनौलो अवसर बनेको छ । आ–आफ्ना पेशागत अनुभव र अनुभुति खुलेर आदानप्रदान गरिएको सो सम्मेलनका क्रममा हुने हरेक छलफल, बहस, अन्तरक्रिया र प्रस्तुतिमा बिना कुनै हिच्किचाहट सहभागीले सकृयतापूर्वक भाग लिएका थिए । सम्मेलन समापनपछि आधुनिक कवि कृष्णभूषण बलको कवितांश दोहो¥याएर भन्न सकिन्छ– ‘काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन ।’ शदियौँदेखि केन्द्रीकरण र एकात्मकताको अभ्यास गर्दै आएको मुलुकको सोच्ने र काम गर्ने कुराको बिरुद्धमा विकेन्द्रीकरण र बहुकेन्द्रीकरणको अभ्यास यो नेल्टा सम्मेलनले सफलतापूर्वक गरेको छ । नेल्टा सम्मेलन सफल बनाउन आयोजकले खेलेको भूमिका स्तुत्य र बन्दनीय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here