झापामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

0
18

झापा,

‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि झापामा पनि सुरु भएको छ ।

अभियानका अवसरमा आज बिहान सदरमुकाम भद्रपुरमा प्रभात फेरि निकालिएको छ । जिल्ला समन्वय समितिको प्राङ्गणबाट शुरु भएको प्रभात फेरि ट्रेड युनियन चोक ,लेखनाथ चोक , सब्जी बजार हुँदै पुनः जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन भएको थियो ।

साना हात नेपाल भद्रपुरको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको प्रभात फेरिमा सुरक्षा निकायका प्रमुख , कर्मचारी , जनप्रतिनिधिलगायत गरी करिब ८० जनाको उपस्थिति रहेको थियो । आजदेखि शुरु लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मङ्सिर २४ गतेसम्म झापामा विभिन्न कार्यक्रम गरिने भएको छ ।

त्यस्तै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आज मेचीनगरमा पनि प्रभात फेरि निकालिएको छ । मेचीनगर नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले काँकडभिट्टामा प्रभात फेरि आयोजना गरेको थियो ।

इलाका प्रहरी कार्यालय परिसरबाट विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित शुरू भएको र्‍यालीले बाहुनडाँगी रोड, पुरानो सुपारी लाईन, गुराँस पथ, वडा कार्यालय रोड, बसपार्क , मुख्य राजमार्गलगायत काँकरभिट्टा बजारको मुख्य मुख्य स्थानको परिक्रमा गरि पञ्चमुखी हनुमान मन्दिर र लक्ष्मी नारायण मन्दिर परिसरमा पुगेर संक्षिप्त कोण सभामा परिणत भएको थियो ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य र उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा भएको संक्षिप्त कोणसभालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा, महिला जनचेतना केन्द्र मेचीनगरका संस्थापक अध्यक्ष राधा प्रधानलगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here