झापा,मोरङ र सुनसरीमा दुर्घटना न्यूनीकरण गर्न अब ‘टाइम कार्ड’

0
34

दुर्घटनामा दैनिक एक जनाको मृत्यु, सार्वजनिक सवारीदेखि स्कूल बससम्म निगरानीमा

नरेन्द्र ढकाल
बिर्तामोड।

कोशी प्रदेशका १४ जिल्लामा भएको सवारी दुर्घटनामा दैनिक एक जनाले ज्यान गुमाउने गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार सरदर दैनिक एक जनाको दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ । मंसीर महिनाकै केही घटनालाई विश्लेषण गर्दा पनि १० दिनको अवधिमा १० जनाभन्दा बढीले ज्यान गुमाइसकेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको तथ्याङ्कमा उल्लेख छ ।

घटना नम्बर १ः सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मंसीर ९ गते मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु भएको हो । दुर्घटनामा ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङले ज्यान गुमाए । स्थानीयका अनुसार म्याजिक भ्यान र टिपर ओभरटेक गर्ने क्रममा मोटरसाइकल उक्त दुई सवारीसाधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको थियो ।

घटना नम्बर २ः मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । यो घटना मंसीर ७ गतेको हो । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा पथरीशनिश्चरे–५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बू रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुई वटा मोटरसाइकल ठक्कर खाँदा उनीहरुको मृत्यु भएको थियो ।

घटना नम्बर ३ः सुनसरीको खनारमा यात्रुबाहक बसले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको थियो । यो घटना मंसीर २ गतेको हो । कोशी राजमार्गअन्तर्गत खनारको शान्ति चोकमा मे१ख ४५७४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा साइकलयात्री इटहरी उपमहानगरपालिका–१०की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो । दुर्घटनापछि घटनास्थलबाट भागेको बसलाई स्थानीयले कोशी राजमार्गको खनार चोकस्थित सुनसरी–मोरङ सिञ्चाई आयोजनाको पुल नजिकै आगो लगाइदिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

घटना नम्बर ४ः मोरङको पथरीशनिश्चरेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । यो घटना मंसीर १ गतेको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार पथरीशनिश्चरे–७का १८ वर्षीय निश्चल आङ्दम्बे र पथरीशनिश्चरे–२का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको छ । टिपरको ठक्करबाट उनीहरुले ज्यान गुमााएको प्रहरीले जनाएको छ ।

यी माथिका घटनाको अनुसन्धान गर्दा तीब्र गति र चालकको लापरवाहीका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवाारीको तीब्र गतिका कारण दुर्घटना भएको जनाए पनि दुर्घटना न्यूनीकरणका लागि चलाइएका कतिपय अभियानहरु कार्यालय प्रमुख परिर्वतन भएसँगै अलपत्र बन्ने गरेको पाइएको छ । २०७५ सालमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको प्रमुखको जिम्मेवारी सम्हालेका तत्कालीन प्रहरी उपरीक्षक भीमबहादुर दाहालले झापा, मोरङ र सुनसरीमा सवारी साधनलाई टाइम कार्ड लागू गरेका थिए । सवारीको तीब्रगति रोक्ने र दुर्घटन कम गर्ने उद्देश्यले उनले उक्त अभियान शुरु गरेको र अभियान प्रभावकारी देखिएको थियो । उनी त्यहाँबाट सरुवा भए लगत्तै उक्त अभियान अलपत्र परेको छ ।

तर, अहिले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको नेतृत्व सम्हालिरहेको प्रहरी उपरीक्षक बिनोद घिमिरेले उक्त अभियानलाई पुनः निरन्तरता दिने बताएका छन् । पूर्वाञ्चलसँग कुरा गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले भने– पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको काँकरभिट्टादेखि सुनसरीको भाण्टाबारी, धरान र बिराटनगरसम्मको रुटमा सञ्चालन हुने सवारी साधनलाई मंसीर १५ गतेभित्र टाइमकार्ड लागू गर्ने निर्णय गरेका छौं । सार्वजनिक सवारी साधनको गतिलाई नियन्त्रण गर्दै दुर्घटनाको दर घटाउन सहयोग पु¥याउने अपेक्षासहित टाइम कार्ड लागू गर्न लागिएको प्रहरी उपरीक्षक घिमिरेको भनाइ छ ।

कोशी प्रदेशका जिल्लाहरुमा कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल तथा सुझाव संकलन गर्दै आफूहरुले चालकसँग एक मिनेट, सामाजिक सञ्जालमार्फत सचेतना, विभिन्न स्थानमा पुगेर ट्राफिक सचेतना, विद्यालयमा गएर विद्यार्थी तथा शिक्षकहरुलाई ट्राफिक नियम पालना सम्बन्धि कक्षाहरु सञ्चाालन गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । ‘टाइम कार्ड’ लागू भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छाप समेत लगाउनेछ ।

स्कूल बस पनि निगरानीमा

ट्राफिक प्रहरीले विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थी तथा शिक्षकहरुलाई ट्राफिक नियम पालना सम्बन्धी कक्षाहरु दैनिक रुपमा सञ्चालन गरिरहेको छ । तर, अधिकांश विद्यालयहरुले सञ्चालन गरिरहेका स्कूल बसहरुको कागजात फेल भएको तथा सिट क्षमताभन्दा धेरै विद्यार्थी राख्ने गरेको जनगुनासो आएसँगै त्यसतर्फ निगरानी बढाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

उनले भने– विद्यार्थीलाई ट्राफिक नियम सिकाउँछौं तर विद्यालय सञ्चालकले ट्राफिक नियम उल्लंघन गरेर सवारी सञ्चालन गरेको पाइए ठाँउका–ठाँउ कारबाही गर्छाैं । सचेतना धेरै गराएकाले अब स्कूल बस हो भन्दैमा कारबाहीबाट नजोगिने उनको भनाइ छ । उनले कुनै पनि सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्न नपाउने भएकाले विद्यालयहरुले सिट क्षमताभन्दा धेरै विद्यार्थी राख्ने गरेको पाइए कारबाही हुने जानकारी दिए ।

यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले केही विद्यालयहरुले अझै पनि कागजात फेल भएका सवारीहरु सञ्चाालन गरिरहेको स्वीकार गरेका छन् । पूर्वाञ्चलसँग कुरा गर्दै अध्यक्ष फागोले भने– प्याब्सन झापाले सबै विद्यालयहरुलाई सवारीको कागजातहरु अपडेट गर्न भने पनि केहीले अटेर गरेका छन् । उनीहरुलाई ट्राफिक नियम अनुसार कारबाही हुनुपर्छ ।

कुनै समय सवारीहरुले सिट क्षमताभन्दा धेरै विद्यार्थी राख्ने गरे पनि अहिले त्यस्तो समस्या कम हँुदै गएको भन्दै उनले यो समस्या समाधान गर्नका लागि विद्यालय सञ्चालक र अभिभावक बीच छलफल गरेर समस्याको समाधान गरिनुपर्ने बताए ।

अधिकांश शहरमा सिटीकै समस्या

झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा रहेका शहरी क्षेत्रमा सिटी सफारी मुख्य समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

शहरको जनसंख्यालाई धान्नेभन्दा धेरै मात्रामा सिटी सफारी, टेम्पो लगायतका सवारी धेरै हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।

सिटी सफारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले स्थानीय तहका जनप्रतिनिधि, यातायात कार्यालय, सडक डिभिजन कार्यालय, यातायात व्यवसायी लगायतसँग छलफल तथा अन्तरक्रिया गर्ने योजनासहितका कामलाई अघि बढाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here