एकवर्षमा जम्मा चौबिसओटा एकादशी हुन्छन् । चन्द्रमासका हिसाबले एक महनिामा दुई पक्ष हुन्छन् । कृष्ण पक्ष र शुक्लपक्ष । हरेक पन्ध्र दिनको एकपक्ष हुन्छ । यस हिसाबले एक महिनामा कृष्णपक्ष र शुक्लपक्षको गरी दुईओटा एकादशी र्र कवर्षमा चौबिसओटा एकादशी हुन्छन् । हरेक तीनवर्षको अन्तरमा आउने अधिकमासमा तेह्रओटा चन्द्रमास हुने हुँदा अरु दुईओटा एकादशी थपिन्छन् । त्यसैले अधिकमास भएका वर्णहरुमा २६ ओटा एकादशी हुन्छन् । अधिक वर्षमा थपिने एकादशीहरु पद्मिनी एकादशी र परम एकादशी हुन् । हरेक एकादशीका आफ्नै नाम, कारण र नामअनुसारकै फल दिने हुन्छन् ।
समग्रमा एकादशी व्रत भगवान विष्णुको आराधानाका लागि समर्पण गरिन्छ । एकादशी व्रतका प्रभावले घरमा सुख, शान्ति र समृद्धि बढ्दछ । हरप्रकारका संकटबाट मुक्ति मिल्दछ । दरिद्रताको अन्त्य हुन्छ र सौभाग्यमा वृद्धि हुन्छ । आर्थिक स्थितिको सुधार हुन्छ, पुण्य प्राप्त हुन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने बताइएको छ ।
एकादशीको व्रत गर्ने व्रतालुहरुले दशमीदेखि नै केही नियमको पालना गर्नुपर्दछ । दशमीकै दिनदेखि माछामासु, लसुन, प्याज, मुसुरोको दाल आदिको सेवन गर्नुहुँदैन । भोगविलासबाट अलग्गै रहेर ब्रम्हचार्यको पालना गर्नुपर्दछ ।
यसवर्ष २०८१ मङ्सीर ११ गते मंगलबार उत्पत्तिका एकादशी परेको छ । यस एकादशीको नाम किन उत्पत्तिका एकादशी रहन गयो? यसको महत्व के छ? भन्ने बारेमा जानौँ ।
पौराणिक कथाअनुसार सत्य युगमा मुर नामको एक बदशाली राक्षस थियो आफ्नो पराक्रमले उसले स्वर्गलाई समेत जितेको थियो । जसका कारण इन्द्र वायु, अग्नि लगायत समस्त देवीदेवताहरु जीवनयापनका लागि मृत्युलोक जानुपर्यो । देवराज इन्द्र दुखी भएर कैलाश पर्वतमा शिवजीलाई भेटेर भगवान भोलेनाथलाई आफ्नो दुःख बताउनुभयो । इन्द्रको प्रार्थना सुनेर शिवजीले नारदलाई भगवान विष्णुकहाँ जाने सल्लाह दिनुभयो ।
भगवान शिवजीको सल्लाह अनुसार देवराज इन्द्र लगायत सम्पूर्ण देवगण क्षीरसागरमा भगवान विष्णुका शरणमा गएर मुर नामक राक्षसबाट आफूहरुले ज्यादै दुःख पाएको र उक्त राक्षसबाट आफूहरुको रक्षा गरिदिन प्रार्थना गर्न थाले । भगवान विष्णुले सबै देवीदेवतालाई आश्वासन दिँदै त्यो राक्षसबाट रक्षा गर्ने बाचा गर्नुभयो । देवी देवताहरु खुशी हुँदै भगवान विष्णुको जयजयकार गर्दै क्षीर सागरबाट बिदा भए । तत्पश्चात् भगवान विष्णु र मुर राक्षसको बीच वर्षौसम्म युद्ध चलिरह्यो । युद्धकै क्रममा भगवान विष्णुलाई निन्द्रा लाग्यो र विश्राम गर्न भनी उहाँ एउटा गुफामा गएर शयन गर्न लाग्नुभयो । सुतिरहनुभएका भगवान विष्णुमाथि मुर राक्षसले आक्रमण गर्न खोज्यो । त्यसैबेला विष्णुका शरीरबाट एक कन्या उत्पन्न भइन् र राक्षस मुरसँग युद्ध गर्न लागिन् । यस युद्धमा ती कन्याद्वारा राक्षस मुरको मृत्यु भयो ।
त्यसपश्चात् भगवान विष्णुको निन्द्रा खुल्यो र उहाँलाई थाहा भयो कि, कोही कन्याद्वारा भगवान विष्णुको रक्षा भयो र राक्षसको मृत्यु भयो । त्यो दिन एकादशी थियो । भगवान विष्णुले ती कन्यासँग भन्नुभयो “हे देवी तपाईँको जन्म एकादशीका दिन भयो । त्यसैले तपाईँ एकादशी देवीकी नामले चिनिनुहुनेछ । जो मनुष्य तपाईँको पुजा गर्छन् उनका सबै पाप नष्ट हुनेछन् ।” त्यसै दिनदेखि एकादशीको व्रत पुजाको प्रचलन शुरु भयो । मुर नामको राक्षसको वध गर्नका लागि देवीस्वरुप कन्या उत्पन्न भएको त्यसै दिनलाई उत्पत्तिका एकादशी भनिन्छ ।
पूजा विधि
उत्पत्तिका एकादशीको व्रत राख्ने श्रद्धालुले दशमीकै दिनदेखि अन्न ग्रहण गर्नुहुँदैन । सात्विक भोजन गर्नुपर्दछ । दोस्रो दिन बिहान उठेर स्नानादिकमएले तिवृत्त भएर व्रतको संकल्प लिनुपर्दछ । संकल्प पश्चात् पुष्प, जल, धूप, दीप, अक्षता आदिद्वारा भगवान विष्णुको विधिव्रत पूजा अर्चना गरेर आरती गर्नुपर्दछ ।
तत्पश्चात् फलको भोग लगाउनुपर्दछ । साँझमा श्रीहरीको सन्ध्यापूजन गर्ने र भोग लगाउने रात्रीमा जाग्रम बस्ने र द्वादशीका दिन कुनै ब्राम्हणलाई भोजन गराई दक्षिणा दिने र आफूले भोजन गर्ने सामथ्र्यअनुसार कुनै गरिब, असहाय वा अशक्तलाई अन्न, भोजन, वस्त्र दक्षिणा आदि दान गर्ने ।