पिछडिएको समुदायमा उपेक्षित तथा उष्णप्रदेशीय रोग उच्च

0
15

उद्धव पुरी,
लक्ष्मीपुर ।

 

उपेक्षित तथा उष्ण प्रदेशिय रोगबाट धेरै जसो आर्थिक, सामाजिक र शिक्षाको पहुँच नपुगेका समुदायमा देखिएको छ । उपेक्षित तथा उष्ण प्रदेशिय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य स्यार र अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सुधारमा सञ्चार क्षेत्रको भुमिका बिषयक अनुगमनका क्रममा सो समुदायमा रोगीको संख्या धेरै देखिएको हो ।

झापा गाउँपालिकामा हात्तीपाइले रोगी आर्थिक, सामाजिक र शिक्षाको पहुँच नपुगेका समुदायमा देखिएको छ । हाल फेयरमेड फाउण्डेशन नेपालद्धारा सञ्चालित विश्वास परियोजना तथा कार्यक्रम कार्यन्वयन संस्था सहारा नेपाल र रणनीतिक साझेदार करुणा फाउण्डेशन नेपालले त्यस्ता समुदायमा जनचेतनामूलक कार्यक्रमसहित खोजप्रतालमा सहयोग गरेसँगै क्रमश त्यो समुदायमा रोगीको संख्या घट्दै गएको छ ।

आज (मंगलबार) पत्रकारसहित झापा गाउँपालिका र कनकाई नगरपालिकामा सञ्चारकर्मीसहित हात्तीपाइले, कुष्ठ रोगी, वर्थ सेन्टर र स्वास्थ्य महिला आमा समुहको अनुगमन गरेको छ । सोही अनुगमनका क्रममा आर्थिक, सामाजिक र शिक्षाको पहुँच नपुगेका समुदायलाई फेयरमेडले स्वास्थ्यपचारमा पहुँच पुर्याउँदै सहायक सामाग्रीसमेत बितरण गर्दै आएको स्थानीयले बताएका छन् ।

अनुगमनका क्रममा झापा गाउँपालिका–५ पन्थापाडामा दुई जना हात्तीपाइले रोगीसँग भेट गरेको थियो । उनीहरु आर्थिक, सामाजिक तथा शिक्षामा पहुँच नपुगेका रोगी छन् । झापा–५ की ७० बर्षिया बिनोदेवी गणेश र अर्की ७० बर्षिया खिरमन गणेश हात्तीपाइले रोगबाट पिडीत छन् । दुई जना मध्ये बिनोदेबीलाई सहायक सामाग्रीसमेत बितरण गरिएको थियो ।

सहारा नेपालले बिगत ४ बर्षदेखि फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा विश्वास परियोजना झापा र मोरङका गाउँपालिका तथा नगरपालिकाहरुसँग समन्वय गरेर काम गर्दै आएको छ । स्थानीय स्वास्थ्य प्रणालीलाई सुदुढ पार्ने र स्वास्थ्य ब्यहार प्रर्वधन, शिक्षा सशक्तिकरण र स्थानीय समुदाय परिचालन गर्ने लक्ष्यका साथ पालिका तथा जिल्ला स्वास्थ्य कार्यालय समन्वयमा कार्य गर्दै आएको प्रोग्राम को–अडिनेटर पवन राईले जानकारी दिए ।

उनले कुष्ठ रोगसहित अन्य रोगीलाई नेपाल सरकार अन्तरगतको स्वास्थ्य बोर्डले स्वास्थ्य बिमा कार्ड दिएपनि हात्तीपाइले रोगीका लागि नदिएको गुनासो गरे । स्वास्थ्य विकास बोर्डले हात्तीपाइले रोगको आम औषधी सेवन गराएको भएपनि त्यस्ता रोगीलाई स्वास्थ्य बिमा कार्ड उपलब्ध गराउनु पर्ने उनको धारण छ ।

स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यर्की र सम्बन्धीत निकायको ब्यवस्थापकिय क्षमता सुद्धिकरण गरी एकीकृत समतामूलक र पारदर्शी स्वास्थ्य सेवा बिस्तार गर्ने, सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने र समुदायका ब्यक्तिहरुको क्षमता बृद्धि गरी स्वास्थ्य सेवा पहँच बढाउने उदेश्यले झापा र मोरङका लक्षित पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो ।

यता झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले केही समय अघिसम्म गाउँपालिकामा बिभिन्न रोगका धेरै बिरामी भएको र फेयरमेडसँगको सहकार्यपछि हाल गाउँपालिकामा त्यस्ता रोगीको संख्या एकदमै कम भएको बताए । हाल गाउँपालिकामा पुराना र नयाँ गरेर १७९ हात्तीपाइले र ४ जना मात्र कुष्ठ रोगी भएको न्यौपानेले जानकारी दिए ।

यसैगरी फेयरमेडले झापा गाउँपालिकाको आधारभूत अस्पतालको बर्थिङ सेन्टरलाई बिभिन्न उपकरणसहित स्थानीयमा जनचेतना मूलक कार्यक्रम गरेसँगै हाल उक्त अस्पतालमा सुत्केरी गराउन आउने महिलाको संख्यामा बृद्धि भएको अस्पतालकी बर्थीङ सेन्टरकी इन्चार्ज पवित्रा बस्नेतलले जानकारी दिइन् ।

उनका अनुसार केही बर्षअघिसम्म बर्षभरीमा ११ जना महिलाले त्यहाँबाट सुत्केरी गराएका थिए भने गत आर्थिक बर्षमा ६२ जनाले गराएका छन् । यस बर्षको साउन महिनादेखि हालसम्म २९ जना महिलाले अस्पतालमै आएर शिशु जन्माइसकेका छन् साथै चेकजाँजमा समेत आउने गरेका छन् ।

अनुगमनका क्रममा सहारा नेपालका सह–सचिव लालबहादुर गिरी, कोषाध्यक्ष श्यामकुमार प्रधान, प्रोग्राम को–अडिनेटर पवन राई, करुणा फाउण्डेशनका कार्यक्रम संयोजक अंकित पाठक, झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेलगायत सहभागीता रहेको थियो । अनुगमनपछि सहारा नेपालका संरक्षक छबिलाल खतिवडाको उपस्थितिमा अनुगमनको समिक्षा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here