नरेन्द्र ढकाल,
बिर्तामोड ।
झापामा पछिल्लो समय बालयौन दुरुपयोगका घटनामा वृद्धि भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा झापामा बालयौन दुरुपयोगका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८०÷२०८१मा ३१ बटा बाल यौन दुरुपयोगका घटना भएका छन् भने चालूआर्थिक वर्षको हालसम्म बालयौन दुरुपयोगका नौ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार झापामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका घटना रोक्न प्रहरीले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । आर्थिक वर्ष २०८०÷०८१मा जबरजस्ती करणीका एक सय सात वटा, जवरजस्ती करणी उद्योगका २४, बहुविवाह २६, मानव बेचबिखन एक, अप्राकृतिक मैथुन एक, गर्भपतन एक, बालयौन दुरुपयोग ३१, जातीय छुवाछूत दुई, र कर्तव्य ज्यान सातवटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै चालूआर्थिक वर्ष २०८१÷०८२मा ४८ वटा जवरजस्ती करणाीका घटना भएका छन् भने जबरजस्ती करणी उद्योग दुई, बहुविवाह तीन, बाल विवाह एक, मानव बेचविखन एक, अप्राकृतिक मैथुन दुई, बालयौन दुरुपयोग नौ, कर्तव्य ज्यान तीन, भवितव्य ज्यान १३ र आत्महत्याका १५ वटा घटना भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान मंसीर २४ गतेसम्म झापासहित देशभर सञ्चालन भइरहेको छ । खुल्ला सीमाना कारण झापामा मानव बेचबिखन लगायतका घटनाहरु चुनौतिका रुपमा रहेको प्रहरीले जनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विभिन्न संघ–संस्था, राजनीतिक दल, जनप्रतिनिधि लगाायतसंग सहकार्य गर्दै अपराध नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
उनले पूर्वाञ्चलसँग कुरा गर्दै भने– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा मात्र होइन जिल्ला प्रहरी कार्यालय झापाले हरेक दिन विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । उनले समाजमा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग आवश्यक रहेको भन्दै कुनै आपराधिक गतिविधि भइरहेको थाह भए तत्काल प्रहरीलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।
सीमामा प्रहरीको सहायता
विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई सीमापारी पु¥याएर बेचबिखन गर्ने घटना बढ्दै गएपछि प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी बढाएको छ । मानव बेचबिखनमा लागेका व्यक्तिहरुको ललाइफकाइमा परेर सीमा पार गर्न लागेको महिला तथा बालबाालिकाको उद्धारमा झापा प्रहरीको प्रयास प्रशंसायोग्य रहेको तथ्याङ्कहरुले पुष्टि गर्छ ।
आर्थिक वर्ष २०८०/०८१मा सीमानाकाबाट उद्धार गरिएका माहिला तथा बालबालिकाहरु तीन सय सात जना महिला, ६७ जना बालक, एक सय ४१ जना बालिका तथा ५९ जना पुरुषसहित पाँच सय ७४ जनालाई पनि सीमा क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै चालूआर्थिक वर्षको हालसम्म ४५ जना महिला, सात जना बालक, ३४ जना बालिका र एक जना पुरुष गरी ८७ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेर सम्बन्धित परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । उनले भने– विभिन्न संघ–संस्थासँगको समन्वयमा हामीले धेरै महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएका छौं ।
हराउने भन्दा फेला पर्ने कम
पछिल्लो समय सामान्य घर झगडा होस् यो कुनै पनि बहानामा घर छाडेर बेपत्ता हुने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गतआर्थिक वर्ष २०८०/०८१मा तीन सय ६२ जना महिला हराएकामा दुई सय ८५ जना मात्रै फेला परेका थिए । ७७ जना महिला अझैसम्म पनि फेला पर्न नसकेको जनाइएको छ ।
झापाका प्रहरी कार्यालयमा प्राप्त उजुरीका आधारमा झापासहित देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरेर खोजतलास गर्ने गरेको जनाइएको छ । हराएका केही आफैं घरमा आउने तथा आफन्तले फेला पारेर पनि प्रहरीलाई जानकारी नदिँदा यो संख्या उच्च देखिएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस्तै चालू आर्थिक बर्षको हालसम्म ९० जना महिला हराएको निवेदन दर्ता भएको र हालसम्म ४० जना महिला फेला परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । अझै ५० जना महिला फेला पर्न नसकेको जनाइएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१मा एक सय ८७ पुरुष, ४४ जना बालक, एक सय ६७ जना बालिका ३६ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष हराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सोही अवधिमा एक सय ३५ पुरुष, ४३ बालक, एक ५१ बलिका र २७ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष फेला परेका छन् । हालसम्म ५२ जना पुरुष, एक बालक, १६ जना बालिका र नौ जना ज्येष्ठ नागरिक पुरुष फेला नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको हालसम्ममा ५५ जना पुरुष, २१ बालक, ४६ जना बालिका र १६ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष हराएका छन् । सोही अवधिमा २७ जना पुरुष, १० जना बालक, २८ जना बालिका र ८ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष फेला परेको जनाइएको छ । २८ जना पुरुषसहित ११ जना बालक, १८ जना बालिका, ८ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष अझै फेला नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
घरेलु हिंसामा सहमति
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अधिकांश घरेलु हिंसाका मुद्दाहरु सहमतिमा टुङ्गिने गरेको पाइएको छ । जिल्लाका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयका साथै जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८०/०८१मा एक सय ९८ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए । जसमध्ये एक सय ४० वटा उजुरीमा सहमति भएको थियो । अझै ५७ वटा उजुरीमा सहमति हुन बाँकी रहेको छ भने एउटा उजुरीमा सहमति नभएपछि अदालत पठाएको जनाइएको छ ।
त्यस्तै चालू आर्थिक वर्ष २०८१/०८२को हालसम्म २८ वटा उजुरी दर्ता भएका छन् भने १८ वटामा सहमति भएको छ । ९ वटामा सहमति हुन बाँकी रहेको छ भने एउटा उजुरीमा सहमति हुन नसकेपछि अदालत पठाइएको प्रहरीले जनाएको छ ।
हिंसा गर्नु अपराध भएकाले अपराध गर्ने जो कोही पनि कानूनी कारबाहीमा पर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक चन्दले बताए । उनले भने– अधिकांश घरेलु हिंसाका उजुरीमा श्रीमान–श्रीमतीका झगडाका विषय आउँछन्, त्यसलाई दुवै पक्ष राखेर छलफलको माध्यमबाट मिलाउने प्रयास हुन्छ, अधिकांश गल्ती नदोहो¥याउने शर्त सहित मिलेर जानुहुन्छ । मिल्न नसक्नेलाई हामीले अदालती प्रक्रियामा जान सुझाव दिने गरेका छौं । पीडित पक्षले माफी दिएपछि मात्रै यस्ता उजुरी सहमतिमा टुङ्गिने गरेको जनाइएको छ ।
मानव बेचबिखनका घटनामा कमी
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मानब बेचबिखन तथा ओसारपसारका घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७८/०७९मा पाँच वटा मुद्दा दर्ता भएको थियो भने दुई महिलासहित सात जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७९/०८०मा तीन वटा उजुरी दर्ता भएका थिए भने दुई महिलासहित पाँच जना पक्राउ परेका थिए । अझै पाँच जना फरार रहेका छन् ।
गतआर्थिक वर्ष २०८०/०८१मा एउटा मुद्दा दर्ता भएको थियो एक महिलालाई पक्राउ गर्न प्रहरी सफल भएको थियो । चालू आर्थिक वर्षमा एउटा मुद्दा दर्ता भएको छ भने घटनामा संलग्न एक जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सीमा क्षेत्र तथा ग्रामीण बस्तीका साथै शहरी क्षेत्रमा मानव बेचबिखनबिरुद्धका सचेतना अभियान सञ्चालन गर्नुका साथै सीमा क्षेत्रमा निगरानी बढाए पनि मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी नआएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक चन्दले बताए ।