तीव्रगतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै देशका विभिन्न जिल्लामा ‘टाइमकार्ड’ लागू गर्न थालिएको छ । लामो तथा छोटो दुरीका सार्वजनिक सवारीहरुका लागि सवारी, सवार र पैदलयात्रीको सुरक्षाका लागि लागू गरिएको टाइमकार्ड सहयोगी हुने विश्वास गरिएको छ । हाम्रो देशमा पछिल्लो समय पूर्वको मेचीदेखि पश्चिमको महाकाली र पहाडदेखि उपत्यकासम्मै दिनहुँ हुने दुर्घटनाका कारण कैयनले जीवन गुमाउनु परिरहेको छ । त्यही अकाल मृत्युवरण गर्नु परेको अवस्थालाई दृष्टिगत गरी कोशी प्रदेशमा समेत टाइमकार्डको व्यवस्था गर्न लागिएको हो । सडक यात्रा र सवारी गन्तव्य सुनिश्चित गर्ने दायित्व भएको ट्राफिक प्रहरी थोरै जनशक्तिका साथ सेवा गरिरहेको छ, तर दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।
ट्राफिक प्रहरी कार्यालय कोशीको तथ्यांक अनुसार कोशी प्रदेशमा अहिले औसतमा दैनिक एक जनाले ज्यान गुमाउनु परेको छ । कोशीका चौध वटा जिल्लामा भएका दुर्घटनामा मंसीर महिनाको दश दिनमा दश जनाकै मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीको अनुसन्धान तथा विश्लेषणले दुर्घटनाको कारण तीव्रगति र चालकको लापरवाहीलाई मुख्य कारण ठह¥याएको छ । ट्राफिक प्रहरीले गरेको नियमित चेकजाँच, कारवाही र सचेतनाका वावजुद न्यूनीकरण हुन नसकेको दुर्घटना टाइमकार्डले हुने उसको विश्वास छ । किनकि यसले निश्चित दूरी निर्धारित समयमा मात्र पूरा हुन्छ, जसले सवारी गतिमा मात्र कुदाउन पाइन्छ ।
सडक, सवारी र यात्रुहरुको सुरक्षाका लागि गठन गरिएको ट्राफिक प्रहरीको जनशक्ति सडक, सवारी र यात्रुहरुको तुलनामा थोरै छ । आवश्यक साधन, स्रोत र उपकरणको अभावमा ट्राफिक व्यवस्थापन अपेक्षाकृत कमजोर छ । त्यसकै दुरुपयोग गर्दै क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको नियमित चेकजाँच तथा मर्मत नगर्ने, पुराना सवारी सञ्चालन गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने जस्ता कारणले सडक दुर्घटनामा कमी आउन सकेको छैन । त्यस्तै जीर्ण सडकको मर्मतसम्भार नहुँदा पनि सवारी दुर्घटनाको क्रम बढिरहेको छ । पहिल्लो समय सवारी चालकहरुमा तीव्र प्रतिष्पर्धा हुने गरेको छ । यात्रुलाई छिटो पुग्न र चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा सवारीको गति बढ्छ । जसलाई रोक्न टाइमकार्ड सहयोगी हुनेछ ।
कोशी प्रदेशमा सवारी दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रजिअ रामचन्द्र तिवारी, प्रहरी प्रमुख सुमन तिम्सिना, ट्राफिकका विनोद घिमिरे, जनप्रतिनिधि, यातायात व्यवसायी, सडक विभागका प्रतिनिधि, सरोकारवाला निकायसहितको बैठकले कोशीमा टाइमकार्ड लागू गर्ने निर्णय गरेको हो । टाइमकार्ड लागू भएपछि निश्चित दूरी निर्धारित समयमा मात्रै पार गर्नुपर्ने हुन्छ । यसले सवारीको गति नियन्त्रित हुन्छ र दुर्घटनाको सम्भावना कम हुन्छ । यसका साथै सडक अतिक्रमण हुन नदिएर, ट्राफिक प्रहरीलाई स्रोत र साधनयुक्त बनाएर, जनशक्ति थपेर सडक अनुगमन र नियमनलाई दुरुस्त राख्नुपर्छ । सँगै पैदलयात्री, सडक प्रयोगकर्ता सबैलाई सचेत गराउनुपर्छ । अनि मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।