सार : सनातन धर्ममा खासगरी हिन्दू, जैन, बौद्ध, किरात धर्मलाई सम्झनुपर्ने हुन्छ । प्राचीन समयदेखि नै यी धर्महरू शुरु भई हालसम्म अस्तित्वमा रहेकाले सनातन भनिएको हो । यी धर्ममा महिलाको स्थान महत्वपूर्ण रुपमा रहेको पाइन्छ । प्राचीन धर्ममा मानव कल्याण र परोपकार सम्बन्धी विषय वस्तुहरू विजारोपण गरिएको देखिन्छ । तीनलाई आजको कानूनी युगमा मानव अधिकारको रुपमा व्यवस्थित गरिएको छ । मानव हित र कल्याणको लागि प्राचीन धर्म र वर्तमान कानूनका मापदण्डहरू समान देखिन्छन्, जसमा महिला अधिकारलाई सुनिश्चित गरिएको पाइन्छ ।
यस लेखमा मुख्य शब्दहरू :
प्राचीन धर्म, महिला अधिकार, आधुनिक कानून, मानव अधिकार, नेपालको संविधान ।
सनातन धर्ममा महिलाको स्थान :
प्राचीन समयमा सुव्यवस्थित गरिएको मापदण्डहरू महिलाका लागि पुरूषसरह समान रहेको पाइन्छ । धेरै पुरानो मानिने ग्रन्थ ऋग्वेदमा उल्लेख गरिएका महत्वपूर्ण महिला पात्रहरूको बर्णनले पनि पुष्टि हुन्छ कि पुरूष र नारीको स्थान समान थियो । पुरूषले सूत्रको रचना गर्ने र यज्ञ गर्ने कर्तव्य त्यो समयका महिलाहरूले पनि गरेका थिए । वाक आमभ्रिणी, सूर्या सावित्री, यमी वैवस्वती र उर्वशी जस्ता महिलाहरूले आफ्नो ज्ञान र बुद्धिमताको कारण बौद्धिक समाजमा उच्च स्थान प्राप्त गरेका थिए ।
त्यसैगरी बौद्धवादमा लैङ्गिक समानताको दृष्टिकोणहरू प्रशस्त पाइन्छ । करुणा, मैत्री, मुदिता र उपेक्षाको विहार गर्नुपर्ने अभ्यासले संसारमा रहेका कुनै पनि प्राणीलाई हानी पुग्दैन भन्ने बुद्धिजममा उपदेशहरू रहेका छन् । आजभन्दा २६ सय वर्षअघि गौतम बुद्धले आफूभित्रै चिन्तनमनन गरी ध्यानबाट ज्ञान प्राप्त गरेर सबैको कल्याणका निम्ति उमेर ३५ देखि निरन्तर ८० वर्षसम्म अर्थात् ४५ वर्षको अवधिसम्म खटिरहनुभयो, शिक्षा दिइरहनु भयो । दुःख, दुःख हुने कारण र समाधानका उपायबारे मानिसहरूलाई बताउनुभयो ।
प्राचीन बौद्ध पालि ग्रन्थ अन्तर्गत विनय पिटक र सुत्त पिटक महिलाहरूका लागि विशेष महत्वपूर्ण छ । बुद्धले महिलाहरूलाई भिक्षुणीको रुपमा दिक्षित गरी निर्वाण प्राप्तिका लागि मार्ग प्रशस्त गर्नुभयो । यसरी बुद्ध धर्ममा महिलालाई भिक्षुणी बन्ने अनुमति दिइएकाले धार्मिक जीवनमा समान अवसर दिइएको थियो भन्न सकिन्छ । बुद्ध शिक्षाले महिलालाई समान पहुँचमा पु¥याएको देखिन्छ । हुन त बौद्ध धर्मको प्रारम्भिक चरणमा केही सांस्कृतिक र सामाजिक सीमाहरूले गर्दा महिलाहरूको भूमिका सिमित गरिएको थियो । पुरुष भिक्षुभन्दा महिला भिक्षुणीले बढी नियमहरू पालना गर्नु पर्दथ्यो । तर, यो भिक्षुणीहरूको सुरक्षाको लागि नै थियो । धम्मपद बुद्धका उपदेशहरूको संग्रह हो । यसमा नैतिकता, करुणा र समानताको शिक्षा पाइन्छ । धम्मपदले जीवनको मुलभूत सिद्धान्तहरूलाई प्रवद्र्धन गर्छ । जसमा सबै प्राणीलाई समान रूपमा हेर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ ।
अहिलेको समयमा बौद्ध परम्परामा समानताका दृष्टिकोणहरूमा परिवर्तन आएको छ । बौद्ध महिलाहरूको भिक्षुणी आन्दोलनले विभिन्न देशहरूमा महिलाहरूका अधिकार र अवसरहरूको लागि आवाज उठाएको पाइन्छ । यी आवाजहरूले बौद्ध शिक्षाहरूलाई आधुनिक मानवीय अधिकारसँग जोडेर हेर्ने गरेको छ । प्राचीन ग्रन्थहरूलाई आधुनिक कानूनहरूसँग जोड्नु सान्दर्भिकता र महत्वपूर्ण देखिन्छ । पालि र महायान ग्रन्थहरूमा ज्ञान प्राप्त गर्न सबै प्राणीको समान अधिकार रहेको कुराले आधुनिक कानूनी संरचनामा समावेश गर्दा लैङ्गिक समानताको सिद्धान्तलाई थप सुदृढ गर्न सकिन्छ ।
बौद्ध शिक्षाका आधारभूत सिद्धान्त शील, समाधि र प्रज्ञा छन् । पञ्चशील अन्तर्गत प्राणीको हिंसा नगर्नु, चोरी नगर्नु, झुठो नबोल्नु, व्ययविचार नगर्नु, मादक पदार्थ सेवन नगर्नु भन्ने शिक्षा रहेको छ । महिला पनि प्राणी नै भएकोले महिला माथि हिंसा हुनुहुँदैन भन्ने कुरा हरेक मानिसले बुझ्नु जरुरी छ । कुनै पनि महिलाप्रति व्ययविचारको भावना वा प्रयोग गर्नुहुन्न भन्ने हो । यसप्रकार गौतम बुद्धले मानिसलाई पाँच प्रकारको शीलको पालना गर्न निर्देश गर्नुभएको छ । महिलाको सुरक्षामा यी पाँच प्रकारकै शीलले कार्य गर्छ । चोरी गर्नाले, झुठो बोल्नाले, मादकपदार्थ सेवन गर्नाले घर, समाज र देशकै पुरूष र महिलालाई ठूलो असर परिरहेको हुन्छ । तसर्थ यी यस्ता खराब कार्यहरू महिला र पुरूष दुबैको लागि बराबर हानी, नोक्सानी नै छ ।
बौद्ध धर्मले अहिंसा र करुणाको सिद्धान्तलाई जोड दिन्छ । यो सिद्धान्तले आजको न्याय प्रणाली र कानूनी सुधारका लागि उपयोगी भूमिका खेल्न सक्छ । करुणा सिद्धान्तले आजको न्यायमा दण्ड व्यवस्था गर्नुको सट्टा पूनःस्थापनामा केन्द्रित हुने पूनस्र्थापनात्मक न्याय प्रणालीलाई प्रवद्र्धन गर्न सक्छ । सबै जात, वर्ग र लिङ्गका व्यक्तिहरूलाई समान अवसर र अधिकार दिएको बौद्धकालिन घटनाहरूबाट बोध हुन्छ । बौद्ध धर्मले लिएको यो सिद्धान्तलाई आधुनिक कानूनहरूसँग जोडेर समतामूलक समाज निर्माण गर्न सकिन्छ ।
तुलनात्मक अध्ययन :
बौद्ध धर्मका प्राचीन शिक्षाहरू र आधुनिक कानूनहरूमा महिलाको अधिकारबारे के–के समानता र अन्तरहरू छन् भन्ने बुझ्न महत्वपूर्ण छ । यस कुरालाई तलका दस्तावेजहरूको अध्ययनले अझ प्रष्ट हुन सकिन्छ ।
क. सुत्त पिटक
ख. विनय पिटक
ग. अभिधम्म पिटक
घ. संयुक्त राष्ट्रसंघको घोषणा पत्र
ङ. नेपालको संविधान २०७२
यो तुलनात्मक अध्ययनले नेपाली मात्र होइन, संसारका महिलाहरूको सम्मान, सुरक्षा र हक–अधिकारबारे विभिन्न शिक्षाहरू प्राप्त गर्न सकिन्छ । यस लेखमा यी सन्दर्भ सामग्रीहरूमा भनिएका कुरालाई विस्तृत रुपमा अटाउन सम्भव भएन । तर पनि सारमा बौद्ध शिक्षालाई आधुनिक कानूनसँग जोड्ने कोशिस गरिएको छ ।
सुत्त पिटकमा महिलाहरूको शिष्यत्व र तिनीहरूको धार्मिक अभ्यासबारे उल्लेख गरेको छ । यो ग्रन्थले महिलाको अधिकार र सम्मानको महŒव दिएको छ । विनय पिटकमा महिला र पुरुष भिक्षुको बानी–व्यहोरा अनुशासनबारे व्याख्या गरिएको छ । यो ग्रन्थले पनि महिलालाई सुरक्षा प्रदान गरेको देखिन्छ । अभिधम्म पिटकमा बुद्ध र उहाँको शिष्यहरूले दिनुभएको उपदेश र वचनहरू रहेका छन् । यी उपदेशहरू हरेक प्राणीको लागि भलाइ र मुक्तिका लागि बैशाखीको रुपमा रहेको पाइन्छ ।
गौतम बुद्धले ध्यानमा पत्ता लगाउनुभएको परमार्थ सत्य हो । यो सत्य भनेको जे छ त्यही–त्यही रुपमा हेरिनु पर्छ भन्ने हो । वास्तविक रुपमा पक्षपात नगरिकन तटस्थ भावले हेरिनुपर्छ । सारंगीको तारलाई खुकुलो राखियो भने सुरिलो आवाज आउँदैन । धेरै कसियो भने तार नै चुडिन्छ । तसर्थ बीचको मार्ग अपनाउँदा कम र बेसी नगरी मध्यम कस्नु पर्छ । यसैप्रकार बुद्धले मध्य मार्ग अपनाउनु भएको छ । उहाँले राग र द्वेषलाई त्याग गरेर तटस्थ भाव राखिएमा अनेकौं प्रकारका दुःखबाट मुक्ति पाइन्छ भन्नुभएको छ । उहाँले प्रज्ञालाई जोड दिनु भएको छ ।
प्रज्ञामा करुणा, मैत्री, मुदिता रहेको हुन्छ । हरेक प्राणीप्रति दया भाव राख्नुपर्छ । प्राणीहरूको दुःखलाई हटाउन सहयोग गर्नुपर्छ । यस्ता भावले ओतप्रोत दर्शनले मानवलाई शान्ति हुन प्रेरित गर्छ । हरेकले सुरक्षित हुन प्रेरणा मिलेको छ भन्न सकिन्छ । १० डिसेम्बर १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्वव्यापीरुपमा गरेको घोषणा पत्रमा धारा १ देखि ३० सम्म मानव अधिकारका कुराहरूलाई समेटेको छ । धारा–१ मा सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुन्छन् भनिएको छ । यहाँ विभेद छैन । सबै व्यक्ति भनिएको छ ।
धारा–२ मा जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव बिना प्रत्येक व्यक्तिलाई अधिकार र स्वतन्त्रताको अधिकार हुनेछ । यहाँ पनि विभेद गरिएको छैन । प्रत्येक व्यक्ति भनिएको छ ।
यसप्रकार धारा–३० सम्म रहेको घोषणा पत्रमा महिला वा पुरूष भनेर छुट्याउने र विभेद गर्ने शब्दहरू छैनन् । ‘सबै’ वा ‘प्रत्येक व्यक्ति’ भन्ने शब्दले महिला र पुरूषप्रति समान दृष्टिकोण र समान मापदण्डहरू रहेको प्रष्ट देखिन्छ ।
नेपालको संविधान २०७२ को धारा –३८ मा मौलिक हकको रुपमा महिलाको हक भनेर महिलालाई सम्मान र अवसरहरू तथा सुरक्षाका कुराहरू उपधारा १ देखि उपधारा ६ सम्म उल्लेख भएको देखिन्छ ।
उपधारा–१ मा लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ भनिएको छ । उपाधारा–२ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजजन् स्वास्थ्य सम्बन्धी हक हुने उल्लेख छ । उपधारा–३ मा महिलाबिरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य दण्डनीय हुनेछ भनिएको छ । त्यसगरी उपधारा–४ मा समानुपातिक समावेशीको कुरा गरिएको छ भने उपधारा–५ मा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक उल्लेख छ । त्यस्तै उपधारा–६ मा सम्पति र पारिवारिक मामिलामा दम्पतिको समान हक हुने कुरालाई व्यवस्था गरेको देखिन्छ । यसरी माथि उल्लेख भएका आधुनिक कानून र मापदण्डहरू जति पनि निर्माण भएका छन्, ती प्रायः जसो सनातन धर्ममा रहेका विषय वस्तुहरू सँग समान देखिन्छन् ।
निष्कर्ष :
आजसम्म आइपुग्दा गौतम बुद्धका शिक्षा र उपदेशहरू मानव अधिकारका सन्दर्भमा विरोधाभाष देखिएको छैन । राग, द्वेषलाई हटाएर हरेक प्राणीप्रति करुणा, मैत्री भाव प्रकट गर्दा विभेद नहुने र महिला तथा पुरूषबीच समानता रहने प्रष्ट हुन्छ । हरेक प्राणीभित्र महिला पनि समेटिनुभएको हुँदा महिलालाई प्राचीन धर्ममा पनि समानताको अधिकार सुनिश्चित छ भन्न सकिन्छ । ऋग्वेदमा समेत महिलाहरूको स्थान पुरूषसरह समान रहेकाले सनातन धर्ममा महिलाको अधिकार समानरुपमा स्थापित रहेको छ भन्न सकिन्छ । यो विषय वस्तुलाई आजको आधुनिक कानूनले पनि आत्मसात गरेको देखिन्छ । केवल हरेक मानिसले लागू गर्न बाँकी रहेको देखिन्छ ।
सन्दर्भ स्रोतहरू :
१. संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणा पत्र, १९४८ डिसेम्बर १०
२. नेपालको संविधान २०७२
३. पौड्याल, उमाकान्त (२०८०), बुद्धकालीन समाज
४.Subedi, Manjeel (2016), Women in the eyes of the Buddha a gender.
५. Vinaya Pitaka. Translated by I.B. Horner. LondonM Palitext Society, 1938-1966.
६. Sutta Pitaka (Anguttara Nikaya, Samyutta Nikaya). Translated by Bhikkhu Boddhi. BostonM Wisdom Publications 2000.
७.Paul, Diana Y. (1985), Women in BuddhismM Images of the Feminine in the Mahayana Tradition. Berkeley. University of California Press.