‘अपाङ्गता स्वावलम्वन समाजका लागि अक्षयकोष स्थापना गर्ने’

0
65

अर्जुनधारा ।

झापा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले अर्जुनधारा अपाङ्गता स्वावलम्वन समाजका लागि अक्षयकोषको स्थापना गर्ने बताएकी छिन् ।

३३औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भमा समाजको आयोजनामा अर्जुनधारा–८स्थित श्री शिवालय मन्दिरको सभाहलमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् ।

अपाङ्गता समन्वय समितिकी संयोजक समेत रहेकी उनले स्थापना गरिएको अक्षयकोषबाट अपाङ्गताको क्षेत्रमा समाजले सञ्चालन गर्ने विविध कार्यक्रमका लागि सहज हुने दावी गरिन् ।“चालु आर्थिक वर्षमा नभए पनि सबैको समन्वयमा आफ्नो कार्यकालभित्र अक्षयकोष स्थापना गर्नेछौं ।”–उनले स्पष्ट पारिन् ।

समाजका अध्यक्ष केवल बाँनीयाको अध्यक्षता र नगर उपप्रमुख पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अपाङ्गताको क्षेत्रमा योगदान पु¥याउने अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेती र व्यवसायीद्वय भीकम मित्तल तथा निर्मला रिमाललाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मुख्य नारासहित आयोजित कार्यक्रममा अर्जुनधारा–८की वडा सदस्य सुजता रसाइली, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक तुलसा कुँवर र सञ्चारकर्मी चर्तुभूज काफ्लेले मन्तव्य राखेका थिए ।

कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपाल साझेदार संस्था र अर्जुनधारा नगरपालिका प्रायोजक रहेको सोही कार्यक्रममा अर्जुनधारा–४ निवासी सामाजिक व्यक्तित्व मीना राईले नगद पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् । आयोजक संस्थाका संस्थापक अध्यक्ष खेमप्रसाद रेग्मीले कार्यक्रमको औचित्य माथि प्रकाश र उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार दीपेन्द्र काफेलेले गरेका थिए ।

उद्घाटन कार्यक्रम अघि अपाङ्ग अधिकार ऐन् २०७४ अक्षरस कार्यान्वयन गर, यूएनसीआरपीडी लागु गर, पहुँचयुक्त भौतिक संरचना निर्माण गर, अपाङ्ग एकता जिन्दावादलगायतका नारासहित कार्यक्रमका सहभागीहरुले शनिश्चरे बजार देखि कार्यक्रम स्थलसम्म ¥यालीको आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here