भद्रपुर ।
भद्रपुरमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा भद्रपुरको आयोजना अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सोमबार मनाइएको हो ।
दिवसको अवसरमा युवा व्यवसायी सञ्जीव घोष र पिंकी घोषले सञ्चालनमा ल्याएको दर्शन गार्मेन्ट उद्योग भद्रपुरले केन्द्रमा आश्रित १४ जना अपाङ्गता भएका व्यक्ति र कर्मचारीलाई जाडो लगाउने न्यानो लुगा (ट्याक सुट) वितरण गरेका छन् ।
साथै उनीहरूले दिवा खाजाको समेत व्यवस्था गरिदिएका थिए । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा. शंशाक पोखरेल र ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको सहयोगमा निःशुल्क स्वास्थ्य उपचार शिविर पनि सञ्चालन गरिएको थियो ।
मानसिक रोग विशेषज्ञ डा. पोखरेलले केन्द्रमा आश्रित अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत दिएका थिए । सो शिविरमा केन्द्रमा आश्रितबाहेकका व्यक्तिहरूले पनि स्वास्थ्य परीक्षण गराएको केन्द्रका पूर्व उपसभापति लता कार्कीले जानकारी दिइन् ।
केन्द्रका उपसभापति पवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रमा आबद्ध पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको केन्द्रका कार्यालय सचिव केदार महतले जानकारी दिए ।