विनोद सापकोटा,
झापा ।
अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजको ज्यान मार्ने धम्की आएको छ ।
सामाजिक सञ्जालमा बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की नारायण सिग्देलले दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालको पेजमा लेखेका छन् ’बाल सन्त र नन्दकिशोरलाई बचाउने कोही भए राति नै भगाए हुन्छ। भोलि म शताक्षी धाम आउनेछु। कि मर्छु कि मार्छु ।’
सिग्देलले यो यो धम्की बुधबार दिएका हुन्। बिहीबार धाम परिसरमा पुगेर दुई सन्तलाई मार्ने उनले धम्की दिए । सिग्देलको पहिचान भइसकेको प्रहरी अधिकारीले बताएका छन्। यद्यपि गोप्य राखिएको बताइएको छ ।
सन्तको ज्यान लिने सिग्देल विरुद्ध कानुनी उपचार खोज्ने गोलोक गोवर्धन गौशालाले जनाएको छ। यसै बीच शिवसताक्षी नगरवासीले धार्मिक गुरुहरू विरुद्ध दिएका अभिव्यक्ति तत्काल सच्याउन र सार्वजनिक रूपमा माफी माग्न अपिल गरेका छन्।
शताक्षी धाममा गोलोक गोवर्धन गौशालाले दशौँ वार्षिक उत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेको छ। सोही कार्यक्रम अन्तर्गत सवा करोड रुद्राक्ष जडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा विवाद भएको बताइएको छ ।
शताक्षी धाम मन्दिर तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले सामाजिक सञ्जालमा लोकले मानेका धर्म गुरुको ज्यान लिने अभिव्यक्ति आफूहरूलाई वान्छनीय नभएको बताएका छन्। ‘कुनै पनि विषयको विवाद भए तर्क वितर्क गरेर समस्याको समाधान खोज्न सकिन्छ,’ उपाध्यक्ष राईले भने ’तर सामाजिक सञ्जालमा ज्यानको धम्की दिने सिग्देललाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्दछु ।
नेपालको संविधानमा कहीँ कतै पनि कसैले कसैको ज्यान लिन पाउने अधिकार उल्लेख नभएको राईले बताए । ’त्यसकारण यो कानुनसम्मत नभएकाले सिग्देललाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गरियोस्,’ राईले भने ।
सामाजिक सञ्जालमै अर्का सीताराम तिम्सिनाले पनि धार्मिक गुरुहरूको नाम जोडेर सताक्षी धाममा आयोजना भइरहेको को रक्षा महोत्सव भाड्ने प्रयास गरेका छन्। उनले पनि शिवलिङ्गमा लगाइएको चन्दन को विषयलाई विवाद झिकेर सामाजिक सञ्जालमा विष बमन गरेका छन्।
वैदिक सनातन धर्म संरक्षण समिति झापालाई जोडेर तिम्सिनाले शास्त्रीय ज्ञानको अभावमा शिवलिङ्गको विषयमा अफवाह फैलाएको बालसन्तले बताए । अनन्त श्री विभूषित मोहन चरण देवाचार्यजी महाराजले भने ’रुद्राक्षमा लगाइएको चन्दनका विषयमा शास्त्रार्थ प्रमाण, परम्परा र प्रयोगका विषयमा थोरै भएपनि अध्ययन गरेर मात्र विवाद निकाल्न म सम्बन्धित व्यक्तिलाई अनुरोध गर्छु,’ धार्मिक सम्प्रदायिक युद्ध नचर्काउन बालसन्तले आग्रह गरे ।
सामाजिक सञ्जालमा सीताराम तिम्सिनाले प्राध्यापक डाक्टर दीर्घराज घिमिरे, आचार्य दुर्गाप्रसाद खतिवडा, प्राध्यापक डाक्टर भवानी खतिवडा, प्राध्यापक डाक्टर गुरुप्रसाद सुवेदी, प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, स्वामी रमणानन्द गिरिजी महाराज, प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराई, प्राध्यापक डाक्टर दीपक पराजुली, प्राध्यापक डाक्टर देवमणि भट्टराई, आचार्य छन्दुराम भण्डारी, आत्मानन्द गिरिजी महाराज, ज्ञानानन्द स्वरस्वती महाराज लगायतको नाम समावेश छ। यद्यपि केही गुरुजनले आफ्नो नाम जोडेकोमा आपत्ति जनाए ।
यसै बीच श्री लिङ्ग पुराणका व्यासाचार्य आचार्य श्री लक्ष्मी खतिवडालाई शताक्षी धामको कार्यक्रम छोड्न दबाब दिएका छन्। केही धार्मिक गुरुहरूले फोन गरेर शताक्षी धामको कार्यक्रम छोड्न दबाब दिएको श्री शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशालाका प्रमुख समेत रहेका खतिवडालाई श्री लिङ्ग महापुराणको प्रवचन नछोडे माघ १ गतेदेखि साधुटारमा आयोजना हुने अति रुद्र महायज्ञ हुन नदिने धम्की दिएको खतिवडाले बताए ।