शिव गाउँले,
‘सेल्फ सेन्सरसिप’ को अर्थ स्व–नियन्त्रण हो । पत्रकारितामा ‘सेल्फ सेन्सरसिप’ भनेको एउटा पत्रकारले थाहा पाएको वा थाहा पाउन सम्भव रहेको कुनै बिषय आन्तरिक र वाह्य कारणले प्रकाशमा नल्याउनु वा जुन रुपमा भएको हो सो रुपमा नल्याउने अवस्था हो ।
अथवा पत्रकार र तथ्यका बीचमा अवरोध ल्याउने एउटा पाटो हो सेल्फ सेन्सरसिप । जो विभिन्न कारणले गर्दा पत्रकारले थाहा पाएको वा थाहा पाउन सम्भव बिषयलाई प्रभावित गरिदिन्छ । जसका कारण समाज तथ्य थाहा पाउने अधिकारबाट बञ्चित हुन्छ ।
‘सेन्सरसिप’ भन्दा ‘सेल्फ सेन्सरसिप’ झन् गम्भिर र खतरनाक हुन्छ । ‘सेन्सरसिप’ सामान्यतया घोषित हुन्छ, देखिन्छ, प्रकट हुन्छ । त्यसकारण यसका तथ्यहरु केलाउन सजिलो हुन्छ । त्यस बिरुद्ध लड्न वा प्रतिवाद गर्न सहजहुन्छ ।
तर, ‘सेल्फ सेन्सरसिप’ धेरैहदसम्म अप्रकट हुन्छ, प्रमाण जुटाउन मुस्क्लि पर्छ । परिवेश र परिस्थितिको समिक्षा गरेर निचोड निकाल्नु पर्ने हुँनाले कठिन पनि हुन्छ । समाचार, कार्यक्रम वा विचारमा नआएका तथ्यहरु केलाएर यसको ब्यापकता, असर र प्रभाव मुल्याकंन गर्नुपर्छ । त्यसैले यो तुलनात्मक रुपमा जटिल छ ।
अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने प्रजातान्त्रिक समाजमा ‘सेल्फ सेन्सरसिप’ गमिभर कुराको संकेत हो र यसको सधै विरोध हुनेगर्छ । किनकी यसले तथ्य लुकाउन, बग्याउन वा नरम बनाउन बाध्य पार्छ । त्यस अर्थमा तथ्य थाहा पाउने नागरिक अधिकारकोे विरोधी पाटो पनि हो ‘सेल्फ सेन्सरसिप’ ।
‘सेल्फ सेन्सरसिप’ लाई कतिपयले कतिपय प्रसंगमा सकारात्मक अर्थमा पनि प्रयोग गर्न खोजेका छन् । पत्रकार वा संचार संस्थाले बृहद् सार्वजनिक हितमा कुनै कुरा तौलिएर मात्रै प्रकाशन वा प्रशारण गर्नु, कहिले काहिँ त्यसलाई प्रकाशमा नल्याउनु पनि हो ।
अथवा कतिपय कुरा लुकाउनुलाई पनि ‘सेल्फ सेन्सरसिप’ मानिएको छ र यसो गर्नु ब्यापक सार्वजनिक हितमा उपयुक्त नै हो भन्ने अर्थ गर्न खोजिएको छ । यसका पक्षधरहरु ‘भारतमा इन्दीरा गान्धीको हत्या कुनै जाति बिशेषका सुरक्षा गार्डबाट भएको’ भनेर गरिएको गल्ती प्रेसले लुकाउन सक्थ्यो भनेर तर्क गर्छन ।
तर, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको फराकिलो आलोकमा ‘सेल्फ सेन्सरसिप’ भनेको विचार र अभिव्यक्ति स्वतन्त्रता विरोधी पक्ष नै हो । यसले कुनै न कुनै रुपमा विचारलाई संकुचन गर्छ, तथ्यलाई लुकाउँछ, ढाकछोप गर्छ वा पीडक वा जवाफदेहि बनाउनु पर्ने पक्षको हितमा प्रयोग गर्छ ।
‘काउन्सिल अफ युरोपको ह्युमन राइटस् च्यानल’ मा प्रेस स्वतन्त्रता अनुगमन कर्ता एइडन हवाइट लेख्छन, “जब पत्रकार अथवा सम्पादक आफनो समाचार वा सम्पादकीय अन्र्तवस्तु माथिको छनौट गर्दा राज्य, प्रहरी, सञ्चार संस्थाको मालिक वा विज्ञापनदाताको स्वार्थ बमोजिम परिचालित हुन्छ भने त्यहाँ राम्रो पत्रकारिताको सम्भावना रहन्न ।” यो भनेको सेल्फ सेन्सरसिपको अवस्था आउने परिस्थिति हो ।
पत्रकार, सम्पादक वा सञ्चार संस्थालाई समाजमा यस्ता विभिन्न पक्षहरु हुन्छन् जसले ‘सेल्फ सेन्सरसिप’ लागु गर्न दबाब दिन्छन् । ति मध्ये एउटा हो सम्पादक, पत्रकार वा सञ्चार सस्थाको व्यवस्थापकीय नेतृत्वको आस्थाको मामिला । सामान्यतया आस्था राजनीतिक भन्ने बुझिए पनि त्यो सार्वजनिक सरोकारको मामिलामा नीति निमार्ण देखि कार्यान्वयन तहसम्मलाई प्रभाव पार्ने चिन्तनको फराकिलो दायरा हो आस्था ।
आफु सम्बद्ध दलको, दलका नेताको, त्यसमा पनि आफनो गुट वा समुहको पक्षमा गरिने खातिरदारी यसको एउटा उदाहरण हो । यसले आफनोको सधै सर्मथन र अरुको सधै विरोध गर्न सिकाउँछ । यसले ब्यवाहारमा आफनाको गल्ती नदेख्ने मनोवृति विकास गरिदिन्छ ।
नेपाली समाजमा प्रचलनमा रहेको ‘आफनो आङको भैसी नदेख्ने तर अरुको जिउको जुम्रा देख्ने’ प्रवृति यसैको परिणाम हो । तसर्थ दल, जात, क्षेत्र, समुदाय प्रतिको अति आशक्तीले सेल्प सेन्सरसिपलाई मलजल गर्छ । कतिपय अवस्थामा कुनै व्यक्ति, विचार वा पक्षप्रतिको अतिसर्मथन वा चर्को विरोधले पनि पत्रकारलाई त्यससंग सम्बन्धित मामिलामा ‘सेल्फ सेन्सरसिप’ को अवस्थामा पु¥याउन सक्छ ।
सेल्फ सेन्सरसिप बढाउने अर्को पक्ष धर्म पनि हो । सबै धर्महरुको केन्द्रीय चेतना भनेको मानव सेवा हो भन्ने सिमा भन्दा बाहिर निस्केर आफु र आफुले मानेको धर्म मात्रै ठिक अरु गलत देखाउन गरिने पैरवी जव पत्रकारिता वा सञ्चार संस्थाको सम्पादकीय अन्र्तवस्तु बन्नपुग्छ त्यहाँ एउटा धर्म ठिक अरु गलत भन्नु पर्ने अवधारणाले सम्पादक वा पत्रकारको मनोभावना एकपक्षीय हुन सघाउँछ । यसले पनि ‘सेल्फ सेन्सरसिप’ लाई सघाउँछ ।
समाजमा यस्ता अरु थुप्रै बिषयहरु छन् जहाँ सम्पादक, पत्रकार वा संचार संस्था स्वतन्त्र र तटस्थ भएर बिना दबाब वा प्रभाव बिषय वस्तुलाई हेर्ने, टिप्पणी गर्ने वा पक्ष वा विपक्षमा उभिएर पूर्वाग्रह विना बहस पैरवीगर्ने सम्भावना न्युन पारिदिन्छ । हिंसाको वकालत यसको एउटा उदाहरण हुनसक्छ । नेपालले पनि हिंसा राजनीतिको अगं हो र होइन भन्ने लामो शृँखला पार गरेको छ । बेला बखत हाम्रा सम्पादक, पत्रकार र सञ्चारगृहहरु यसबारेमा अलमलमा परेका उदाहरणहरु पनि छन् ।
कतिपय बेला समाज वा राज्य संयन्त्रको चर्को दबाबका कारण पनि सञ्चार गृहहरु सेल्फ सेन्सरसिप गर्न बाध्य हुन्छन् । नेपालमा दरवार हत्या काण्ड भनेर चिनिने घटनामा मिडियाले गरेको ‘कभरेज’ यसको एउटा उदाहरण हो । राजधानीमा सँ–साझै भएको हत्याको त्यो घटनाको भोलीपल्ट प्रकासित हुने कुनै पनि पत्रपत्रिकाले तथ्यपूर्ण रिर्पोटिङ गर्न सकेका थिएनन् । एक दूई पत्रिकाले दरवारमा गोली चलेको सम्म लेख्न सके । अपराध र सुरक्षा विट हेर्ने केहि पत्रकारले त यसलाई आफनो पत्रकारिता जीवनको सबैभन्दा अध्यारो पाटो समेत भनेका छन् । डर,त्रासका कारण कसरी पत्रकार र सञ्चार सस्था आफुले थाहा पाएको जति समाचार दिन पनि डराउँछन् भन्ने यो एउटा उदाहरण हो ।
लोभ सेल्फ सेन्सरसिपको अर्को हतियार हो । जव पत्रकार, सम्पादक र सञ्चार संस्था कुनै कुराको लोभमा फस्छन् त्यति खेर उनीहरुले त्यहाँ स्वतन्त्रतापूवर्क समाचार, कार्यक्रम र सम्पादकीय टिप्पणी गर्ने हैसियत गुमाउँछन् । लोभ यस्तो हतियार हो जसले सार्वजनिक नभइकन धेरै कुरा सिध्याउन सघाउँछ । यसमा कहि कतै देखिने धम्कि वा डर हुन्न । लाभ पाइन्नकी भन्ने डर मात्रै हुन्छ । जसका कारणले गर्दा आँखै अगाडीका धेरै कुराहरु समाचार, कार्यक्रम वा सम्पादकीय टिप्पणीको बिषय बन्न छाड्छन् ।
सार्वजनिक सुरक्षा र मुलुकको शासन प्रणाली पत्रकार, सम्पादक र सञ्चार संस्थाहरुलाई सेल्फ सेन्सरसिपमा पु¥याउन सक्ने पक्ष हो । यदि देशको सार्वजनिक सुरक्षा पद्धती विश्वसनीय छैन भने पत्रकारले निर्भयता पूवर्क समाचार लेख्न सक्दैन । यो समाचार वा टिप्पणीले मेरो सुरक्षामा प्रश्न उठउला कि ? म असुरक्षित हुँला कि ? अथवा मलाई केहि भइहाल्यो भने ? जस्ता प्रश्न पत्रकारको मनमा उठाइदिन्छ । यसको परिणाम पत्रकारले धेरै समाचार देखेको नदेख्यै गर्न थाल्छन् । देखे पनि समाचारमा जुन ‘धार’ हुनुपथ्र्यो त्यो हुदैन । समाचार आइहाले पनि असाध्यै नरम धारमा आउँनसक्छ ।
यस अर्थमा पत्रकारितामा ‘सेल्फ सेन्सरसिप’ कतिको छ भन्ने प्रश्न त्यो समाजको पत्रकारिता भित्र मात्र सम्बन्धित बिषय होइन । त्यो समाज कति उदार, खुला छ, कति सुरक्षित छ, शासकहरु कति जवाफदेहि छन् अनि पत्रकारिता कति व्यवसायिक छ भन्ने कुरासंग सम्बन्धि हुन्छ । त्यस अर्थमा पत्रकारितामा सेल्फ सेन्सरसिप त्यो देशको राजनीति, समाज, अर्थतन्त्र र सार्वजनिक सुरक्षा प्रणाली र प्रेसको व्यवसायिक स्तर मापन गर्ने एउटा औजार पनि हो ।
खोज पत्रकारितामा बाधा
सेल्फ सेन्सरसिपले पत्रकारितालाई लुलो बनाउँछ । यसले तथ्यहरुलाई जस्ताको तस्तै आउन दिदैन । पत्रकारिता प्रति पाठक, दर्शक र स्रोताको विश्वासलाई कमजोर बनाइ दिन्छ । त्यसमा पनि खोज पत्रकारितालाई यसले नराम्रोगरी प्रभावित बनाइ दिन्छ ।
किनकी खोज पत्रकारितामा गहिरो अनुसन्धान गरेर लुकाएको तथ्य बाहिर ल्याउनु पर्छ । अनुसन्धान र लामो अध्ययन पछि मात्रै कुनै कुरा बाहिर ल्याउने÷नल्याउने निर्णय गर्न सकिने हुन्छ । तर जुन समाजमा सामान्य आलोचना वा टिप्पणी नै नसहने, त्यसलाई अवाञ्छित प्रतिवाद गर्ने वा अस्विकार गर्ने संस्कृति हुन्छ त्यहाँ खोज पत्रकारिताले वाञ्छित परिणाम देखाउन सक्दैन । यस्तो समाजमा हो सेल्फ सेन्सरसिप मौलाउने । किनकी पत्रकारले आफनो समाचारलाई लिएर पाइलापाइलामा डराउनु पर्दछ ।
असहिष्णु समाज र बन्द शासन प्रणाली खोज पत्रकारिताका अवरोध हुन । जहाँ पत्रकारले गहन अनुसन्धान गरेर प्रकाशमा ल्याएको तथ्यलाई राज्य प्रणाली र शासन पद्धतीको सुधारको अगं बनाउने होइन कि त्यसलाई अवमुल्यन गर्ने, मान मर्दन गर्ने र उल्टो गालिगलौचको बिषय बनाउने गरिन्छ । त्यस्तो अवस्थामा एउटा पत्रकार के गर्ने के नगर्ने भन्ने दुविधामा हुन्छ । यो पनि एक प्रकारको ‘सेल्फ सेन्सरसिप’ हो ।
नेपालमा दरवार, सेना र अदालत लामो समयसम्म नेपाली प्रेसका लागि हाउगुजीका बिषय भए । राज दरवारका वारेमा केहि नलेख्ने कतिपय सञ्चार माध्यमहरुको नीति नै हुन्थ्यो । मुलुकमा प्रजातन्त्र आइसकेपछि पनि तत्कालिन दरवारका युवराजधिराजले गराएको सडक दुर्घटनालाई लिएर पनि त्यसबेला खासै आलोचना भएन । अझ कतिपय लिडिङ्ग पत्रपत्रिकाले दुर्घटनाका पाठहरु भन्ने टिप्पणी लेखेर पुरै घटनालाई ओझेलमा पारेका थिए ।
त्यस्तै सेना वा सुरक्षा निकायका वारेमा कुनै टिप्पणी गर्नु अघि पत्रकारले पटक पटक सोच्नु पर्ने अवस्था आयो भने त्यो पनि सेल्फ सेन्सरसिप हो । त्यसैगरी नेपालको न्यायालय पनि लामो समयसम्म प्रेसको टिकाटिप्पणी भन्दा बाहिर रह्यो । प्रेसले पनि त्यहाँका औपचारिक समाचार कभर गर्ने भन्दा बारिह गएर कुनै गहिरो समाचार खोजबिन गरेन । नेपाली समाजमा अरु यस्ता धेरै उदाहरणहरु छन् जसले कुनै बेला ‘सेल्फ सेन्सरसिप’ लाई मलजल गरेको थियो ।
नेपालमा सेल्फ सेन्सरसिपको अवस्थाका सम्बन्धमा केहि संक्षिप्त अध्ययनहरु भएका देखिन्छन् । तिनले नेपाली समाज, यहाँका विभिन्न पक्षहरु र तिनले आमसञ्चार माध्यमहरुलाई सेल्फ सेन्सरसिपमा कसरी पु¥याउँछन् भन्ने खुलासा गरेका छन् । व्यवसायिक पत्रकार, सञ्चारविज्ञ संग देश व्यापी रुपमा छलफल गरेर तयार गरिएका यी प्रतिवेदनहरुले समाजको तत्कालिन अवस्थासंग प्रेसको ‘सेल्फ सेन्सरसिप’ को बिषय अन्तर सम्बन्धित हुने देखाएको छ ।
त्यस मध्येको एउटा हो, दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) को अध्ययन । साफ्मा लागि पत्रकार प्रतिक प्रधान र रघु मैनालीको संयुक्त लेखनमा तयार भएको प्रतिवेदन ‘नेपाली पत्रकारितामा सेल्फ सेन्सरसिप’ अनुसार, ‘सेल्फ सेन्सरसिप नेपाली समाजको अगं बनेको अवस्थामा पत्रकार मात्रले स्वतन्त्रता पूवर्क आफुले उजागर गरेका तथ्यहरु बाहिर ल्याउन सक्दैनन् । पत्रकार आफैले यति धेरै मामिलामा स्व–नियन्त्रण गर्छ कि तथ्यहरु हराएर जाने सम्भावना धेरै रहन्छ ।’
शक्तिसाली व्यक्ति वा समुहका बदमासी, भ्रष्टाचार र संगठिन अपराध जस्ता विषयमा पत्रकारले गहिरो अनुसन्धान नगरीकन सत्य बाहिर आउन मुस्किल पर्छ । तर पत्रकारलाई लोभ, डर र भौतिक तथा व्यवसायिक सुरक्षाको अभावमा उसले धेरै तथ्यहरु लेख्ने÷नलेख्ने भनेर तौलिन थाल्छ । कति लेख्दैन, कतिलाई पीडक वा शक्तिसाली व्यक्तिको पक्षमा लेख्छ, नभए नरम भाषामा लेख्छ । यसको परिणाम समाज सत्य–तथ्य थाहा पाउँनबाट बञ्चित हुन्छ ।
समग्रमा पत्रकारितामा ‘सेल्फ सेन्सरसिप’ पत्रकारको चिन्तन, सोच र परिश्रमबाट प्राप्त तथ्यमाथि उसले मनमनै चलाउने कैँची हो । जसबाट समाजमा लुकेका वा लुकाइएका तथ्यहरु बाहिर आउनबाट रोकिन्छन् ।
(अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । गाउँले यसअघि हिमाल खबरपत्रिका र खोज पत्रकारिता केन्द्रका सम्पादक थिए ।)
‘झापाको पत्रकारिता,आरम्भदेखि ०४० सम्म’ पुस्तकबाट ।