स्वच्छ माटो–स्वस्थ जीवनको आधार

0
15

प्रकृतिको निःशुल्क उपहारमध्ये माटो एउटा मुख्य तत्व हो । यसले नै पृथ्वीका सबै जीवित प्राणीलाई गाँस, बास र कपास दिएको छ । यसअर्थमा सम्पूर्ण रुपमा आफूलाई पृथ्वीबासीको रक्षा गर्ने माटोलाई जननी पनि मान्न सकिन्छ । माटोको अनुपस्थितिमा मानिस मात्र होइन जलचर स्थल चर र नभचर कसैको पनि जीवन सम्भव छैन । त्यसैले माटोलाई सिर्जनाको मूल तत्व भनिएको हो । जसलाई हाम्रा धर्मग्रन्थहरुले पनि महत्वका साथ महिमाको गायन गरेका छन् । माटोको यही विशेषताका कारण विश्वलाई यसको महत्वका बारेमा सचेतना जगाउन र फैलाउन माटो दिवस मनाउन थालिएको छ । प्रत्येक वर्षको डिसेम्वर ५ का दिन माटो दिवस मनाउने गरिन्छ । पृथ्वीमा रहेका मानव लगायत सम्पूर्ण जीव, वनस्पति र माटोका बीचको अनोन्याश्रित सम्बन्धका बारेमा जानकारीसहित संरक्षणमा सहभागी हुन आह्वान गरिन्छ ।

इन्टरनेशनल युनियन अफ सोयल साइन्सेजको आह्वान र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको सिफारिसमा सन् २०१३ मा स्वीकृत भएको माटो दिवस आज विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । सन् १०१४ देखि आधिकारिक रुपमा मनाउन थालिएको यो दिवसले माटोको उचित संरक्षण गर्दै उर्वराशक्ति बढाउन सहयोग गर्दछ । हुन पनि माटोको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन नगर्दासम्म खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि विकास, जलवायु परिवर्तन न्यूनीकरण तथा जैविक विविधताको संरक्षण गर्न सकिँदैन । अहिले विश्वभर नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रिएको छ । जसले गर्दा माटोको उर्वराशक्ति क्रमशः ह्रास भइरहेको छ । यसले विश्वमा खाद्यसंकट उत्पन्न हुने भयले विश्वव्यापी रुपमा चेतना जगाउन डिसेम्वरको ५ तारिखलाई माटो दिवस घोषणा गरिएको हो ।

वैदिक सनातनी धर्म, संस्कृति र शास्त्रहरुमा माटोलाई जन्मदेखि मृत्युपर्यन्तका लागि अनिवार्य वस्तु मानिएको छ । मानव जीवनको अस्तित्वको मूल आधारका रुपमा रहेको माटोको स्वरुप, अवस्था र प्राकृतिक गुण रक्षा गर्न सकिएन भने मानवजीवन नै संकटमा पर्छ । माटोमा रहने पोषकतत्व कम हुँदै जाँदा विश्व नै चिन्तिन भएको बेला उत्पादकत्व वृद्धि होइन रक्षाकै चुनौती थपिएको छ । उत्पादकत्व कम हुँदा उत्पादनमा कमी आउँछ र समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने खतरा छ । त्यसैले पनि सबै सरोकारवालाहरु माटोको उर्वराशक्ति कि बढाउन नसकिए रक्षा गर्न सचेत हुनुपर्छ । विश्वको बढ्दो जनसंख्यालाई खाद्य आवश्यकता पूरा गर्न रासायनिक मल, खाद्य उत्पादनको रक्षा गर्न विषादीको प्रयोग गरिँदैछ, सघन खेती, भू–क्षय, औद्योगिक प्रदूषण, प्राङ्गारिक मलको अभाव जस्ता कारणले पनि माटोको स्वास्थ्य कमजोर भएको छ ।

माटो व्यवस्थापनका चुनौतीहरुको सम्बोधन गर्दै उत्पादन बढाउन र माटोको महत्वका बारेमा चेतना जगाउन माटो दिवसले सबैलाई खबरदारी गरेको छ । यसका लागि सबै वर्ग, सम्पूर्ण समाज, कृषकहरुलाई समेत जागरुक, उत्साहित र प्रोत्साहित गर्नुपर्छ । त्यहीकारण यस वर्षको माटो दिवसको नारा माटोको सुधार, परीक्षण, रेखदेख र उपचार निर्धारण गरिएको छ । हाम्रो माटोमा अम्लियको मात्रा छयसठ्ठी प्रतिशत रहेको विज्ञहरुले बताइरहेका बेला प्राङ्गारिकता बढाउन, प्राङ्गारिक उत्पादन गर्न र स्वस्थ माटो बनाउन राज्य, कृषक र सरोकारवाला सबैको अग्रसरता आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here