अर्जुनधारा।
अर्जुनधारा जेसीज शनिश्चरेको आयोजनामा गत मंसीर ४ गते उद्घाटन भएको “जेसीज सप्ताह कार्यक्रम”–२०२४ सम्पन्न भएको छ ।
अर्जुनधारा–४ दहीझोडास्थित लक्ष्मी आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई जुत्ता वितरण गर्दै शुरु भएको उक्त कार्यक्रम शुक्रबार अर्जुनधारा–२ नं. वडा कार्यालयमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै सम्पन्न भएको हो ।
वडा कार्यालयको आर्थिक सहयोग रहेको शिविरमा अर्जुनधारा–६स्थित मेडिका हस्पिटल प्रा.लि., अर्जुनधारा–८स्थित आरोग्य डेन्टल क्लिनिक र बिर्तामोड–५ स्थित आरोग्य मल्टी स्पेशलिष्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको जेसीजका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।
जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षता र उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सागर घिमिरेको संयोजकत्वमा आयोजित उक्त शिविरको प्रमुख अतिथि वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
हस्पिटलका फिजिसियन डा.उमाशंकर सिंह, आरोग्य डेन्टलका डा.रीतेश शिवाकोटी, आरोग्य मल्टि स्पेशलिष्टका डा.स्नेहा खड्कालगायतले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा ८७ जनाले सेवा लिएको बताइएको छ ।
कार्यक्रममा अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर र नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारीले मन्तव्य राखेका थिए । जेसीजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक घिमिरेले स्वागत तथा कोषाध्यक्ष बिमला भट्टराईले जेसीज आस्था वाचन प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।
जेसीजले सप्ताह कार्यक्रम अन्र्तगत अर्जुनधारा–४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा वडाका विभिन्न क्लबलाई खेलकुद सामग्री वितरण, युवाहरुका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन र अर्जुनधारा–४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर कार्यक्रम, अर्जुनधारा–७मा जेसीज मार्गको नामकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समुदायमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जेसीजले यस वर्ष विभिन्न विद्यालयमा शैक्षिक सामग्री एवम् ब्याग वितरण, खाद्य सामग्री वितरण, दृष्टीविहीनहरुलाई सेतो छडी वितरण, श्रमिकहरुका लागि सुरक्षा सामग्री गमबुट वितरण, खोलामा काम गर्ने श्रमिकहरुका लागि बेल्चा वितरण, कम्प्यूटर तालिम र अङग्रेजी भाषा तालिमलगायतका कार्यहरु गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।